Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्व मिर्गौला दिवस आज



जनस्वास्थ्य सरोकार, २६ फागुन । आज विश्व मिर्गौला दिवस । यो वर्ष मोटोपनाका कारण मिर्गौलामा पर्ने असरप्रति केन्द्रित हुँदै ‘मिर्गौला रोग र मोटोपना, स्वस्थ्य मिर्गौलाका लागि स्वस्थ्य जीवनशैली’ भन्ने मुख्य नारा अघि सारिएको छ । यसको मुख्य उद्देश्य मिर्गौला सम्बन्धि रोगप्रति जागरुक गराउने र समस्याको निदान गर्नु नै हो । इन्टरनेशनल सोसाइटी अफ किड्नी डिजिज एवं इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीले विश्वमा लगातार मिर्गौलाको समस्या बढ्न थालेपछि विश्व मिर्गौला दिवस मनाउने निर्णय लिएको हो । सन् २००६ देखि हरेक साल मार्च महिनाको दोस्रो बिहीबार विश्वभर विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय मिर्गौला उपचार केन्द्रका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषी कुमार काफ्ले भन्नुहुन्छ—‘मिर्गौला रोग खर्चिलो मात्र नभई झन्झटिलो र सुविधा नभएको ठाउँका लागि त मृत्यु बराबर नै हो ।’
मिर्गौलाको रोग ज्यादै डरलाग्दो र खर्चिलो रोग हो । यसबाट बर्षेनी थुपै्र जनाले अकालमै ज्यान गुमाइरहेको र धेरैले दुःख पाइरहेका छन् । स्वर सम्राट नारायगोपाल, डा.डिल्लीरमण रेग्मी, सरदार भीमबहादुर पाण्डे, युगकवि सिद्धिचरण श्रेष्ठ, राजनीतिज्ञ मंगलादेवी सिंह, पूर्व प्रधानसेनापति सिंहबहादुर बस्नेतलगायतका प्रतिष्ठित व्यक्तिहरुको मिर्गौलाको समस्याका कारण ज्यान गएको छ । पछिल्लो समयमा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पनि दुवै मिर्गौला बिग्रिएका कारण प्रत्यारोपण गरेर जिइरहनुभएको छ ।
नेपालमा हजारौं व्यक्ति मिर्गौला बिग्रेर बसेका छन् । साना बच्चादेखि बूढा, धनिदेखि गरीब, पदमा बसेका र नबसेका सबैलाई मिर्गौला रोगले छाडेको छैन । यद्यपी मिर्गौलाको उपचार महँगो हुने भएकाले आर्थिक अवस्था मजबूत भएकाहरु जसोतसो बाँच्न सफल भएका छन् तर आर्थिक अवस्था कमजोर भएकाहरुका लागि मिर्गौला रोग काल बन्ने गरेको छ । त्यसैले मिर्गौला रोगबाट बच्न जनचेतनाको निकै जरुरत छ ।

बर्षमा एक पटक मिर्गौला परीक्षण गरेमा मिर्गौलासम्बन्धि संभावित खतराबाट बच्न सकिन्छ । यसको अरु विकल्प छैन । मिर्गौला जोगाउने काममा सबै लाग्नुपर्छ । दैनिक २—३ लिटर पिसाब बन्ने गरी पानी पिउनुपर्छ, । दैनिक शारीरिक अभ्यास गर्नुपर्छ । समयमा खाने र सुत्ने गर्नुपर्छ । स्वस्थ्यकर खानपानमा जोड दिनुपर्छ । जंक फूड सेवन गर्न हुँदैन । यसरी सबैले आफ्नो मिर्गौला जोगाउने जिम्मेवारी लिएमा थोरै व्यक्तिको मात्र मिर्गौला बिग्रने, थोरै व्यक्तिको मात्र डायलाईसिस गर्नुपर्ने, थोरै व्यक्तिको मात्र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आउनसक्छ । नेपाल सरकारले ८ लाख २० हजार मिर्गौला रोगीको औषधोपचारमा सहुलियत दिँदै आएकोमा पछिल्लो समयमा डायलाईसिस निःशुल्क गरेको छ ।

प्रतिक्रिया दिनुहोस्