धर्तीका पाहुना हौंः झरेर जाने जिन्दगी समाजका लागि
आठ वर्षअघि विद्या भण्डारीलाई ब्लड क्यान्सर भएको खबर मिडियामा आउदा उहाँका धेरै शुभचिन्तक र आफन्तहरु रोए । कतिपयले उहाँको सुस्वास्थ्यको कामना गर्दै लाखबत्ति समेत बालेका समाचार आए । उहाँ आफैं पनि सम्हालिन निकै गाह्रो भयो । शक्तिका पूजारीहरु अब विद्या भण्डारीलाई क्यान्सर भयो भन्दै अर्को शक्तिकेन्द्र खोज्न थाले । तर आठ वर्षमा विद्या भण्डारीको शरीरका धमनीहरुमा धेरै रगत सन्चार भइसक्यो । मृत्यु जित्ने व्यक्तिका रुपमा उहाँ आज सबैको लागि प्रेरणाको स्रोत पनि बन्नुभएको छ ।
नेकपा एमालेको दोस्रो पटक उपाध्यक्षमा निर्वाचित हुनुभएकी भण्डारी समकालिन नेपाली राजनीतिमा सबैभन्दा प्रभावशाली र शीर्षस्थ महिला नेतृ हुनुहुन्छ । नेकपा एमालेको भावी अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा समेत राजनीतिक वृत्तमा चर्चामा आउने विद्या भण्डारीलाई एक टुक्रा जीवन स्तम्भका लागि हामीले सोध्यौं, जीवन के रहेछ ?
मृत्यु जितेर आज नयाँ पुस्तालाई संविधान दिनका लागि संविधानसभा सदस्यका रुपमा समेत क्रियाशिल भण्डारी भन्नुहुन्छ “मानव जीवन प्रकृतिको अमूल्य रचना हो । यो एकपटक फूल्छ पछि झरेर जान्छ । प्रकृतिले निर्माण गरेका कारण हामी यो धर्तिमा जन्म लियौं र बिस्तारै यसलाई छोडेर जान्छौं । यो सत्य हो ।”
नेकपा एमालेको उपाध्यक्ष तथा अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनुभएकी भण्डारीले रक्षा र वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । वातवरण मन्त्री बन्दा उहाँलाई कुनै रोग थिएन तर रक्षामन्त्री बन्दा उहाँ ब्लड क्यान्सरको विरामी हुनुहुन्थ्यो । उहाँ विगत ८ वर्षदेखि ल्युकेमिया ब्लड क्यान्सरबाट पीडित हुनुहुन्छ । उपचार गरेर यसलाई नियन्त्रणमा राख्न सफल भएपनि कडा शारीरिक परीश्रम गर्न सक्नुहुन्न भण्डारी । ब्लड क्यान्सरका कारण उहाँको दुवै हिप ड्यामेज भएपछि अहिले कृत्रिम हिप राखिएको छ । यसकार उहाँ पँलेटी मारेर बस्न सक्नुहुन्न ।
बि.सं. २०१८ सालमा भोजपुरको गँुरासेस्थित आपबोटेमा जन्मनुभएकी भण्डारीको विहे जननेता मदनकुमार भण्डारीसँग भएको थियो । बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको परिवारमा पाँच जना दाजुभाइ र पाँचजना दिदी बहिनीमध्येकी एक भण्डारी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँका उषाकिरण र निशाकुसुम दुई छोरी छन् । उषा राजनीतिमा संलग्न हुदैछिन् भने निशा चिकित्सा शास्त्र अध्ययन गर्दैछिन् ।
खानपान र जीवनशैली
मलाई ल्युकेमिया ब्लड क्यान्सर भएको हो । यसले श्वेत रक्तकोषलाई बढ्न नदिनेकारण रगत पातलो हुने, रगत नजम्ने र नरोकिने जस्ता समस्या हुन्छ ।
