Logo
|
Tuesday 26th November 2024
Logo

epaper

बाढीग्रस्त क्षेत्रमा महामारी फैलिन नदिन के गरिदैछ ? विभागको यस्तो छ भनाइ



स्वास्थ्य सेवा विभागले मातहतका सबै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई तोकिएको स्वास्थ्य संस्थामा अनिवार्य रुपमा उपस्थित भइ स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छ । सो निर्देशन उलंघन गर्नेलाई कारवाही गरिएको विभागको भनाइ छ ।

अविरल वर्षासंगै आएको बाढी पहिरोको समयमा भएको स्वास्थ्य क्षेत्रको व्यवस्थापन र पछि हुनसक्ने स्वास्थ्य समस्याहरुलाई सम्वोधन गर्न स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागबाट भए गरेका प्रयासहरुको अवगत गराउन स्विास्थ्य विभागका उपमहानिर्देशक एवं विपत् व्यवस्थापन संयोजक डा. चुडामणि भण्डारीद्धारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो ।

हालको अवस्था 
मिति २०७४ साउन २६ गते देखि आएको अविरल बर्षाका कारण आएको बाढी र पहिरो बाट ३० वटा जिल्लाहरु ( झापा, मोरगं, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देहि, कपिलवस्तु, दाङ, बाके, बर्दिया, कैलाली, कालिकोट, सुर्खेत, सल्यान, बाग्लुङ, पाल्पा, रसुवा, सिन्धुलि, इलाम, पाँचथर, ललितपुर ) प्रभावित भएका छन् । हालसम्म १३५ जनाको मृत्यु भएको छ भने ३० जना हराइरहेका छन् । त्यसैगरी ४१ जना घाइतेहरुको उपचार भइरहेको छ (श्रोतः गृह मन्त्रालय) ।
मौसममा आएको सुधारसगै विस्थापितहरु घर फर्किने क्रम जारी छ । केहि विस्थापितहरु विभिन्न स्थानहरु (विद्यालय, पक्की सडकको किनारा, आफन्तहरुको) मा आश्रय लिइरहेका छन् । यस्तो अवस्थामा हालको स्वास्थ्य समस्या सामाधान गर्न तथा विभिन्न सरुवा रोगहरुको प्रकोप हुनसक्ने संभावनालाई ख्याल गरि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले विभिन्न साझेदार संस्था एवम् स्थानीय तहको संयोजनमा नियमित स्वास्थ्य सेवा संचालन सुचारु हुने व्यवस्था मिलाउनुको साथै महामारी रोकथामका उपायहरु अवलम्बन गर्दे आएको छ ।

हालको स्वास्थ्य क्षेत्रको अवस्था
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले मातहतका सबै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई तोकिएको स्वास्थ्य संस्थामा अनिवार्य रुपमा उपस्थित भइ स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छ । सो निर्देशन उलघंन गर्नेलाई कारवाहिको प्रकृया समेत गरिएको छ । त्यसैगरी कम जनशक्ति भएको ठाउँमा अन्य ठाउँबाट उचित व्यवस्था गरिएको छ । सबै जिल्ला, क्षेत्र र केन्द्रका रेपिड रिस्पोन्स टिमहरु परिचालन गरिएको छ । थप आवश्यकता परिपुर्ति गर्न संघ संस्थाहरु, निजि अस्पतालहरु, मेडिकल कलेजहरु सगँ समन्वयन गरि जनशक्ति परिचालन गरिएको छ । यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयमा एचईओसी तथा विभाग स्तरमा महानिर्देशकको अध्यक्षतामा डिजास्टर हेल्थ वर्किङ कमिटी डिजास्तर हेल्थ तथा हालै मात्र उपमहानिर्देशकको अध्यक्षतामा डिजास्तर म्यानेज्मेन्ट कमिटी गठन भई कार्यान्वयन भइरहेको छ । साथै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको अध्यक्षतामा रेपिड रिस्पोन्स टिम र मातहतका समितिहरु परिचालनमा छन् । त्यसैगरी हेल्थ एण्ड न्युट्रेसन क्लस्टरको नेतृत्वमा आवश्यक कार्यहरु सम्पादन भएका छन । त्यस्तै वास क्लस्टर सँगको समन्वयमा पानी र पानीको शुद्धिकरण तर्फ संयुक्त कार्य भइरहेको छ । विपदमा डिडिआरसीको भुमिका उल्लेखनीय रहेको छ र सो को लागि मन्त्रालयले पहल तथा अनुरोध समेत गरेको छ । हाल सम्म केन्द्रिय स्तरमा एचईओसी तथा डिएमसी समेत गरी २२ जना, क्षेत्रीय स्तरमा ३८ जना तथा जिल्ला स्तरबाट ९४६ जना, नीजि स्तरबाट ४५० जना प्रत्यक्ष रुपमा खटि ब्ययवस्थापन गर्ने कार्य भइरहेको छ । यसै क्रममा सुरक्षा निकाय (नेपाली सेना तथा प्रहरी) बाट समेत स्वास्थ्य क्षेत्रको लागि भएको सहयोग उल्लेखनिय छ ।

