Logo
|
Saturday 28th September 2024
Logo

epaper

प्रतिस्थापन गरिएको जोर्नी कति समय टिक्छ, जोर्नी खिइने कारण र उपचार

जोर्नी बिग्रने चार जना महिलाको तुलनामा एक जना पुरूष




डा. ज्ञवालीले हालसम्म २ सय बढी बिरामीको जोर्नी प्रतिस्थापन गरिसक्नुभएको छ । उहाँ सन् २०१५ देखि सक्रिय रुपमा लाग्नुभएको हो । सन् २०१२ मा नेपाल अर्थोपेडिक अस्पतालमा काम शुरू गर्नुभयो । यहाँ हरेक वर्ष अमेरिकाबाट जोर्नी प्रत्यारोपण सर्जनहरु आउने गर्छन् । उनीहरुको उद्देश्य नेपाली बिरामीलाई सहयोग गर्ने र नेपाल अर्थोपेडिक हस्पिटलका डाक्टरलाई टिचिङ गराउनु हो । उहाँले पनि उनीहरुबाटै जोर्नी प्रत्यारोपण सिक्नुभएको हो र त्यसपछि स्वीजरल्याण्डबाट आर्थोस्कोपी र आर्थोप्लाष्टीमा फेलोसिप गर्नुभयो । यस अंकमा हामीले जोर्नी प्रत्यारोपण एवं आर्थोस्कोपी सर्जन डा. प्रकाश ज्ञवालीसँग जोर्नी प्रत्यारोपणसम्बन्धि कुराकानी गरेका छौं । आउनुस् जानौं ।

जोर्नी प्रतिस्थापन के हो ?
बिग्रिएको जोर्नीको ठाउँमा नयाँ जोर्नी राख्ने प्रक्रिया जोर्नी प्रतिस्थापन हो । यसमा बिग्रिएको जोर्नीको भागलाई काटेर निकालेर क्रित्रिम जोर्नी हालिन्छ । जोर्नी प्रत्यारोपण चिरेर गर्नुपर्छ । तर जोर्नी भित्रको लिगामेन्ट, वासर, जोर्नी फुत्कने समस्याको लागि सानो प्वालबाट क्यामरा छिराएर जोर्नी भित्र सर्जरी गरिन्छ । यसलाई आर्थोस्कोपी भनिन्छ र यो स्पोर्टस् इन्जुरीतिर बढी हुन्छ ।

जोर्नी प्रतिस्थापन एक सर्जिकल प्रक्रिया हो जसमा जोर्नीको क्षतिग्रस्त भागलाई कृत्रिम सामाग्रीले प्रतिस्थापन गरिन्छ जसलाई प्रोस्थेसिस भनिन्छ । यो धातु, प्लास्टिक र सिरेमिक सामग्रीबाट बनेको हुन्छ । यो प्रायः घुँडा र हिपका जोर्नीहरू प्रतिस्थापनका लागि प्रयोग गरिन्छ।

कस्ता–कस्ता घटना ह्याण्डल गरिरहनुभएको छ ?
अस्पतालमा लडेर, खसेर, सडक दुर्घटनाबाट हड्डी भाँचिएर आउने बिरामीको सर्जरीबाहेक मैले विशेष गरेर जोर्नी प्रत्यारोपण र जोर्नीको क्यामराबाट गर्ने सर्जरी गर्छु । जोर्नी प्रत्यारोपण आर्थोप्लाष्टी हो भने जोर्नीको क्यामराबाट गर्ने सर्जरी आर्थोस्कोपी हो ।

जोर्नी प्रत्यारोपण किन गर्ने ?
जोर्नी बिग्रिएपछि दुःखाइ सहेर हिड्नुपर्छ । तर जोर्नी प्रत्यारोपणले दुःखाई रहीत जीवन जिउन सकिन्छ । जोर्नी प्रत्यारोणले क्वालिटी अफ लाइफ राम्रो हुन्छ । अन्यथा मल्टिपल डिजिजले आक्रमणगर्नसक्छ । यदि तपाईंले खुट्टाले हिड्न सक्नुभएन र बेडमा मात्र बस्नुपर्यो भने के होला सोच्नुस् त । यसमा जीवनको अर्थ नै रहँदैन ।

