Logo
|
Saturday 27th April 2024
Logo

epaper

२०५० सम्म अन्धोपन तीन गुणाले बढ्ने



एउटा नयाँ अध्ययनले आगामी केही दशकभित्रै विश्वभर अन्धोपनबाट पीडित हुने मानिसको संख्या तीन गुणाले बढ्ने जनाएको छ।
‘द ल्यान्सेट” नामक जर्नलमा छापिएको उक्त लेखमा उपचार प्रणालीमा सुधार नआए अहिले ३ करोड ६० लाख रहेको अन्धोपन पीडितको संख्या सन् २०५० सम्ममा ११ करोड ५० लाख पुग्ने भविष्यवाणी गरिएको छ।
अनुसन्धानकर्ताहरुले हालैका दशकमा अन्धोपनसँग जुधिरहेका मानिसहरुको संख्या कम भइरहेको भएपनि औषत आयु र जनसंख्याको वृद्धिका कारण यो क्रम उल्टने बताएका छन्।
विश्वभर वृद्ध मानिसहरुको जनसंख्या बढ्दै गएकाले यस्तो अवस्था आउने वैज्ञानिकहरुले बताएका छन्।

खराब
सबैभन्दा खराब अवस्था दक्षिण तथा पूर्वी एशिया र अफ्रिकाको सब(सहारा क्षेत्रमा देखिने उनीहरुको भनाइ छ।
अनुसन्धानकर्ताहरुले मोतिविन्दु र अन्य दृष्टि सम्बन्धी समस्याहरुको उपचारमा थप लगानी गर्न र दृष्टि सम्बन्धी समस्या भएका मानिसलाई चश्मा उपलब्ध गराउन सुझाव दिएका छन्।
१ सय ८८ वटा देशमा गरिएका अध्ययनले दुई करोड मानिसहरुलाई मध्यम देखि गम्भीर किसिमको दृष्टि सम्बन्धी समस्या रहेको देखाएको थियो।
सन् २०५० सम्ममा उक्त संख्या ५ करोड ५० लाख पुग्ने ठानिएको छ।

एङ्ग्लीया रस्कीन विश्वविद्यालयका प्राध्यापक तथा प्रमुख अनुसन्धानकर्ता रुपर्ट बोर्न भन्छन्, ‘मध्यमस्तरको अन्धोपनले पनि एउटा व्यक्तिको जीवनमा ठूलो प्रभाव पार्न सक्छ।’
ूउदाहरणका लागि त्यसले उनीहरुको स्वतन्त्रतामा अकुँश लगाउनसक्छ, सवारी साधन चलाउनबाट उनीहरुलाई बञ्चित गर्न सक्छ।ू
उनले अन्धोपनले शैक्षिक र आर्थिक अवसर समेत गुम्ने उल्लेख गरे।
तथ्यांकमा अन्धोपन
दक्षिण एसियामा १ करोड १७ लाख
पूर्वी एसियामा ६२ लाख
दक्षिण पूर्वी एसियामा ३५ लाख
अफ्रिकाको सब सहारा क्षेत्रमा कूल जनसंख्याको चार प्रतिशत
पश्चिम युरोपमा जनसंख्याको सून्य दशमलब पाँच प्रतिशत

सुझाव

उक्त अध्ययनका लेखकहरुले मोतिविन्दु शल्यक्रिया र उपयुक्त किसिमका चश्मासम्म पीडितहरुको पहुँच पुर्याउन बढी लगानी गर्न सुझाव दिएका छन्।
प्राध्यापक रुपर्ट बोर्न भन्छन्,‘ त्यस्तो खालको हस्तक्षेपले लगानी अनुसारको राम्रो प्रतिफल दिनेछ। यस्ता खालका प्रयासहरु कतिपय विकासोन्मुख देशहरुमा भइपनि रहेका छन्।’
उपचार गर्न सकिने अन्धोपन निवारणका लागि ३० वटा देशहरुमा काम गरिरहेको एउटा परोपकारी संस्था साइट सेभर्सले आँखाको नानीमा ढाकिने मोतीविन्दुको समस्या बढ्दै गएको जनाएको छ।
उक्त संस्थाका इमरान खान भन्छन्, ‘वृद्ध मानिसहरुको बढ्दो जनसंख्या र गम्भीर किसिमका रोगमा भएका वृद्धिले विश्वका गरिव देशहरुमा अन्धोपनको समस्या अझै बढ्ने हामीले देखिरहेका छौँ।’
उनले विकासोन्मुख देशहरुमा स्वास्थ्य प्रणालीमा सुधार ल्याउनुपर्ने उल्लेख गर्दै आँखाको उपचार गर्न सक्षम चिकित्सक र नर्सहरुको उत्पादनमा जोड दिइनुपर्ने उल्लेख गरे।

स्रोतः बीबीसी नेपाली

प्रतिक्रिया दिनुहोस्