Logo
|
Friday 26th April 2024
Logo

epaper

जाजरकोटमा रुघाखोकी र स्वाइनफ्लु:  १७ को मृत्यु 



जाजरकोट, वैशाख ३ – दुई सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुको संक्रमणले मृत्यु भएकाको संख्या १७Swain flue
पुगेको छ । प्रभावित क्षेत्रहरूमा अझै पनि पर्याप्त संख्यामा स्वास्थ्यकर्मी पुग्न सकेका छ्रैनन् ।

पैंक, टालेगाउँ, अर्छानी, सक्ला, नायकबाडा, रोकाय गाउँ, लहँ, मजकोट, कोर्ताङलगायत गाविसमा दुई हजारभन्दा बढी बिरामी छन् । टालेगाउँको स्वास्थ्य चौकीमा बुधबार मात्रै एक सयभन्दा बढी बिरामी आएको स्थानीय शिक्षक जनकबहादुर सिंहले बताए । पैंकमा पनि उपचारका लागि आउनेको संख्या बढेको स्थानीय जितबहादुर रोकायले बताए । अरू गाउँको पनि हालत उस्तै छ ।

पैंकका बिरामीले बुधबार दिनभर उपचार नपाएको गुनासो गरेका छन् । स्वास्थ्य चौकीका अहेब रामकृष्ण गिरी आफैं बिरामी परेर सदरमुकाम गएपछि उपचार प्रभावित भएको हो । उपचारमा खटिएका डा. दीपक पुनको टोली पनि फर्किसकेको छ ।

‘स्वास्थ्यकर्मीसमेत बिरामी परेर सदरमुकाम लगिएको छ । अरू बिरामीको झन् बेहाल छ,’ रोकायले भने । अहेब गिरीलाई थप उपचारका लागि घोडा चढाएर जिल्ला अस्पताल ल्याइएको छ । पैंकतर्फ बुधबार डा. विभान्त साहको टोली खटाइएको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. राजेन्द्र पन्तले बताए ।

त्यस्तै पैंक-५ की ५० वर्षीया सुशीला रोकायलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । पैंक स्वास्थ्य चौकीमा तीन दिनसम्मको उपचारले सञ्चो नभएपछि जिल्ला अस्पताल ल्याइएको उनका ज्वाइँ प्रसिद्धजंग शाहले बताए । स्वाइन फ्लुको संक्रमण फैलिएको प्रमाणित भएपछि जिल्लामा त्रास फैलिएको छ । स्थानीयले बुधबारदेखि मास्क लगाएर मात्र घरबाहिर हिँडडुल गर्न थालेका छन् । मौसमी रुघाखोकीका बिरामी यत्रतत्र भए पनि जिल्लाका विभिन्न नाकामा आवतजावत गर्नेलाई जाँचको व्यवस्था मिल्ााइएको छैन । सर्वसाधारण खुला रूपमा आउने-जाने गरिरहेका छन् । अर्छानी गाविसमा गत चैत १८ मा देखा परेको उक्त रोग स्वास्थ्य निकायको लापरबाहीले जिल्लाभर फैलिएको स्थानीयको आरोप छ । त्यहाँ रोगका कारण एक किशोरीको मृत्यु भएको थियो भने झन्डै ५० जना बिरामी परेका थिए । रोजगारीका लागि भारत गएका स्थानीय फर्केपछि गाउँमा रोगको संक्रमण देखिएको शिक्षक सिंहले बताए ।

प्रतिकूल मौसमका कारण रोगको प्रकोप झन् बढेको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. पन्तले बताए । उमालेको पानी खाने, आराम गर्ने, चिसोबाट बच्ने, आवतजावतमा बन्द गर्ने, हात नमिलाउन, मास्क लगाउने, जथाभावी नथुक्ने, रोगको लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि आउनेलगायत सावधानी अपनाउन क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आहवान गरेको छ । जोखिममा रहेका बिरामीलाई ‘ट्यामी फ्लु’ औषधिको व्यवस्था गरिएको उनले बताए ।

जिल्लामा स्वाइन फ्लुको प्रकोप फैलिएर स्वास्थ्यकर्मीको अभाव छ । तर यहाँस्थित जिल्ला अस्पतालका चिकित्सक बोम बीसी भने मुगु जिल्लामा काजमा गएका छन् । उनी विगत एक महिनादेखि ‘भ्यासेक्टोमी क्याम्प’ सञ्चालन गर्न त्यहाँ पुगेका हुन् ।

