त्यो बेलाका छोटे डाक्टर !
म सानो छँदा
फिल्म निर्माता, गीतकार तथा साहित्यकार उहाँका थप परिचय हुन् । उहाँ नेपालको पहिलो पुरुष स्त्री तथा प्रशुति रोग विशेषज्ञ हुनुहुन्छ । उहाँले नेपालमा टेस्ट ट्युब बेबी भित्र्याउनेलगायत थुप्रै उल्लेखनीय काम गर्नुभएको छ । हामीले उनै डाक्टरको बाल्यकाललाई समेटेका छौं…
बि.सं.२०१४ सालमा इटहरीको ट्यांग्रे खोला दक्षिणतिर सातामा दुई दिन हाट लाग्थ्यो । हाटमा खरका छाना लगाइएका छाप्रा थिए । हाटमा एकदिन ठूलो आगलागी भयो । थुप्रै मानिस घाइते भए । मानिसहरु पोलेको घाउमा पानी छम्किरहेका थिए ।
त्यतिबेला औषधि पसल हुँदैनथे । गाउँकै किराना पसलमा प्राथमिक उपचारका औषधि बेचिन्थे । बिराटनगरको ललिता मिलसँगै एउटा पसल थियो ।
त्यहि पसलबाट १० वर्षे एक बालक डिटोल, शिवाजलको गोटी र मल्हम, बर्नल, एनासिन, एस्प्रो ट्याब्लेट, बेरालगन लगायतका औषधि बोकेर पुगे । घाइतेका घाउमा लगाइदिए । घाइतेहरुले राहत महसुस गरे । बिस्तारै गाउँमा ती बालकको चर्चा हुन थाल्यो । पुरै गाउँलेले उहाँलाई ‘छोटे डाक्टर’ भनेर बोलान थाले । अहिलेका चर्चित स्त्री रोग तथा प्रशुति रोग विशेषज्ञ डा. भोला रिजाल नै त्यो बेलाका छोटे डाक्टर हुनुहुन्थ्यो ।
गाउँको छोटे डाक्टर बन्ने बेलासम्म उहाँले अनौपचारिक शिक्षा मात्रै लिनुभएको थियो । त्यो समय हुनेखानेले घरमै भारतबाट शिक्षक झिकाउँथे । उहाँका हजुरबुवा ध्रुबलाल रिजालले पनि निर्भयनारायण झा नामका शिक्षक इण्डियाबाटै झिकाउनुभएको थियो । डा. रिजालले घरमै ५ कक्षासम्मको कोर्षबुक पढ्नुभयो ।
त्यसपछि उहाँ औपचारिक स्कुल अध्ययनका लागि धरान जानुभयो । स्कुल भर्ना हुने दिन उहाँले भन्नुभएको थियो—‘म डाक्टरी पढ्न आएको हुँ ।’ उहाँको कुराले शिक्षकहरुलाई चकित पारेको थियो । कक्षा ५ मा भर्ना भएकै दिन कोर्षबुक देखाउँदै रिजालले भन्नुभयो—‘यो त मैले सबै पढिसकें ।’ त्यसपछि उहाँलाई कक्षा ६ मा भर्ना गरियो । कक्षा ९ सम्मको अध्ययन उहाँले धरानमै गर्नुभयो । थप अध्ययनका लागि उहाँ बिराटनगर आउनुभयो ।
बिराटनगर पढाइको पनि उहाँसँग छुट्टै सम्झना छ । बि.सं.२०१७ सालको अन्त्यतिरको कुरा हो, गाउँभरी भूकम्पको हल्ला फैलियो । भूकम्पले सबै तहसनहस बनाउने हल्लाले सबैतिर त्रास फैलिएको थियो । उहाँका ८ जना बुवाका दाजुभाइ धरान, बिराटनगर र इटहरीमा छरिएर बसेका थिए । भूकम्पमा केही भए सँगै भोग्ने भन्दै उहाँका हजुरबुवाले सबैलाई बिराटनगरमै भेला हुन आदेश दिनुभयो । त्यहि वर्ष सगोलमा रहेका छोराहरुको अंशबण्डा भयो । उहाँका बुवाको अंश बिराटनगरमा प¥यो । बुवाहरुको अंशबण्डासँगै रिजालले धरान छोड्नुभयो । बिराटनगरको आदर्श विद्यालयमा भर्ना हुनुभयो । उहाँले त्यहिँबाट एसएलसी पास गर्नुभयो ।
