Logo
|
Friday 19th April 2024
Logo

epaper

द्वन्द्वपीडितको निःशुल्क उपचार सेवा बन्द



नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालले २०७३ पुसदेखि उपलब्ध गराउँदै आएको सशस्त्र द्वन्द्वका घाइतेको निःशुल्क उपचार तथा मनोपरामर्श सेवा वन्द भएको छ ।

उपचार सेवा बन्द भएपछि उपचार गराउन आएका घाइतेलाई समस्या भएको छ । शान्ति मन्त्रालयले अस्पताललाई उपलब्ध गराउँदै आएको अनुदान २०७४ साउन १ गतेदेखि मन्त्रालयले अख्तियारी नदिएको शान्ति कोष मार्फत जानकारी प्राप्त भएकाले एकवर्ष नपुग्दै सेवा बन्द भएको भेरी अञ्चल अस्पतालको सेवा केन्द्रका इन्चार्ज डा प्रकाश थापाले जानकारी दिनुभयो ।

भेरी अञ्चल अस्पतालले गतबर्ष पुसदेखि सञ्चालन गरेको निःशुल्क उपचार सेवाअन्तर्गत द्वन्द्वपीडितले शरीरमा रहेका गोलीका टुक्रा, छर्रा निकाल्ने, राम्रो उपचार नपाएका कारण हातखुट्टा तथा नशासम्बन्धी समस्या भएका, कृत्रिम खुट्टा जडान गरेका द्वन्द्वपीडितले निःशुल्क उपचार सेवा पाउँदै आएका थिए ।

सशस्त्र द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, अछाम, कालीकोट, दैलेखलगायत पश्चिम नेपालका २४ जिल्लाका बिरामीले सो उपचार सेवा पाउँदै आएका थिए ।

निःशुल्क उपचार सेवा पाउने आशामा अस्पतालमा आएका बिरामी उपचार सेवा बन्द भएपछि समस्यामा परेको अस्पतालका चिकित्सक बताउँछन् । सो अस्पतालले सञ्चालन गरेको निःशुल्क उपचार सेवाअन्तर्गत ४० जना द्वन्द्वपीडित घाइतेको अस्पतालमा भर्ना गरी, १२ जना द्वन्द्वपीडितको शल्यक्रिया गरेर र २१ जनालाई कृत्रिम खुट्टा प्रदान गरेर उपचार सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले उपचार सेवा लिन आउने द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा औषधि उपलब्ध गराउनुका साथै द्वन्द्वपीडित र उनका एक जना कुरुवालाई आउँदा जाँदा लाग्ने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको थियो ।

शान्ति कोषको आर्थिक सहयोगमा २०७३ पुसदेखि शुरु भएको दशवर्षे सशस्त्र द्वन्द्वकालीन दुई हजार ५०० जनाको शल्यक्रिया गरेर उनीहरुको जीवनलाई सहज बनाउने लक्ष्य राखिएको थियो ।

सो कोषका लागि रु सात करोड रकम विनियोजन गरेता पनि हाल रु दुई करोड मात्र खर्च भएको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्