Logo
|
Tuesday 21st May 2024
Logo

epaper

बिकट बस्तीमा पाँच सयले सेवा लिए, सयभन्दा बढीले लिए स्वास्थ्य सेवा



बिकट बस्तीमा पाँच सयले सेवा लिए, सयभन्दा बढीले भने स्वास्थ्य सेवा लिए

जिल्ला प्रशासन कार्यालय, नुवाकोटको आयोजनामा मेघाङ गाउँपालिकाको देउरालीमा सञ्चालन भएको दुईदिने एकीकृत घुम्ती सेवा शिविरमा ५०० भन्दा बढी नागरिकले लाभ पाएका छन् ।

शुक्रबार र शनिबार दुईदिन जिल्लाको भौगोलिक र आर्थिक विकासको सूचकांकअनुसार निकै दुर्गम बस्तीमा सञ्चालन भएको शिविरमा जिल्लास्थित आधा दर्जन कार्यालयको सेवा नागरिकको बस्तीबाट प्रवाह गरिएको हो ।

ग्रामीण क्षेत्रका बासिन्दालाई घरदैलोबाट सेवा पु¥याउने लक्ष्यअनुसार शिविरमा जिल्ला प्रशासन कार्यालयसहित पशुसेवा, कृषि विकास, स्वास्थ्य, वन, निर्वाचनलगायतका कार्यालयले प्रवाह गर्ने सेवा उपलब्ध गराइएको थियो ।

शिविरमा १२० जनालाई नयाँ नागरिकता प्रदान, १८६ जनाको फोटोसहितको मतदाता नामावली संकलन, ५२ घरपरिवार किसानलाई कृषिखेती तथा पशुपालन परामर्श, १२३ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण गरिएको प्रजिअ जगदीशराज बरालले जानकारी दिनुभयो ।

शिविरमा मेघाङ गाउँपालिकाभित्र पर्ने किम्ताङ, बुङ्ताङ, देउराली, सामरी र बसुन्चेतका बासिन्दाको सहभागिता रहेको थियो । मेघाङ गाउँपालिका अध्यक्ष आशा तामाङका अनुसार जिल्लाको भौगोलिकरुपमा बिकट, विकास निर्माणमा पछाडि र डाँडापारिको बस्तीका रुपमा चिनिने स्थानमा घरदैलोबाट प्रवाह गरेको सेवाबाट अपांगता भएका, एकल महिला, दलित तथा कमजोर वर्गका नागरिकले नीतिगत समस्याले सेवा पाउनबाट वञ्चित भएकाले प्रत्यक्ष लाभ पाएका छन् ।

यो स्थानसम्म गाडी नपुग्ने भएकाले पाँच घण्टा हिँड्नुपर्छ, यहाँको दुई साविक गाविस बसुञ्चेत र किम्ताङमा मोबाइल र रेडियो सेवाको पहुँच छैन, अधिकाश तामाङ बस्ती भएका किम्ताङ, बसुन्चेत र बुङ्ताङमा ९९ प्रतिशत तामाङ बसोबास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्