मलाई प्राणघातक संक्रमण भए पनि जीवनशैलीमा बिगत र आगतमा खासै परिवर्तन भए जस्तो लाग्दैन । बेलुका अबेरसम्म पार्टीको काममा व्यस्त हुनुपर्ने भएकाले विहान अलि ढिला उठ्छु । स्वस्थ् शरीरका लागि व्यायाम आवश्यक भएपनि अहिलेसम्म त्यो बानी चैन । सामान्य मानिसको जस्तै सादा र सन्तुलित खाना खान्छु । शरीरमा प्रोटिन र क्याल्सियमको कमी हुन नदिन सचेत छु । धेरै चिल्लो, पिरो, तारेको भुटेको खाना खान्न । दूध फलफूलमा जोड दिने गरेको छु । यसले मलाई स्वस्थ राख्न सघाउछ ।
रोग पहिचान
२०६३ फागुनको अन्तिमतिर ल्युकेमिया ब्लड क्यान्सर भएको थाहा पाएँ । शरीर कमजोर र उडेको जस्तो हुने, हिँड्दा पिँडूला फतक्क गल्ने, शारीरिक अभ्यास गर्दा चाँडै थाक्ने, बिहान उठ्न मन नलाग्ने, थकाइ लाग्नेबित्तिकै सुत्न मन लाग्ने जस्ता समस्याहरु देखिएपनि शुरुमा खासै वास्ता गरिनँ । जिल्ला जिल्लामा भएका सभा सम्मेलनलगायतको राजनीतिक दौडधूपले यस किसिमको समस्या भएको हो कि भन्ठानेँ । पछि मेरो ओठ पहेँलो, सेतो (ओठमा रगत नभएको जस्तो) देखिन थाल्यो । रगतमा हेमोग्लोबिनको कमी भएको हो कि जस्तो लाग्यो ।
सामान्य दिनचर्यामा केही परिवर्तन आउन थालेपछि त्रिवि शिक्षण अस्पतालमा शारीरिक परीक्षण गराउँदा समस्या पहिचान भयो । पछि दिल्लीको एपोलो हस्पिटलमा परीक्षण गराउँदा त्रि.बि. शिक्षण अस्पतालको रिपोर्ट सही भएको चिकित्सकहरुले जानकारी गराए ।
पारिवारिक इतिहास
ब्लड क्यान्सरको पारिवारिक इतिहास भएको थाहा भएन । बुबा कलिलो उमेरमै लिभरको समस्याका कारणले बित्नुभएको थियो । अरु सदस्यहरुको क्यान्सरबाट मृत्यु भएको थाहा छैन ।
रोग पहिचान हुँदाको क्षण
रोग लागेको थाहा भएपछि एक क्षण त स्तव्ध भएँ । तरपनि मलाई केही हुँदैन जस्तो लाग्थ्यो । संसारमा यति धेरै विकास भएका मेडिकलसम्बन्धि अत्याधुनिक प्रविधिहरुले बचाउँछ भन्ठानेँ । जसरी पनि रोगलाई पचाउने अठोट गरेकी थिएँ । शुरुको चरणमै रोग पहिचान भएर समयमा उपचार पाएकाले अहिलेसम्म बाँचिरहेकी छु ।
यो धर्तीका पाहुना
जन्म हुने ठेगान हुन्छ तर मृत्यू कहिले हुन्छ थाहा छैन । ५३ वर्ष अघि म यो धर्तिमा आएकी थिइन । आमाको कोखबाट जन्मेँ हुर्केँ । यहाँ म सँधै रहन्न । एकदिन छोडेर जान्छु । यो धर्तिमा सँधैभरी हुने समाज नै हो । त्यसैले मेरो ध्यान समाज राम्रो बनिरहोस् भन्ने हो । मानिस त धर्तीका पाहुन मात्र हुन् । उनीहरु बिभिन्न इच्छा आकांक्षा बोकेर आउँछन् र केही समय बस्छन् र अन्तिममा छोडेर जान्छन् । त्यसैले मृत्यूलाई बदल्न सकिदैन । यो सत्य हो । तर हामी समाजलाई अवश्य बदल्न सक्छौँ ।
पलेटी मारेर बस्न सक्दिन
उपचारको क्रममा किमोथेरापी प्रयोग भएको थियो । यसैलै होला मेरा दुवै हिप ज्वाइन्ट ड्यामेज भएका थिए । यसले लामो समयसम्म दुखाईको सामना गरिरहनुप¥यो । शुरुमा गरिएको उपचार सफल हुन सकेन । पछि दुवै हिप ज्वाइन्ट रिप्लेसमेन्ट गरेपछि दुःखाईबाट केही हदसम्म छुटकारा पाउन सफल भएकी छु । त्यसैले पलेँटी मारेर र होचो ठाउँमा बस्न सक्दिन ।
