कर्णालीमा रगत अभाव बिरामी बचाउँदै नेपाली सेना
कालिकोटको तिलागुफा गाउँपालिकाकी गर्भवती ३५ वर्षीया सर्पना हमाललाई मंगलबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउँदा अवस्था सामान्य नै थियो । सर्पनाको कोखबाट राति २ बजेतिर छोरा जन्मियो पनि । सामान्य रूपमै बच्चा जन्मिएपछि सर्पनाका श्रीमान् जयबहादुर हमाल खुसी हुनुभएको थियो । तर, केही क्षणमै जयबहादुरको खुसीको माहोल बिग्रिँदै आत्तिनुपर्ने अवस्थामा परिणत भयो ।
सुत्केरीका क्रममा अधिक रक्त श्रावको समस्यामा पर्नुभएकी कालिकोटकी सर्पना शाही । नेपाली सेनालगायत दाताले रगत दिएपछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ
सर्पनाको रक्त श्राव हुन थालेपछि जयबहादुर मात्र होइन, डाक्टरसमेत आत्तिए । बच्चा जन्मिएको केही क्षणदेखि नै उहाँलाई रक्त श्राव भएको थियो । त्यसपछि मध्यरातमै नेपाली सेनाको भगवती दल गणका जवान, नर्सिङका विद्यार्थी तथा सशस्त्र प्रहरीले आवश्यक रगत प्रदान गरेपछि मात्रै सर्पनाको ज्यान बचाउन चिकित्सक सफल भए ।
उपचारमा संलग्न चिकित्सकले सर्पनालाई एक(दुई पिन्ट रगत दिँदा निको हुन्छ भन्ने सोचे पनि होस आउने बेलासम्म १४ पिन्ट दिनुपरेको बताएका छन् । ‘हामीले थोरै रगत नै पर्याप्त हुन्छ भन्ने सोचेका थियौुं, चिकित्सक विनोद अर्यालले भन्नुभयो, ‘तर, उहाँको रक्त श्राव नियन्त्रण नै भएन । अन्त्यसम्ममा १४ पिन्ट रगत दिनुपरेको थियो ।ु उहाँका अनुसार समयमै नेपाली सेना र नर्सिङका विद्यार्थी आएर रगत नदिएको भए सुत्केरीको अवस्था जे पनि हुन सक्थ्यो ।
गर्भवती अवस्थामा पोषिलो खानपान अभाव, अधिक कामको चाप र बच्चा धेरै जन्माएका कारण अहिले सुत्केरी हुँदा रक्त श्राव भएको चिकित्सकको भनाइ छ । सर्पना दम्पतीका यसअघि नै तीन सन्तान छन् । श्रीमतीलाई ‘मृत्युको मुखुबाट बचाएकोमा चिकित्सक, नेपाली सेना, नर्सिङ विद्यार्थी र सशस्त्र प्रहरीलाई जयबहादुरले धन्यवाद दिनुभएको छ । बुधबार बिहानसम्म चिकित्सक सुत्केरीलाई बचाउन सकिने वा नसकिनेमा दोधारमा थिए ।
बर्सेनि अधिक रक्त श्राव, रगत अभाव र समयमै उपचार नपाउँदा कैयौं सुत्केरीले ज्यान गुमाउनुपरेको छ । सबैभन्दा धेरै मातृ मृत्युदर भएको क्षेत्र कर्णाली नै हो । यहाँ बर्सेनि १२ भन्दा बढी महिलाले रगत अभावकै कारण सुत्केरी अवस्थामा ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीको भनाइ छ । कर्णालीमा आवश्यक रगत संकलन गरी सुरक्षित रूपमा राख्ने ब्लड बैंक छैन, जसका कारण चाहिएको अवस्थामा बिरामीले रगत पाउन सकिराखेको अवस्था छैन ।
कालिकोट, हुम्ला, मुगु, डोल्पा र कर्णालीकै सदरमुकामका रूपमा रहेको जुम्लामा नै रगतका लागि नेपाली सेना एक मात्र विकल्प देखिएको छ । आवश्यक परेको समयमा चाहिएको ग्रुपको रगत भएको व्यक्ति सेनाभित्र भए बिरामीले रगत पाउँछन् नत्र नेपालगन्ज पुग्नुपर्छ । एक महिनाअघि मात्रै तिला गाउँपालिकाकी एक महिलाले सुत्केरीकै बेला अधिक रक्त श्राव हुँदा ज्यान गुमाउनुपरेको थियो ।
कतिपय ठाउँमा सडकको सहज पहुँचका नभएका कारण समयमै अस्पताल पुर्याउन नसक्दा सुत्केरीको ज्यान जाने गरेको छ । केही अस्पताल पुगे पनि आवश्यक रगत नपाउँदा ज्यान जाने गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका रजिस्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार रगत अभाव भए एक मात्र विकल्प नेपाली सेना नै हुन् । प्राप्त रगत पनि सुरक्षित हो वा होइन भन्ने कुनै ग्यारेन्टी नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आवश्यकताका आधारमा तत्काल बिरामीको ज्यान बचाउन रगत सेनाले दिने गरेको छ । त्यो पनि सुरक्षित छ वा छैन मापन गर्ने कुनै आधार छैन ।ु
यसपटक नर्सिङका विद्यार्थी र सशस्त्रले समेत रगत दिए पनि अन्य बेला नेपाली सेनाको विकल्प छैन । प्रतिष्ठानमा यसअघि आउने पदाधिकारीले जुम्लामै ब्लड बैंक स्थापना गर्ने वचन दिए पनि हालसम्म काम अघि बढ्न सकेको छैन । रगत अभाव भए नेपाली सेना नत्र बिरामीका आफन्तले रक्तदान गर्ने व्यक्ति बजारमा खोज्दै हिँड्नुपर्ने बाध्यात्मक अवस्था छ । रजिस्ट्रार काफ्लेका अनुसार ब्लड बैंकका लागि २४ घन्टा विद्युत् आवश्यक पर्ने भएकाले विद्युत् अभावमा ब्लड बैंक स्थापनामा समस्या छ ।
गम्भीर खालका बिरामी सुरक्षित छैनन्
प्रतिष्ठानमा उपचारका लागि आउने अधिकांश गम्भीर प्रकृतिका बिरामीले सुरक्षित रूपमा उपचार पाउन सकेका छैनन् । त्यस्ता बिरामीलाई पनि जनरल वार्डमा राखेर उपचार गर्ने गरिएको छ, जसका कारण बिरामीलाई थप रोगको संक्रमणसमेत हुन सक्ने अवस्था देखिएको अस्पताल स्रोतले स्वीकार गरेको छ । भौतिक संरचना निर्माण भइरहेको प्रतिष्ठानमा आईसीयु कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा समस्या भएको रजिस्ट्रार काफ्लेले बताउनुभयो । ‘प्रतिष्ठानमा अहिले आईसीयु राख्ने भौतिक संरचना पनि छ तर उपकरण अभाव र विद्युत् सेवा नहुँदा समस्या भएको छु, उहाँले भन्नुभयो । उहाँले तीन महिनाभित्रै तीन सय शय्याको नयाँ भवन प्रतिष्ठानलाई हस्तान्तरण हुने र विद्युत् सेवा पनि तीन महिनाभित्रै व्यवस्था गरिने बताउनुभयो । दसैंअघि नै बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उहाँको विश्वास छ । दानसाँघुको विद्युत् प्रतिष्ठानमा ल्याउने सम्झौता भएकोले तीन महिनाभित्रै ब्लड बैंक र आईसीयु स्थापना गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ ।-अन्नपूर्णपोस्टबाट