जनचेतना सम्बन्धि जानकारी
बाढी पश्चात पानीजन्य सरुवा रोगहरु (हैजा, झाडापखाला, आउँ रगत, टाइफाइड, हेपाटाइटिस ए र इ) लगायतको रोगहरुको प्रकोप हुनसक्छ । त्यसै गरी किटजन्य रोगहरु (मलेरिया, डेंगे, कालाजार, जापनिज इन्सेफलाइटिस आदी) अन्य रोगहरु जस्तैः मौसमी रुघाखोकी, लेप्टोस्पाइरोसिस, छालाजन्य रोगहरु समेत बढ्न सक्ने संभावनालाई ख्याल गरी विभिन्न संचार माध्यम मार्फत निम्न सन्देशहरु प्रचार प्रसार गरिएको छ । जस्तैः पानी जन्य रोगहरुबाट बच्ने उपायहरु, सर्पको डसाईबाट बच्ने उपायहरु, मृत पशुपन्छीबाट हुने रोगहरुबाट बच्ने उपायहरु किटजन्य रोगबात बच्ने उपायहरु ।

खानेपानी र सरसफाई
खानेपानी तथा सरसफाई कार्यालय र अन्य संघसंस्थाहरुसँग समन्वय गरी पानी शुद्धिकरण गर्ने, चर्पीको आवश्यक ब्यबवस्था मिलाउन आवश्यक समन्वय गरिएको छ । पानी शुद्धिकरण गर्नको लागि आवश्यक पर्ने क्लोरीन ट्यावलेट तथा पियुषको ब्यवस्था मिलाईएको छ । शुद्ध खानेपानी तथा शुद्ध खाना खानुपर्ने सम्बन्धि सुचना विभिन्न संचार माध्यमबाट प्रसारण गरिएको छ । यो कार्यमा सबै क्षेत्रबाट थप सुचना प्रवाह गरिदिन हुन अनुरोध छ। स्थानिय स्तरमा ब्यक्तिगत स्वास्थ्य शिक्षा तथा माइकिंग प्रभावकारी हुन सक्ने देखिएकोले सो को लागि समेत अनुरोध छ ।

स्वास्थ्य शिविर तथा औषधि व्यवस्थापन
विपद व्यवस्थापनलाई मध्यनजर राखि आवश्यक औषधिहरु जिल्ला स्टोर, क्षेत्रीय मेडिकल स्टोर र केन्द्रिय स्टोरमा मौज्दात राखिएको छ । स्थानिय तहमा थप औषधी आवश्यक परेमा क्षेत्रीय मेडिकल स्टोर र केन्द्रिय स्टोरबाट आपुर्ति व्यवस्था मिलाईएको छ । त्यसैगरी स्थानिय तहमा (गाउँपालिका तथा नगरपालिकाहरु) औषधि खरिद गर्न आवश्यक बजेटको समेत व्यवस्था गरिएको छ । बाढी पहिरोबाट विस्थापितलाई दृष्टिगत गरि सरकारी तवरबाट संचालित मेडिकल क्याम्पहरुमा नेपाल सरकारले औषधिको व्यवस्था गरेको छ ।

गैर सरकारी तथा निजि तहबाट संचालन गरिने मेडिकल क्याम्पहरुमा आवश्यक औषधी तथा उपकरणहरु हालको अवस्थामा सरकारि स्तरबाट उपलब्ध गराउन नसकिने भएकोले मेडिकल क्याम्प संचालकहरु स्वयंले व्यवस्था गर्नुपर्ने छ । यस्तो विपदमा सहयोग गर्नु निजि संघ सस्थाहरुको सामाजिक उत्तरदायित्व पनि हो । यस कार्यमा सहयोग गर्नु हुने सबै गैर सरकारी तथा निजि संघ सस्थाहरु धन्यवादका पात्र हुनुहुन्छ । उक्त मेडिकल क्याम्पहरुमा रोगीहरुको पहिचान गरि स्वास्थ्य कर्मि वा चिकित्सको सल्लाह बमोजिम मात्र औषधि दिने कार्य गरिएको छ । स्मरण रहोस, मेडिकल क्याम्प औषधी वितरण गर्ने शिविर होइन । अहिलेको आवश्यकता स्वास्थ्य चेतना, शुद्ध खानेपानी र स्वस्थ खानाको ब्यवस्थापन मुख्य विषयवस्तु हो ।