के सोचेँ मैले
बिरामी नभएको भए अझ धेरै काम गर्थेँ कि भन्ने सोच आउँछ । यसले गर्दा कहिलेकाँही पश्चाताप लाग्छ । तर सामान्य काम गर्दा बिरामीको महसुस हुँदैन । म पार्टीको काममा पहिले जत्तिकै खटिरहेकी छु । तर पनि जे सोचियो त्यो अनुसार गर्न नसक्दा पिडा हुन्छ ।
देखेका सपना पूरा हुन्नन्
गाउँमा जन्मिएको मान्छे भएकाले त्यही नै स्वर्ग जस्तो लाग्थ्यो । पछि बुझ्दै जाँदा त्यहाँको बेरोजगार, भोकमरी, अनिकाल, स्वास्थ्य सेवाको अभाव, अशिक्षा जस्ता समस्याले यसको समाधान के हुनसक्छ ? भन्ने लागिरहन्थ्यो ।बाल्यावस्थामा बुबाको निधनले अलि बिचलित तुल्यायो । बुबा भोजपुरको कुलुङस्थित माध्यमिक बिद्यालयमा अध्यापन गराउनुहुन्थ्यो । राम्रो उपचार पाउन नसकेर बुबाको निधन भयो । त्यहिबेलादेखि स्वास्थ्य र शिक्षामा केही गर्ने सपना थियो । यस किसिमको समाधान कम्युनिष्ट पार्टीले मात्र गर्छ भन्ने सुन्निन्थ्यो र कम्युनिष्टतिर झुकाब बढ्दै गयो । मुलुकको परिवर्तन र देशका जनताको सेवा सुविधाबाहेक मेरो केही सपना थिएन । राजनीतिमा लागेर जनताले चुनाव जिताए, तीन पटक सांसद भएँ, पछि म मन्त्री सम्म हुने मौका पाएँ ।
अपूरो सपना
आफूले देखेका सपना केही हदसम्म त पुरा भएका छन् । तर देशमा राजनीतिक किचलोका कारण धेरै दुःखदायी घटना भएका छन् । २०४६ सालको जनआन्दोलनपछि मदन भण्डारीको हत्या भयो । माओवादी सशस्त्र विद्रोहबाट १७ हजार नेपालीले ज्यान गुमाउनुप¥यो । जातीय साम्प्रदायिक दंगा पनि भड्कियो । तराइका जिल्लाबाट पहाडे मुलका नागरिक बिस्थापित गर्ने खालका काम भए । यसले मुलुकले सही गति लिन सकेन । यदि मुलुकको राजनीतिले गति लिन सकेको भए, मदन भण्डारीको हत्या नभएको भए, १० वर्षसम्म आतंकमा मुलुक नपरेको भए, पहाडे र मधेशीको तनाव नभएको भए मेरो सपना अझ धेरै पुरा हुन्थे होलान् ।
मन्त्री हुँदाको क्षण
छोटो छोटो समयमा दुईपटक मन्त्री भएको थिएँ । एकपटक सात महिना र अर्कोपटक करिब २२ महिना । त्यो बेला भावना व्यक्त गर्नेबाहेक मेरो हातमा केही थिएन । शुरुमा जनसंख्या तथा वातावरण मन्त्री भएको बेला वातावरण संरक्षण सम्बन्धि नियमावली बनाएँ । लालिगुँरास संरक्षण क्षेत्र घोषणा गर्नसम्म भ्याइयो । रक्षा मन्त्री हुँदा देश अन्योल अस्थिरता, अराकता, विखण्डनकारी दिशातर्फ गएको थियो । पहिलो कार्यकालमा मन्त्री हुँदा काम गर्ने वातावरण थिएन । दोस्रो पटक रक्षा मन्त्री बन्दा आफ्नो भिजन अनुसार काम गर्ने कोशिस गरेको भएपनि हाम्रो पार्टीभित्र एकमना एक्ता नभएका कारण अवरोध भयो । त्यसैले नेपाली सेनालाई आधुनिकिकरण र सृदृढिकरण गर्ने सोच पूरा हुन सकेन । त्यो बेला सैनिक अस्पतालमा शैक्षिक कार्यक्रम अन्तर्गत मेडिकल कलेज स्थापनामा महत्वपूर्ण भूमिका रह्यो ।
