डा.केसीका माग सम्बोधन नभए शल्यक्रिया कक्ष समेत बन्द गर्ने
अनशनरत डा.गोविन्द केसीका माग सम्बोधन नभए त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवसीय चिकित्सकहरुले शल्यक्रिया कक्ष समेत बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
अनशनरत डा.केसीको मागलाई सरकारले सम्बोधन नगरेको भन्दै नेशनल रेजिडेन्ट डाक्टर एशोसियसनले आज देखि पठन पाठन बन्द गरेर बाहिरगं सेवा बहिष्कार गरेका छन् ।
एशोसियसनले डा.केसीको माग सम्बोधन गर्न सरकारले सम्वेदनशील नदेखाएको हुनाले पठन पाठन बन्द गरेर बाहिरगं सेवा बहिष्कार गर्नु परेको बताएको छ । अस्पतालमा बाहिरगं सेवा बन्द भएपछि उपचारका लागि गएका बिरामीहरु भने अप्ठ्यारामा पर्नु भएको छ ।
सरकारी वार्ता टोलीले भने वार्तामा चिकित्सा शिक्षा सम्बन्धी विधेयक आफ्ना सुझावसहित तुरुन्त पास गर्नुपर्ने डा.केसीको मुख्य माग संसदमा रहेको विधेयक भएको हुनाले आफनो क्षेत्राधिकार भन्दा बाहिरको विषय भएको बताँउदै आएको कारण वार्ता निष्कर्षविहिन बन्न पुगेको थियो ।
सरकारी वार्ता टोलीका अनुसार चिकित्सा शिक्षा विधेयक सम्वन्धमा वार्ता गएर अड्किएको कारण मंगलबार भएको पाँचौं पटकको वार्ता असफल हुन पुगेको हो ।
यसैबीच डा. केसीको मागलाई लिएर सरकारी निकाय र जनप्रतिनिधिले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिन थालेका छन् । महिला, बालबालिका,जेष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रन्जु कुमारी झाले विधेयक चल्ने क्रममा रहेकोले अनशनमा बस्नु को कुनै अर्थ नरहेको बताउनु भएको छ । सरकारी जागिरका डा.केसीले सरकार विरुद्ध नै अनशन बस्नु नमिल्ने झा को तर्क थियो ।
यसैबीच झाले चिकित्सा शिक्षा विधेयकमा संसोधन पढ्नु स्वाभाविक रहेको भन्दै अनशनको कुनै औचित्य नभएको टिप्पणी समेत गर्नु भएको छ ।
त्यस्तै विगत दश दिनदेखि अनशनरत डा.केसीको स्वस्थ्य अवस्था भने नाजुक बन्दै गएको छ ।