Logo
|
Friday 26th April 2024
Logo

epaper

स्क्रब टाइफसबाट ६ जना संक्रमित



दुई सातायता कैलालीमा ६ जना मानिसमा स्क्रब टाइफस संक्रमण भएको पुष्टि भएको छ ।

सेती अञ्चल अस्पताल धनगढीमा उपचारका लागि आएका ४० वर्षमुनिका छ जनामा स्क्रब टाइफसको संक्रमण देखापरेको अस्पतालले जनाएको छ । गम्भीर अवस्थामा भर्ना भएका सवै बिरामीलाई भेन्टिेलटरमा राखेर उपचार गरिएकोमा तीमध्ये दुई जना उपचारपछि घर फर्किएको र अन्यको उपचार भइरहेको छ।

रोगका कारण गत वर्ष कैलालीमा १ सय ५२ जना संक्रमित भएकामा चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । मुमामा हुने किर्नामा सो रोगको किटाणु हुने र उक्त किर्नाले मानिसलाई टोकेमा स्क्रब टाइफसको संक्रमण हुने चिकित्सक बताउँछन् ।

किर्नाले टोकेको ठाउँमा घाउ हुनु, शरीरमा बिमिरा देखिनु, टाउको दुख्नु, अत्यधिक ज्वरो आउनु र शरीरका विभिन्न भाग दुख्नु रोगका लक्षण हुन् । समयमै स्वस्थ्य परीक्षण गरी उपचार गरेमा रोग निको हुने भएकाले रोगको शंका लाग्नासाथ अस्पताल जान स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

स्क्रब टाइफसको समयमै उपयुक्त उपचार हुन नसकेमा त्यसले सुन्ने क्षमता गुम्ने, निम्न रक्तचाप, मिर्गौलामा समस्या देखिने, निमोनिया, छारे रोग जस्ता समस्या पनि देखिन सक्ने बताइएको छ । समयमै उपचार नगरेमा यसले मस्तिष्क, कलेजो र फोक्सोमा संक्रमण गरी मृत्युसमेत हुन सक्ने सेती अञ्चल अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा शेरवहादुर कमरले बताए । मनसुनका समयमा यो रोगको संक्रमण बढी देखिने गर्छ । हाल सेती अञ्चल अस्पतालमा दिनमा दुई जनासम्म सो रोगका बिरामी आउने गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्