आफूभन्दा सन्तान प्यारो
छोरीहरुको जिम्मेवारीप्रति कहिलेकाँही मनमा धेरै कुरा खेल्ने गर्छ । तर छोरीहरुले मेरो रोगबारे त्यति कुरा गर्दैनन् । उनीहरुलाई मेरो चिन्ता भए पनि व्यक्त गर्दैनन् । त्यसैले मलाई रोगप्रति डर लाग्दैन । जेठी छोरी उषाकिरणको विवाह भइसकेको छ । कान्छी छोरी निशाकुसुम चिकित्सा विज्ञानमा एमबीबीएस पूरा गरी एमडी गर्ने तयारीमा छिन् । दुवै छोरीहरु आफ्नो खुट्टामा उभिन सक्ने भएकाले त्यति धेरै चिन्ता लाग्दैन । तर समाज राम्रो भएमा सबैको समस्या समाधान हुन्थ्यो जस्तो लाग्छ । मेरो बुबा नभएपनि हुर्किएर यो अवस्थासम्म आइपुग्न सफल भएँ । मैले कति संघर्ष गरेँ होला त्यसको कुनै लेखाजोखा छैन । सबैका बाबुआमा हुन्छन् भन्ने पनि हुँदैन । त्यसैले जे हुन्छ सबैले त्यो भोग्न तयार हुनैपर्दछ । एउटा कुरा के हो भने मान्छे आफू रोगले कमजोर भए पनि सबैभन्दा प्यारो चाहिँ आफूभन्दा पनि सन्ताननै ठान्छ ।
रोग नियन्त्रणका लागि चालिएका कदम
अहिले मलाई औषधि खानु पर्दैन । खानपानमा विशेष ध्यान दिने गरेकी छु । शरीरमा क्याल्यिम, भिटामिन र प्रोटिनको कमीलाई मेन्टेन गर्नुपर्छ । अहिले रक्तचाप बढेकाले रक्तचाप नियन्त्रणको औषधि सेवन गरिरहेकी छु । ल्युकेमिया ब्लड क्यान्सर ६ महिनाको उपचार गरेपछि सकियो ।
सुझाव
उपचार त्यति खर्चिलो होइन । तर सरकारले यस्तो उपचार स्वदेशका सर्वसाधारण जनतालाई उपलब्ध गराउनुपर्छ । यो उपचार नेपालमा पनि सजिलैसँग सम्भव छ । यसका लागि सुविधासम्पन्न अस्पताल र विशेषज्ञ चिकित्सकको महत्वपूर्ण भूमिका रहन्छ । हरेक व्यक्तिको समयमा डायग्नोसिस हुन जरुरी छ । ६—६ महिनामा आफ्नो स्वास्थ्य परीक्षण गराइरहनुपर्छ । यस्ता असाध्य रोगमा सरकारले सब्सिडिटी दिनुपर्छ । यसका लागि सरकारको स्वास्थ्य सेवा बलियो हुनुपर्छ । सरकारले आफ्ना जनताको स्वास्थ्य सुविधाका लागि खर्च गर्न कञ्जुस्याई गर्न हुँदैन । सरकारी अस्पताल र त्यहाँ भएका उपकरण ठीक ढंगले प्रयोग नभएको भन्ने जनगुनासो छ । एकपटक मेसिन बिग्रिएपछि नबनाउने र बिरामीहरु निजी क्लिनिकहरुमा पठाउने परिपाटी हावी छ । त्यसैले सर्वसाधारण विपन्न नागरिकको स्वास्थ्यका बारे सरकारले सोच्नैपर्छ । पंक्तिबद्ध भएर लाइनमा बसेर उपचार गर्ने अधिकारबाट जनतालाई बञ्चित गराउन हुँदैन । सरकारले आम सञ्चार माध्यमबाट स्वास्थ्यसम्बन्धि जनचेतना प्रकाशन र प्रशारण गर्न जरुरी छ । स्वास्थ्यलाई प्रतिकूल पार्ने जीवनशैली र रहनसहन भएकाले खानपिनमा मिसावट, पानी, वायुमण्डलको प्रदूषण नियन्त्रण सरकारले गर्नुपर्छ । सरकारले खाद्यान्नमा विशेष मापदण्ड तोक्नुपर्छ । मापदण्डबिपरित काम गर्नेहरुलाई बिना मोलाहिजा दण्ड सजाय दिनैपर्छ । जनस्वास्थ्यको पहिलो कदमनै यहि हो जस्तो लाग्छ ।