Logo
|
Saturday 27th April 2024
Logo

epaper

२५ सर्पदंशका बिरामीको उपचार



पछिल्लो साता महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा सर्पदंशका घटना बढेपछि उपचार प्रबन्धबारे स्थिति बुझ्न केन्द्रीय टोली यहाँ आएको छ ।

गत साउन १५ देखि १९ गतेसम्म तीन जनाको सर्पदंशले मृत्यु भएपछि स्वास्थ्य विभाग, रोग नियन्त्रण महाशाखाको टोली सर्पदंश उपचार केन्द्र बर्दिवासको उपचार प्रबन्ध अवलोकन गर्न आएको हो ।

केन्द्रको अवलोकन गरेको टोलीले खासगरी सर्पदंश घटनामा आवश्यक पर्ने दक्ष जनशक्ति र साधनको कमी भएको औँल्याएको छ । सर्पदंश उपचार पद्धतिका विज्ञसहितको अनुगमनबाट केन्द्रमा विज्ञ मेडिकल अधिकृत, प्रोटेवल भ्यान्टिलेटर र एम्बुलेन्स रसक्सन मेसिन नहुँदा मानवीय क्षति बढेको निष्कर्ष निकालिएको टोली संयोजक रोग नियन्त्रण महाशाखाका अधिकृत अभिनाशप्रसाद सिंहले जानकारी दिनुभयो ।

केन्द्रको उपचार प्रबन्धबारे अवलोकन गरेपछि आज केन्द्र परिसरमै आयोजित अन्तक्र्रियामा केन्द्रमा उपचार सेवामा नेपाली सेनाका प्राविधिक रहे पनि बिरामीको अन्य अवस्थाको जाँच गर्ने अवस्था नभएको टोलीले औँल्याएको छ । केन्द्रमा प्रोटेवल भ्यान्टिलेटर नहुँदा गम्भीर प्रकृतिका बिरामीको उपचारमा जटिलता देखिएको टोली संयोजक सिंहले बताउनुभयो ।

टोलीको अनुगमनले औँल्याएका विषयमा उपचार केन्द्रको सञ्चालक समितिले आवश्यक परामर्श र सहयोगका लागि स्वास्थ्य मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ । आज सम्पन्न सर्वपक्षीय बैठकले सञ्चालक समितिमा बर्दिवास अस्पतालका प्रमुख र रेडक्रस बर्दिवास उपशाखाका एक प्रतिनिधिलाई प्रतिनिधित्व गराई समन्वयमा उपचार सेवा प्रवाह गर्ने निर्णय गरेको उपाध्यक्ष सरिता ढुंगानाले जानकारी दिनुभयो ।

केन्द्रमा जारी यसै साउन महिनामा २५ जना सर्पदंशका बिरामीको सफल उपचार गरिएको अभिलेखमा उल्लेख छ । ढिलोगरी उपचार केन्द्रमा ल्याइएका बिरामी धरान पठाइएकामध्ये पाँच जनाको उपचारबाटै जीवनरक्षा भएको सञ्चालक समितिका सचिव गणेश बस्नेतले बताउनुभयो ।

केन्द्र स्थापना भएर सञ्चालनमा आएयताका तीन वर्षभित्र ७०० सर्पदंशका बिरामीलाई उपचार गरी भएर घर फर्काइएको केन्द्रले जनाएको छ । महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती क्षेत्रमा पर्ने बर्दिवास नगर क्षेत्रमा विषालु सर्प, खजुरो, बिच्छीलगायत कीराको बिगबिगी छ । खासगरी गर्मी मौसममा निस्कने यस्ता कीराले टोकेर यस क्षेत्रमा वर्षेनी मानवीय क्षति हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्