भोलुन्टियर काम नगरी जागिर नै पाइँदैन
नर्सिङ प्रतिको आकर्षण कसरी भयो ?
मेरो घर सोलुखुम्बु सल्लेरी हो । गाउँको मान्छे भएकाले हस्पिटलमा सेतो एप्रोन लगाएर नर्सले काम गरेको देख्दा नर्स बन्ने मरहर जाग्यो । परिवारको सपोर्ट भएको र समाज सेवामा चासो बढेकाले नर्सिङमा अध्ययन शुरु गरेँ ।
कतिको सन्तुष्ट हुनुहुन्छ ?
यो पेशा राम्रो लागेकाले मेरो छनौटमा परेको हो । अहिले खुशी छु । तर पीडा पनि धेरै छ । कतिपय अवस्थामा आफूलाई जोखिममा राखेर काम गर्नुपर्छ । काम गर्दा रमाइलो पनि छ ।
नर्सलाई किन आमा भनिएको हो ?
जसरी एउटा बच्चा जन्मदेखि मृत्युसम्म चाहिने आवश्यक केयर आमाले दिन सक्छन् त्यसरी नै अस्पतालमा आउने सम्पूर्ण बिरामीलाई अस्पतालमा भर्ना गरेदेखि डिस्चार्ज नहुन्जेलसम्म उसलाई चाहिने सम्पूर्ण केयर, माया, मतता, पारिवारिक वातावरण लगायत सम्पूर्ण जिम्मा नर्सको हातमा हुने भएकाले नर्सलाई एउटा आमाको संज्ञा दिइएको हो ।
नर्स को हो ?
नर्स भनेको बिरामीको केयर गर्ने व्यक्ति हो । समाजका हरेक खालका बिरामीलाई केयर गर्ने हाम्रो जिम्मेवारी हुन्छ । बिरामीको सरसफाइ, खानपानदेखि औषधिको सेवन लगायत सम्पूर्ण कुरामा नर्सको भूमिका महत्वपूर्ण हुन्छ ।
यो क्षेत्रमा के कस्ता विकृति र विसंगति छन् ?
यो क्षेत्रमा श्रम शोषण भइरहेको छ । यसको विरुद्धमा कुरा उठिरहेको भएपनि रोकिएको अवस्था छैन । भोलुन्टियर भएर काम नगरी जागिर पाउनसक्ने अवस्था छैन । ६ महिना भोलुन्टिएर भएर काम गरेपछि मात्र न्यून तलब दिन शुरु गरिन्छ । तलबमा पनि आत्मसन्तुष्टी मिल्न सकेको अवस्था छैन ।
नेपालमा नर्सिङ क्षेत्रको अवसर कस्तो छ ?
अवसर धेरै छ । सरकारी दरबन्दी अनुसार अझ पनि नर्स पुग्न सकेका छैनन् । अस्पतालहरुमा नर्सको कमी देखेको छु । एकजना नर्सले ३०—४० जना बिरामीको केयर गर्नुपर्छ । तर विश्व स्वास्थ्य संगठनले आईसियुमा १ नर्स बराबर १ बिरामी र वार्डहरुमा एक जना नर्सले ४—६ जना बिरामी मात्र हेर्नुपर्ने उल्लेख गरेपनि व्यवहारमा यो लागू हुन सकेको छैन । सिमित नर्सबाट धेरै बिरामी हेराउने परिपाटी हावी छ । यसबाट धेरै नर्स रोजगार पाउनबाट बञ्चित छन् ।
अवसर कतिको छ ?
योग्यता अनुसार जागिर नपाएका कारण स्टाफ नर्सको कोटामा बीएन, बीएस्सी अध्ययन गरेका व्यक्ति गएका छन् । योग्यता अनुसार जागिर पाएको छैन । अहिलेसम्म मुलुकमा ६० हजार जति नर्सहरु रहेका छन् । विदेश जाने नर्सहरुको पनि कमी छैन । विदेशमा राम्रो अवसर पाइने भएकाले विदेश पलायनहुने उल्लेख्य छन् ।
भोलुन्टियरको अन्त्य कसरी हुनसक्छ ?
नर्सिङ काउन्सिल, नर्सिङ एसोसिएसनको पहलमा भोलुन्टियर सिस्टम पूर्ण रुपमा हटाउने मापदण्ड बनाउनुपर्छ । नर्सिङ काउन्सिलबाट बेलाबेलामा बिना जानकारी क्रस चेक हुनुपर्छ ।
नर्सको भविष्य कसरी राम्रो हुन्छ ?
सबैभन्दा पहिले त आफ्नो भविष्य आफैं बनाउनमा सम्पूृर्ण नर्सले काम गर्नुपर्छ । आफ्नो ड्यूटी के के छन्, आफ्नो लेवल कुन हो, त्यसलाई मेन्टेन गर्न सक्नुपर्छ । साथै नर्सिङ काउन्सिल र नर्सिङ संघले नविकरणसम्बन्धि एउटा राम्रो मापदण्ड बनाउनुपर्छ जसले नर्सको सम्पूर्ण भूमिकालाई बाँध्न सकियोस् । नर्सिङ क्षेत्रमा भइरहेको श्रम शोषण र विकृतिलाई हटाउनुपर्छ । अझैसम्म पनि धेरैको सोचाइ भनेको नर्सको काम भनेको डाक्टर को अर्डर फलो गर्ने भन्ने छ त्यसलाई हटाएर नर्सको पनि आफ्नो छुट्टै पहिचान र लेवल छ भनेर उचित शिक्षा प्रदान गर्न सक्नुपर्छ । डाक्टर र नर्स भनेका एक रथका दुई पांग्रा हुन् । बिना नर्स र बिना डाक्टर कुनै पनि अस्पताल सम्भव छैन । यो कुरा सम्पूर्ण जनस्तरमाझमा पु¥याउन सक्नुपर्छ ।
अन्तिममा के सुझाव दिन चाहनुहुन्छ ?
भोलुन्टियर सिस्टम हटाउनुपर्छ । हाम्रा धेरै साथीहरुले ६ महिना भोलुन्टियर काम गरेपछि मात्र बल्ल जागिर पाएका छन् । यस सम्बन्धमा हरेक वर्ष नर्सिङ दिवसका दिन विषय उठान भएपनि यो कार्यान्वयन हुन सकेको छैन । नर्सहरु एकजुट हुन जरुरी छ । यसमा केटी मान्छे, इगो, एकले अर्काको खुट्टा तान्ने, बल्लबल्ल पाएको जागिर जाने हो कि भन्ने डर र चिन्ता आदिका कारण नर्सहरु अघि बढ्न सकिरहेका छैनन् । पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले भोलुन्टियर सिस्टम नराख्ने भनेर बोले पनि यथार्थमा कार्यान्वयन हुन सकेन । मन्त्रालयले सबै हस्पिटलमा भोलुन्टियर नराख्ने भनेर परिपत्र नगरेसम्म यसको अन्त्य हुन सक्दैन