Logo
|
Wednesday 24th April 2024
Logo

epaper

वरिष्ठ मिर्गौला विशेषज्ञ डा. काफ्लेको प्रश्नः के तपाईंको मिर्गौलाले ठीकसँग काम गरेको छ ? मिर्गौला स्वस्थ राख्ने मुल मन्त्रः शिघ्र पहिचान र निदान



जनस्वास्थ्य सरोकार काठमाडौं । ‘के तपाईंको मिर्गौलाले ठीकसँग काम गरेको छ ?’ विश्व मिर्गौला दिवसको अवसरमाNational kidney center राष्ट्रिय मिर्गौला उपचार केन्द्रले फागुन २५ गते केन्द्र परिसरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषीकुमार काफ्ले हरेक नागरिकलाई प्रश्न गर्दै थिए ।
मिर्गौला फेल हुने बिरामीको चाप अत्यधिक बढ्दै गएको र मुलुकमा उपलब्ध डायलाईसिस सेवाले धान्नै नसकेको तितो यथार्थ चित्रण गर्दै डा. काफ्लेले भने—‘डायलाईसिस सेवा लिन आएका बिरामीको भिड र भविष्यमा थपिदै जाने बिरामीको अनुमान गर्दा अत्यास र गहाली लाग्छ ।’
राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा सन् २०५४ सालतिर मिर्गौला फेल भएका ७२४ जनाले डायलाईसिस सेवा लिएकोमा अहिले यो संख्या बढेर २०७२ सालसम्म आइपुग्दा ४७ हजार ४ सय १९ पुगेको छ ।
‘मिर्गौला रोग र बालबालिका, यसको सिघ्र रोकथाम प्रभावकारी’ अर्थात ‘किड्नी डिजिज एण्ड चिल्ड्रेन, एक्ट अर्ली टु प्रिभेन्ट इट’ भन्ने नाराका साथ आगामी मार्च ८ तारेखमा विभिन्न कार्यक्रमको आयोजना गरी नेपालमा पनि विश्व मिर्गौला दिवस २०१६ मनाइँदैछ ।
यस अवसरमा केन्द्रले फागुन २७ गते रानीपोखरीस्थित दरबार हाईस्कुल र संस्कृत माध्यमिक विद्यालयका बिद्यार्थीहरुको निःशुल्क मिर्गौला परीक्षण गर्दैछ । यसैगरी फागुन २८ गते चितवन युनिट रत्ननगर अस्पताल टाँडी, फागुन ३० गते दमौली अस्पताल, शत्रुध्न मन्जु डायलाईसिस युनिट, चैत ४ गते बिराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पताल एचएच रोटरी डायलाईसिस युनिट, चैत ५ र ६ गते निजामती कर्मचारी श्रीमती संघ र सुमेरु अस्पतालको सहयोगमा गौरीगञ्ज भद्रपुरमा निःशुल्क मिर्गौला शिविर गर्दै छ ।
मिर्गौला रोगको उपचार सेवा नेपालीको सरदर आम्दानीको तुलनामा अत्यधिक महँगो भएको जानकारी गराउँदै वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेले भने—‘मिर्गौला रोगको सिघ्र पहिचान र यसको निदान नै आफ्नो मिर्गौला स्वस्थ राख्ने मुल मन्त्र हो ।’
डा. काफ्लेका अनुसार, मधुमेह र उच्च रक्तचाप भएका व्यक्ति, धुम्रपानको अम्मली, ५० वर्ष उमेर नाघिसकेका, मिर्गौला रोग भएका, मिर्गौलामा अन्य समस्या भएका व्यक्तिले ढिला नगरी मिर्गौला परीक्षण गर्न आवश्यक छ ।
डा. काफ्लेले भने—‘मिर्गौला रोग थाहा पाउने केही लक्षणको ख्याल गर्नुपर्छ र निश्चित गर्न पिसाब र रगत जाँच अनिवार्य हुन्छ ।’
नेपालमा कतिलाई मिर्गौला रोग छ भन्ने कुनै सरकारी तथ्याङ्क छैन । तर विश्व स्वास्थ्य संगठनको तथ्यलाई आधार मान्दा हरेक देशमा करिब १० प्रतिशतमा कुनै न कुनै मिर्गौलाको रोग हुने भएकाले नेपालमा पनि १० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धि रोग भएको अनुमान गरिएको छ । यसैको आधारमा करिब १० हजार व्यक्ति मिर्गौला रोगको अन्तिम अवस्थामा पुग्ने गरेका छन् भने करिब ३ हजार नयाँ मिर्गौला रोगी थपिने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्