स्तनपान गराएको तस्बिर- राष्ट्रपतिको छोरी विवादमा
किर्गिस्तानका राष्ट्रपतिकी कान्छी छोरीले आफ्नो शिशुलाई स्तनपान गराएको तस्बिरले अहिले किर्गिस्तानमा विवाद बढेको छ । राष्ट्रपतिकी छोरी अलिया सागिभाले यसै साता अन्डरवेयर र ब्रा मात्र लगाएर छोरालाई स्तनपान गराएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।
तस्बिरमा अश्लीलता झल्किएको भन्दै सर्वसाधारणले राष्ट्रपतिको छोरी अलियाको विरोध गरेका छन् । तर, अलियाले आफ्नो कदमको बचाउ गर्दै भविष्यमा पनि निस्फिक्री ढंगले स्तनपान गराउने बताएकी छिन् ।
‘शिशुलाई जतिवेला र जहाँ दूध चुसाउन आवश्यक पर्छ, त्यतिवेला दूध चुसाउनेछु,’ अलियाले भनेकी छिन् । तर, सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताले स्तन चुसाएको तस्बिर अशोभनीय बताएपछि उनले हटाएकी छिन् ।
उनीले परम्परागत सोचका कारण आफू विवादमा तानिएको बताएकी छिन् । आफ्नो मन स्वच्छ भएको, तर मानिसहरूको हेर्ने दृष्टिकोण अश्लील भएको उनीले दावी गरेकी छिन् । ‘भगवानले दिएको यो शरीर कुनै अश्लील होइन, शरीरका अंगहरूले आ–आफ्नै काम गर्छन् । मेरा शरीरका अंगले बालकका मनोवैज्ञानिक आवश्यकता पूर्ति गरेको छ, यसले अश्लील अर्थ राख्दैन,’ विवादमा तानिएपछि बिबिसीसँगको अन्तरवार्तामा उनले भनेकी छिन् ।
तस्बिर सार्वजनिक गरेपछि उनका शुभेच्छुक र प्रशंसक पनि दुखित भएका थिए । उनका पिता तथा राष्ट्रपति अलमाजबेक अटमबेयभ र प्रथम महिला राइसासमेत छोरीको हर्कतले समस्यामा परेका थिए । ‘वास्तवमा अभिभावकलाई पनि मेरो तस्बिर मन परेको थिएन । तर निश्चय नै युवा पुस्ता बढी आधुनिक हुन्छन्,’ अलिया भन्छिन् ।
‘जब मैले बच्चालाई दूध चुसाउछु, मैले सन्तानलाई आफ्नो तर्फबाट सबैभन्दा उपयुक्त चिज प्रदान गरेको अनुभूति हुन्छ । शिशुको स्याहार गर्नु र उनका आवश्यकता पूरा गर्नु मेरा लागि सबैभन्दा महत्वपूर्ण विषय हो, समाजले के सोच्छ भन्ने कुरा गौण विषय हो,’ उनी भन्छिन् । त्यसो त उनको फेसबुक पोस्टमा निस्फिक्री ढंगले खिचिएका अन्य तस्बिर पनि छन्, जसलाई किर्गिस्तानको समाजले सजिलै पचाउँदैन ।
‘राष्ट्रपतिकी छोरीले सबैका अगाडि शिशुलाई दूध चुसाउन मिल्दैन । यदि उनले परिवारका सबै सदस्यहरूको अगाडि दूध चुसाएको भए परिवारले स्वीकार्दैनथे,’ अलिया भन्छिन् ।
अफगानस्तानकी महिला जारिफा घाफरी महिलाले स्तनपान गराउँदा अश्लीलता झल्किने हुँदा अलग कोठामा बस्नुपर्ने सुझाब दिन्छिन् ।