प्रधानमन्त्रीको बालुवाटार बैठकः डा.केसीको अनशन तोडाउने र विधेयक अघि बढाउने
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले डा.गोविन्द केसीको अनशन तोडाउने निष्कर्ष निकालेको छ । स्रोतका अनुसार चिकित्सा शिक्षा विधेयकको विवादमा मध्यमार्गी सहमति जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागीतामा विधेयकको विवाद मिलाउने सहमति भएको छ ।
त्यस्तै दफा १३ मा मध्यमार्गी सहमति जुटेको बताइएको छ । संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलले आशयपत्र पाएका, अनुगमन भैसकेका र कलेजले आवश्यक पूर्वाधार निमार्ण गरेको मेडिकल कलेजलाई सम्वन्धन दिने गरी विधेयक बनाएको छ ।
बैठकमा यसअघि आशयपत्र लिइसकेका मेडिकल कलेजहरुको हकमा विधेयकले तोकेको मापदण्ड पुरा गरेमा सम्वन्धन दिन बाधा हुने छैन भन्ने विषय राख्न सहमति भएको छ भने उपत्यकामा दश वर्षसमम मेडिकल कलेज नखोल्ने विषयमा सहमति भएको स्रोतको भनाई रहेको छ । यदि सहमति भएमा विधेयक पास भएको खण्डमा भने चिकित्सा शिक्षा आयोग बन्नेछ ।
यस्तो अवस्थामा हाल आशय पत्र पाइसकेकाहरुको हकमा त्यो आयोगका साथै स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा भएको र दुई वर्ष अस्पताल सञ्चालन गरेका मेडिकल कलेजले सम्बन्धन पाउनेछन् ।
बालुवाटारमा भएको वार्तामा शिक्षा र स्वास्थ्यमन्त्रीका साथै माओवादी नेता नारायणकाजी श्रेष्ठ,कांग्रेस नेता गगन थापा, महिला बालबालिका समितिका सभापति रञ्जु झा ,केदारभक्त माथेमा, भगवान कोइराला लगायत केही सांसदहरुको उपस्थिति रहेको थियो।
डा.केदारभक्त माथेमा र भगवान कोइराला लगायतले १९ औं दिनदेखि अनशनरत डा.केसीसँग वार्ता गर्ने छन् । वार्ता सफल भएको खण्डमा भने सरकारको अनशन तोडाउने प्रयास फलदायी हुने छ । त्यस्तै संसदीय समितिले भने आजै विधेयक अघि बढाउने सहमति भएको छ ।