व्यक्तिगत सुविधाका लागि मुगु रहेका डा. बीसीलाई फर्काउन पहल पनि भएको छैन । त्यस्तै, अर्का चिकित्सक पवन शाक्य पनि बिदामा छन् ।

अहिले जिल्लाका चार चिकित्सकमध्ये डा. साह र पुन मात्र कार्यरत छन् । महामारी प्रभावित क्षेत्रमा भने जिल्ला बाहिरबाट चिकित्सक ल्याएर उपचार गर्नुपरेको छ ।

टालेगाउँमा बिरामीको संख्या बढेपछि नेपाली सेनाका डा. प्रनय कार्कीलाई खटाइएको छ । सक्ला गाविसमा विश्व स्वास्थ्य संगठनका डा. गुणनिधि शर्मा उपचारमा संलग्न छन् । जिल्ल्ाा अस्पतालका डा. साह पैंक र पजारुमा पाटन अस्पतालका डा. प्रनिल प्रधान उपचारमा खटिएको अस्पतालले जनाएको छ ।

जिल्लाका चिकित्सक अपुग भएपछि रोग प्रभावित क्षेत्रमा थप चिकित्सहरूको व्यवस्था गरिएको क्षेत्रीय निर्देशक पन्तले बताए । चौरजहारी अस्पतालका डा. सुमन राईको नेतृत्वको टोली पनि टालेगाउँ गएको छ । वीर अस्पताल र नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको उनले जनाए । यता जिल्ला अस्पताल भने अहेबको भरमा सञ्चालन हुन थालेको छ । दुई डाक्टर काज तथा बिदामा रहेको र दुई जना प्रकोप प्रभावित क्षेत्रमा खटिएपछि अहेबको भरमा रहेको हो ।

दुई साताका लागि विद्यालय बन्द

स्वाइन फ्लुको माहामारी फैलिएपछि जाजरकोटका सबै विद्यालय दुई साताका लागि बन्द गरिएका छन् । जिल्ला विपत व्यवस्थापन समितिको बुधबारको बसेको बैठकले स्वाइन फ्लुको प्रकोप बढ्न नदिन जिल्लाभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बालबालिका तथा अन्य व्यक्तिको आवतजावत र सम्पर्कका कारण संक्रमण फैलन सक्ने भएकाले स्कुल बन्द गरिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले बताए । दुई साताका लागि भनिए पनि रोग नियन्त्रणमा नआएसम्मै पठनपाठन बन्द हुने उनले जनाए । समितिले दल्ली, लिम्सा, छेडा, थलह र सानाखोलामा रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीको हेल्प डेस्क सञ्चालन गर्ने र बिदा तथा काजमा बसेका स्वास्थ्यकर्मीलाई तत्काल कार्यरत संस्थामा फिर्ता बोलाउने निर्णय भएको बस्नेतले बताए ।

सीमामा उच्च सतर्कता

बाँके- भारतबाट घर फर्किएकाबाट नै जाजरकोटमा स्वाइन फ्लु फैलिएको आशंकामा नेपालगन्ज सीमामा कडा सतर्कता अपनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले सीमामा हेल्थ डेस्क राखी भारतबाट र्फकने नेपालीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको जनाएको छ ।

‘भारतबाट घर फर्किएका बिरामीबाट नै स्वाइन फ्लुको महामारी फैलिएको शंका गरिएको छ, त्यसैले भारतबाट र्फकने नेपालीहरूको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएका छौं,’ जिल्ला जनस्वास्थ्यका महामारी तथा प्रकोप व्यवस्थापन फोकलपर्सन रामबहादुर चन्दले भने, ‘जाजरकोटमा महामारी देखिएपछि बाह्यसँगसँगै आन्तरिक जोखिम पनि बढेको छ । त्यसैले सतर्कता अपनाउन जरुरी छ ।’