जोर्नी किन खिइन्छ ?
उमेर र जोर्नीमा लाग्ने रोगका कारण (जस्तैः बाथरोग) आदिले जोर्नी खिइन सक्छ । पुरानो जोर्नीको चोट, पुरानो जोर्नीको संक्रमण जस्तैः जोर्नीको क्षयरोगले पनि जोर्नी खिइनसक्छ । एग्रेसिभ बाथ रोग भएका व्यक्तिको पनि युवावस्थामा जोर्नी बिग्रन सक्छ ।

शुल्क कति लाग्छ ?
जोर्नी प्रत्यारोपण महँगो सर्जरी हो । इम्प्लान्टको मूल्य महँगो पर्छ । नेपालको परिदृश्यमा जोर्नी प्रत्यारोपणका लागि हेल्थ इन्स्योरेन्सको सुविधा छैन । शल्यक्रिया शुल्क बाहेक एउटा इम्प्लान्ट किन्न मात्र करिब २ लाख रुपियाँ भन्दा बढी खर्च गर्नुपर्छ ।

अर्ध सरकारी अस्पतालमा ४ लाख रुपियाँ जति खर्च हुन्छ । सरकारी अस्पतालमा पनि प्रत्यारोपण खर्च उस्तै हो । शल्यक्रिया शुल्क सस्तो हुने भएकाले सरकारीमा १०–१५ हजार सस्तो पर्नसक्छ । तर निजी अस्पतालमा यसको खर्च अझ बढी आउँछ ।

यो सामान्य नेपालीका लागि खर्चिलो हो । पहिलेको तुलनामा इम्प्लान्टको मुल्य घटेको छ । अहिले दुई लाख रुपियाँको हाराहारीमा आउँछ ।

प्रतिस्थापन गरिएको जोर्नी कति टिक्छ ?
एकपटक प्रत्यारोपण गरिएको जोर्नी २०–२५ वर्षसम्म चल्ने अध्ययनले देखाएको छ । स्पाइन, मिर्गौला र क्यान्सरका बिरामीलाई सरकारले मासिक ५ हजार भत्ता दिने गरेको छ ।

जोर्नी प्रत्यारोपण गर्नु बाद्यता भएकालेअपाड्गता भएर हिड्न नसकेकाहरुलाई डिजेबल स्कोरमा राखेर सरकारले सुलभ दरमा सहुलियत दिन आवश्यक छ । यसबारेमा आर्थोप्लास्टी एसोशियसनले पनि पहल गरेको छ ।

कम्प्लिकेशन कतिको आउनसक्छ ?
जोर्नी प्रत्यारोपणको ठूलो जटिलता भनेको संक्रमण हो । तर संक्रमण दर एकदम कम हुन्छ । कुनै कारणबस संक्रमण भई नियन्त्रण गर्न नसकिएको अवस्थामा इम्प्लान्ट निकालेर फाल्नुबाहेक बिकल्प हुँदैन र संक्रमण फेरि नियन्त्रण गरेपछि अर्को इम्प्लान्ट हाल्नुपर्छ जुन धेरै खर्चिलो हुन्छ ।

संक्रमण के कारणले हुनसक्छ?
मल्टिपल कारणले संक्रमणको जोखिम हुन्छ । हाम्रा बिरामीको व्यक्तिगत स्वच्छता कमजोर भएको पाइन्छ । त्यसैले बिरामीबाट पनि संक्रमण हुने सम्भावना हुन्छ । साथैशल्यक्रिया कक्षको वातावरण र उपकरण (इन्स्ट्रुमेन्टेसन)ले गर्दा पनि संक्रमणको जोखिम हुन्छ । यसप्रति विशेष सावधानी अपनाउनुपर्छ ।

