Logo
|
Saturday 20th April 2024
Logo

epaper

भरतपुर अस्पताललाई एक करोड नाफा



सरकारको निर्देशनअनुसार फार्मेसी सञ्चालन गरेको भरतपुर अस्पतालले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोडभन्दा बढी नाफा आर्जन गरेको छ ।

गत कात्तिकबाट सञ्चालित सो फार्मेसीले यस अवधिमा रु एक करोड सात लाख ५० हजार आम्दानी गर्न सफल भएको छ । फार्मेसी सञ्चालनका लागि सरकारले रु १५ लाख सहयोग गरेको थियो ।

सरकारले उपलब्ध गराएको रकम चलाउन नपाइने भएपछि उधारोमा औषधि किनेर फार्मेसी चलाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रुद्र मरासिनीले बताउनुभयो । सार्वजनिक खरिद ऐनअनुसार टेण्डरबाट औषधि खरिद गर्दा कतिपय उच्च गुणस्तरका औषधि तथा सामग्री किन्न नसकेको अस्पतालले जनाएको छ ।

अस्पतालको फार्मेसीमा औषधि किन्नेको भीड लाग्ने गरेको छ । अहिले फार्मेसीको काउण्टर थप्ने तयारी गरिएको छ । सरकारको निजी र जनताको सुविधाका लागि अस्पतालले आफँै फार्मेसी सञ्चालन गरेको उहाँको भनाइ छ । सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यसका लागि सहज गराउन खोजिएको हो ।

सरकारी स्वास्थ्य बीमा गराउनेको उपचार भरतपुर अस्पतालमा पनि हुनेछ । उनीहरुको सुविधाका लागि पनि सस्तोमा गुणस्तरीय औषधिको सुविधा हुने अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो ।

यसअघि अस्पतालले फार्मेसी भाडामा लगाउँदै आएको थियो । अस्पताललाई भाडाबाट बढी आम्दानी हुने भए पनि सेवाग्राहीले छुट पाउँदैनथे । फार्मेसी हेर्दै आउनुभएका राजकुमार ढुंगानाका अनुसार अस्पताललाई जति नाफा हुन्छ, त्यति नै औषधि खरिदकर्तालाई छुट दिइएको छ । बजारको भन्दा अस्पतालको फार्मेसीमा सस्तो मूल्यमा औषधि खरिद गर्न सकिन्छ ।

स्वास्थ्य बीमा कार्यक्रमको उपचार सेवा शुरु

सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमको उपचार सेवा जिल्लामा आजबाट शुरु भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको थियो ।

असार मसान्तसम्म बीमा गराएका आठ हजार ३५ घरधुरीका ३२ हजार जनाले आजबाट उपचार सेवा पाउने भएका छन् । बीमाको सेवा वर्षको चारपटक भदौ, मंसिर, फागुन र जेठ १ गतेबाट हुने व्यवस्था गरिएको छ । प्रत्येक तीन महिनाभित्र नाम दर्ता गराएकाको एक महिनापछिबाट सेवा शुरु हुने गर्छ ।

समितिले आज यहाँ पत्रकार सम्मेलन गरी उपचार सेवा पाउने अस्पतालका बारेमा जानकारी गराएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, बकुलहर अस्पताल रत्ननगर, गुञ्जमान सिंह अस्पताल टाँडी, बघौँडा अस्पताल माडी, शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र प्रथम सेवा बिन्दु हुन् भने रिफरल अस्पतालका रुपमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पताल रहेका छन् ।

कार्यक्रममा समितिकी प्रबन्धक सिर्जना पौडेलले बीमा रकमबापत रु दुई करोड १४ लाख ४६ हजार असार मसान्तसम्ममा संकलन भएको जानकारी दिनुभयो । जिल्लामा १३५ जना अभिकर्तामार्फत जिल्लाका ९८ वटा वडामा बीमा गराउने काम भइरहेको छ । पाँच जनासम्मको परिवारलाई वार्षिक रु दुई हजार ५०० र त्योभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ४२५ थप बीमा शुल्क तिर्नुपर्ने व्यवस्था छ ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले बीमा गराउनेको संख्या उल्लेख्यरुपमा वृद्धि भएको भन्दै यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनुभयो । बीमा गरेका परिवारले पाँचजनाको वार्षिकरुपमा रु ५० हजारसम्मको उपचार गर्दा रकम तिर्नु पर्दैन । व्यक्ति थप भएमा प्रतिव्यक्ति रु १० हजारसम्मको बीमा रकम थपिने छ । स्वास्थ्य परीक्षण, प्रयोगशाला, शल्यक्रिया, औषधिलगायत बीमाले समेट्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्