Logo
|
Thursday 28th March 2024
Logo

epaper

कलेजो क्यान्सरबाट लिउको निधन



लामो समयदेखि जेल जीवन विताईरहनु भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ ।

कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पिडित लिउलाई केहीदिन अगाडी मात्रै राष्ट्रिय÷ अन्तर्राष्ट्रिय दवावपछि जेलमुक्तगरी उपचारका लागि अस्पताल लगिएको थियो ।

उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेभसाइट मार्फत् सार्वजनिक गरेको छ । उनलाई तीनदिनदेखि गहन उपचार गरिएको थियो ।

उनको स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र बुधबार अवस्था थप कमजोर भएको अस्पताल स्रोतले जनाएको थियो । लिउको प्राकृतिक श्वासप्रश्वास प्रणालीमा अवरोध उत्पन्न भएपछि भेन्टिलेटरमा राखी कृत्रिम श्वासप्रस्वास गराउन आवश्यक रहेकोमा उनका परिवारजनले अस्विकार गरेका थिए ।

चीनको शासन व्यवस्थाको पूर्नसंरचा गर्नु पर्ने, आधारभूत मानवअधिकारको उपयोग गर्न पाउनु पर्ने लगायतका अभियान चाल्नु भएका प्रजातन्त्रका अभियन्ता लिउलाई सन् २००८ मा राज्यद्रोहको अभियोगमा पक्राउ गरिएको थियो । त्यसपछि सन् २००९ मा उनलाई ११ बर्षे जेल सजाँयको घोषणा गरिएपछि उनले अहिले सम्म पनि काराबासको सजायँ भोगी रहेका थिए ।

उनले सन् २०१०मा जेलमै भएका बेला नोबेल शान्ति पुरस्कार पाएका हुन्।

सन् १९३८ ताका नाजीहरुका राज्यकालमा नोबेल पुरस्कार बिजेता जर्मनका कार्ल भान ओसित्स्कीको जेलमै मृत्यु भएझैँ चिनियाँ अधिकारकर्मी लिउको पनि जेलमै मृत्यु हुने खतरा देखेपछि सघन उपचारका लागि उनीलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।लिउको उपचारका बारेमा चासो दिँदै जर्मनी सरकारका प्रवक्ता स्टेफेन सेइबेर्टले उनको सम्पूर्ण उपचार जिम्मा लिन जर्मनी तयार रहेको बताएका थिए ।

तर, अन्तर्राष्ट्रिय आग्रहका बारेमा केही नबताए पनि चिनियाँ सरकारले भने सम्भव भएसम्मका स्वदेशी उच्च चिकित्सकहरुको संलग्नतामा उनको उपचार गरिएको दावी गरेका थिए ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता चेङ सुआङगले बुधबार चीनको न्यायिक सार्वभौमसत्ता अन्य देशले सम्मान गर्नुपर्ने भन्दै कुनै पनि व्यक्ति विशेषको स्वास्थ्यको विषयलाई लिएर कुनै पनि टीकाटिप्पणी गर्नु आन्तरिक मामिलामा हस्तक्षेप गर्नु सरह हुने उनले बताएका थिए ।

गत हप्ता एक जना जर्मन र एक जना अमेरिकी चिकित्सकले लिउलाई भेटेपछि विदेशमा सुविधा सम्पन्न अस्पतालमा जान उनी अझै पनि सक्षम भएको बताएका थिए ।

त्यसलगत्तै उनी उपचाररत अस्पतालले उनको अवस्था दिन प्रतिदिन कमजोर भइरहेको प्रतिवेदन प्रकाशन गर्दै आइरहेको थियो । उनलाई भेट्न पनि सिमीत व्यक्तिहरुलाई मात्र दिइएको थियो ।

ताईवानका राष्ट्रपति चाई इङ–वेनले पनि लिउलाई काराबासमुक्त गर्न र उनले इच्छा गरे अनुसारको स्वतन्त्रतापूर्वक उपचार गराउने हकबाट बन्चित नगर्न बेइजिङगसँग ट्विटरमार्फत आग्रह गरेका थिए ।

साथै लिउले ताईवानमा उपचार गराउने इच्छा गरेमा त्यसका लागि आफू तयार रहेको समेत उनले बताएका थिए ।

त्यसैगरी अमेरिकामा उपचार गराउन चाहेमा उनीलाई स्वागत गर्न इच्छुक रहेको भनी गत मङ्गलबार अमेरिकाले पनि लिउलाई मुक्त गर्न चीनसँग आग्रह गरेको थियो । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्