औषधी सम्बन्धमा स्थानिय तहमा निःशुल्क कार्यक्रमको लागि १ लाख पचास हजार देखि ५ लाख सम्म औषधी खरीदमा रकम व्यवस्थापन भएको, जिल्लास्तर तथा क्षेत्रिय स्तर सम्म तत्काल औषधि खरीदमा रकम विनियोजन भएकोले नियमानुसार तत्काल ५ लाख भित्र खरीद गरि ब्यवस्थापन गर्न सक्नुका साथै स्वास्थ्य सेवा विभागबाट मौज्दात तथा तत्काल खरीद गरी सम्बन्धित ठाउँमा पुर्याउने ब्यवस्था भइरहेको, अघिल्लो वर्षको खरीदको प्राप्त भइरहेको औषधी तथा थप आवश्यक भएमा अन्य संघसंस्थाको समेत सहयोग लिने गरी ब्यवस्थापन गरिएको छ । साथै इडिसिडी बाट तत्काल महामारीको ब्यवस्थापनमा जिल्ला (जन) स्वास्थ्य कार्यालय मार्फत खर्च गर्न सकिने ब्यवस्था भएकाले सो को स्थानिय स्तरमा ब्यवस्थापन गर्न हुन र स्वास्थ्य मन्त्रालय तथा प्रधानमन्त्रि राहत कोष लगायत विभिन्न श्रोतबाट रकम प्राप्त भएपछि तत्काल जानकारी गराइने हुँदा स्थानिय स्तरमा समेत सबै ब्यहोरा जानकारी गराइ ब्यवस्थापन गर्न हुन समेत अनुरोध छ ।

 मृत पशुपन्छीको व्यवस्थापन
जिल्ला दैवि प्रकोप उद्धार समितिले तोकेको संस्थाले मृत पशुपन्छीको व्यवस्थापन गरिरहेको छ । त्यसैगरि मृत पशुपन्छीको मासुको बेच विखनलाई नियन्त्रण गर्न आवश्यक निगरानी गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग मातहतका स्वास्थ्य संस्थाहरु र सरोकारवालाहरुसँग निरन्तर सम्र्पकमा रहि नियमित स्वास्थ्य सेवा सुचारु गरिरहेको छ । त्यसैगरी महामारी हुन नदिन प्रभावित जिल्लाहरुमा नियमित निगरानि गरिरहेको छ । हालसम्म ज्वरो तथा झाडापखलाका केहि बिरामिहरु देखिएता पनि महामारीको अवस्था नरहेको अवगत गराउछौ । विगतका दिनहरुमा महामारीको सहि सुचना समयमै उपलब्ध गराई हामीलाई महामारी नियन्त्रणमा सहयोग पु¥याउनु हुने सम्पुर्ण संचारकर्मीहरुलाई हार्दिक धन्यवाद दिदै यस विपदको घडिमा समेत सहयोग गर्न हुन हार्दिक अनुरोध छ । सबै मिली विपदको सहि व्यवस्थापन गरौ ।

आगामी योजना
-तेश्रो टोली परिचालन गर्ने, आवश्यकता अनुसार थप जनशक्ति परिचालन गर्ने
-अति आवश्यक क्षेत्रहरुमा चेतनामूलक कार्य, स्वास्थ्य सेवा तथा अभियान — खानेपानी तथा फोहोर व्यबस्थापन गर्ने
– इपिडिमिलोजिकल सर्भिलेन्स संचालन गर्ने
– औषधीको व्यवस्थापन, स्थानियस्तर, जिल्ला, क्षेत्र, केन्द्र तथा सहयोगी संस्था बाट गर्ने गराउने
-स्वास्थ्य सेवा अन्तरगतका सबै कार्यक्रमहरु सुचारु गर्ने
– माहामारी पूर्व तयारी योजना तथा रेस्पोन्स तुरुन्त गर्ने
– अभिलेख व्यवस्थापन गर्ने
– आम संचारमा सूचना सम्प्रेषण गर्ने
– नियमीत सूचना सम्प्रेषण गर्ने
– अनुगमन तथा व्यवस्थापन गर्ने
– डिडिआरसीको समन्वयमा अन्य कार्यहरु गर्ने

प्रतिक्रिया दिनुहोस्