भारतमा काम गरी र्फकनेमध्ये ९० प्रतिशत मध्यपश्चिमका पहाडी जिल्लाका छन् । स्वाइन फ्लुको महामारी देखिएको भारतीय सहरबाट पनि नेपाली घर फर्किरहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले बताए । बुधबारसम्म भारतबाट फर्किएका २० हजार नेपालीको सीमास्थित हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएको छ । फागुन ८ गते सीमामा हेल्थ डेस्क राखेको हो । सीमामा स्वास्थ्य जाँचका लागि जनशक्ति र प्रविधि अभाव छ । घर फर्किने नेपालीसँग स्वास्थ्यकर्मीले उच्च ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुखेको लक्षणबारे सोधपुछ गर्न थालेका छन् । तर, ती लक्षण देखिने बिरामी हालसम्म फेला नपरेका जिल्ला जनस्वास्थ्यले जनाएको छ । स्वास्थ्यकर्मीले त्यस्तो लक्षण देखिने रोग नलुकाउन अनुरोध गर्दै आएका छन् ।

‘भारतबाट फर्किने नेपालीसँग रोग नलुकाउन अनुरोध गरिरहेका छौं । त्यस्तो समस्या देखिए तत्काल स्वास्थ्यकर्मी कहाँ जाने सुझाव पनि दिइरहेका छौं,’ फोकल पर्सन चन्दले भने, ‘उहाँहरूको ज्वरो जाँच गरेर घर पठाइरहेका छौं ।’

सीमासँगै जोडिएकाले बाँके स्वाइन फ्लुको अति उच्च जोखिममा रहेको भन्दै जिल्ला जनस्वास्थ्यले जनचेतना कार्यक्रम सुरु गरेको छ । कार्यालयले उक्त रोगबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे प्रचारप्रसारलाई तीव्रता दिएको छ भने जिल्लाभरिका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन थालेको छ । गाउँका महिला स्वयंसेविकाहरूलाई पनि प्रचारात्मक अभियानमा सहभागी गराउने जिल्ला जनस्वास्थ्यले जनाएको छ ।

नेपाली सीमावर्ती गाउँका सर्वसाधारण भारतका विभिन्न गाउँ र सहरमा आवतजावत गर्ने गरेका छन् । खुला सीमाका कारण उनीहरूको स्वास्थ्य जाँच सम्भव नभएकाले उक्त रोगको महामारीको जोखिम बढेको हो ।

खोक्दा, हाच्छिउँ गर्दा, नाक र मुख सफा रुमालले छोप्ने, साबुन पानीले हात धुने, जथाभावी सार्वजनिक स्थानमा थुक्न, सिंगान नफाल्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । त्यस्तै, शंकास्पद बिरामीबाट एक मिटरभन्दा दूरीमा बस्न र हात मिलाउन नहुने उनीहरूले बताए ।

दैलेखमा पनि

जाजरकोटमा फैलिएको महामारी स्वाइन फ्लु भएको पुष्टि भएपछि छिमेकी जिल्ला दैलेखमा पनि सतर्कता अपनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको संयोजनमा बुधबार बसेको सरोकारवालाको बैठकले जाजरकोटसँग सिमाना जोडिएका गाउँहरूमा विशेष सतर्कता अपनाउने निर्णय गरेको हो ।

जिल्लाभरका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सतर्क राखिने प्रजिअ घिमिरेले बताए । उनका अनुसार सीमाका गाविसहरूमा जनचेतनामूलक क्रियाकलाप सञ्चालन गर्न लागिएको छ । ‘कुनै समस्या देखिए तत्काल जाँच गराउन सर्वसाधारणलाई अपिल गरेका छौं,’ उनले भने, ‘सचेतनाका लागि प्रहरी, विद्यार्थी, गैरसरकारी संघसंस्था र राजनीतिक दलका नेता/कार्यकर्तामार्फत सम्बन्धित गाविसमा पुग्ने तयारीमा छौं ।’

जिल्लाको पूर्वी भेगका लालीकाँडा, कट्टी, जगनाथ, रुम, मेहेल्तोली, नौमूले, सल्लेरी, कालिकालगायत गाविसको सीमा जाजरकोटसँग जोडिएको छ । ५ वर्षअघि जाजरकोटमा झाडापखालाले महामारीको रूप लिँदा दैलेखको पूर्वी भेग हुँदै पश्चिमसम्मका गाविस प्रभावित भएका थिए । त्यस क्रममा ४८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्