सर्जरीपछि बिरामी कति समयसम्म फलोअपमा रहनुपर्छ?
जोर्नीको प्रत्यारोपण सर्जरीपछि अवस्था अनुसार ४–५ दिनमा डिस्चार्ज गर्न सकिन्छ । दुई हप्तामा टाँका काट्नुपर्छ । प्रत्यारोपण गरेका बिरामीलाई फिजियोथेरापी र एक्सरसाइजको आवश्यकता हुन्छ । शल्यक्रियापछि पनि हामी (सर्जन) ले सिकाएको व्यायाम गरिराख्नु राम्रो हुन्छ । एकमहिना पछि फलोअपमा आउनुपर्छ । उनीहरुले गरेको एक्सरसाइज चित्त बुझ्दो भएमा पुनः डेढ महिनापछि फलोअपमा बोलाइन्छ । प्रायजसो दुईहप्ता, डेढ महिना, ३ महिना, ६ महिना र एकवर्षमा फलोअपमा बोलाउने गरिन्छ । त्यसपछि हरेक एक वर्षको अन्तरलालमा फलोअपमा बस्नुपर्छ ।

खानपान र जीवनशैली कस्तो हुनुपर्छ ?
जोर्नी प्रत्यारोपणका व्यक्तिहरुलाई खानपानमा बन्देज गरिदैन । जोर्नी प्रत्यारोपण गर्ने व्यक्ति प्राय बृद्धबृद्धा हुन्छन् । मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता दीर्घ रोग पनि हुनसक्छ । यी रोग नियन्त्रमा राख्न खानपान बार्नुपर्दछ । साथै धेरै मोटाउनु हुँदैन । सुगर लेवल र उच्च रक्तचाप नियन्त्रणमा राख्नुपर्दछ । यस्ता रोग शरीरको रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित हुने भएकाले प्रतिरोधात्मक क्षमता घट्नसक्छ । यसबाट प्रत्यारोपण गरिएको जोर्नीमा संक्रमण हुने जोखिम उच्च हुन्छ । अतःजोर्नी प्रत्यारोपण गरेपछि नियमित जोर्नी सम्बन्धि ब्यायाम गर्न जरूरी हुन्छ ।

शल्यक्रिया पूर्व बाथ नियन्त्रणको जरूरत पर्छ ?
प्रत्यारोपण गरिएकोजोर्नीलाई बाथले बिगार्दैन । तर बाथका कारण जोर्नी बिग्रिएको अवस्थामा शल्यक्रिया गर्नुपूर्व यसलाई नियन्त्रणमा राख्नुपर्छ । यसका लागि बाथरोग विशेषज्ञको पनि संलग्नता आवश्यक पर्छ ।

नेपालमा प्रायः धेरै महिलाको जोर्नी किन बिग्रन्छ ?
नेपालको परिस्थितिमा महिलाहरूको जोर्नी समस्या बढी भएको र यसको कारण महिलाको दैनिक क्रियाकलाप र रजनोवृत्ति कारण हुनसक्छ ।

पुरूषको तुलनामा महिलाको शारीरिक क्रियाकलाप बढी हुन्छ । गाउँमा पानी पधेँरो, घाँस दाउरा र घरको कामकाज महिलाले नै गर्नुपर्छ । जोर्नी बिग्रने चार जना महिलाको तुलनामा एक जना पुरूष हुन्छन । महिलाहरू लामो समयसम्म दुःखाइ सहेर बसिरहेका हुन्छन् ।

आफ्नो समस्या समाजमा खुलेर भन्न सक्दैनन् ।सामान्य समस्या भएमा पुरुषहरू आफैं अस्पताल आइपुग्छन्। तर महिलालाई अस्पताल लिएर जानुपर्छ । जसले गर्दा उनहरू जोर्नी धेरै बिग्रिसकेपछि मात्र अस्पताल पुग्छन् ।

प्रतिक्रिया दिनुहोस्