उहाँ सानैबाट अत्यन्तै सक्रिय हुनुहुन्थ्यो । सामाजिक र खेलकुद गतिविधिमा विशेष रुचि राख्ने रिजाल हुनेखाने परिवारमा जन्मिएकाले उहाँको बाल्यकाल सुखसयलमै बित्यो । आफू सुखमा भएपनि उहाँमा अरुको बढी चिन्ता गर्ने स्वभाव थियो । आफ्नो वरपरका कोही समस्यामा परे भने सेवा गर्न उहाँलाई पुगिहाल्नुपथ्र्यो । उहाँका बुवा गीत, कविता लेख्नु हुन्थ्यो । हजुरबुवा त्यो जमानाका नाम चलेका कवि हुनुहुन्थ्यो । बुवा र हजुरबुवाको प्रभावले उहाँ पनि सानैबाट साहित्य सिर्जना गर्नुहुन्थ्यो ।
स्कुल जीवनमै उहाँ विभिन्न सांगठानिक गतिविधिमा सक्रिय हुनुहुन्थ्यो । उहाँले यादव सापकोटा, माधव सापकोटालगायतसँग मिलेर हिमकला मन्दिर नामको सांस्कृतिक संस्था सुरु गर्नुभयो । यो समूहबाट उहाँहरू इन्डियासम्म पुगेर सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्नुहुन्थ्यो ।
उहाँ सानैबाट असाध्यै शान्त स्वभावको हुनुहुन्थ्यो । भन्नुहुन्छ—‘मलाई आफूले गरेको त्यस्तो बदमासी थाहा छैन ।’ अन्य केटाकेटी भन्दा शान्त देखेर हजुरबुवाले उहाँको नाम भोला राखिदिनुभएको थियो ।
बाल्यकालको अविष्मरणीय घटनासँगै जोडिएर आउँछ डा.रिजालको विवाह । डा. रिजाल १५ वर्षको हुँदा १२ वर्षीया सरला घिमिरेसँग विवाह भयो । उहाँ हजुरबुबाका प्रीय नाति हुनुहुन्थ्यो । हजुरबुबा काशी जाने योजनामा हुनुहुन्थ्यो । काशी जानुअघि नातिको विवाह हेर्ने चाहना थियो । कक्षा १० मा पढ्दापढ्दै रिजालको घरमा विवाहको कुरा चल्न थाल्यो ।
आफन्तहरुले धरान, नयाँबजारकी सरला घिमिरेसँग विवाह गरिदिने निर्णय गर्नुभयो । सरलाका दाजुहरु उहाँका क्लासमेट थिए । तर सरलालाई भने उहाँले देख्नुभएको थिएन । सरलासँग विवाह गर्ने तय भएपछि आफन्तहरुले उहाँलाई केटी हेर्न प्रस्ताव गरेका थिए । विवाह नै पक्का भइसकेपछि आएको प्रस्तावमा उहाँले भन्दिनुभयो—‘विवाह नै टुङ्गो लागिसक्यो अब किन केटी हेर्ने ? अब एकै पटक बिहेमै हेरौंला ।’—उहाँले मनमनै सोच्नुभयो, ‘केटी मन परेन भने त्यहिबाट भाग्छु ।’ यसरी उहाँको विवाह २०१९ साल असार ४ गते भयो ।
बिवाहपछि हजुरबुबासँगै रिजाल आइएस्सी पढ्न बनारस जानुभयो । श्रीमतीले पढ्नुपर्छ भनेर ढाडस दिएकै कारण पढ्न गएको उहाँ सुनाउनुहुन्छ । ‘सरलाले मलाई पढ्नुपर्छ भन्थिन्’—उहाँ भन्नुहुन्छ—सानै भए पनि उनी मलाई पढाइमा फोकस हुन प्रेरित गर्थिन् ।’ श्रीमतीको प्रेरणाबाट डाक्टर पढ्न जानुभएका रिजाल श्रीमतीकै प्रसव पीडा देखेर स्त्री रोग विशेषज्ञ बन्नुभएको हो ।
उहाँको जन्म धरानको पुरानो बजारमा भएको हो । उहाँ २००४ साल कार्तिक १४ गते जन्मनु भएको हो । उहाँका पिता जननीप्रसाद रिजाल र माता पूर्णमाया रिजाल हुनुहुन्छ । उहाँ परिवारको साइलो सन्तान हुनुहुन्छ । उहाँको परिवार धनकुटाको सिबुवाबाट धरान सरेको थियो । १९९० को दशकमा त्यहाँ पानीको हाहाकार थियो । उहाँको परिवार पानीको खोजीमा धरान झरेको थियो । पछि खेतीयोग्य जमिनको खोजीमा इटहरी र बिराटनगर सर्यो ।
धरानमा उहाँको परिवार सर्दा त्यहाँको बस्ती निकै पातलो थियो । धरान–बिराटनगर सडक बाहेक विकासका नाममा अन्य संरचना थिएनन् । रिजाल परिवारले ‘ललिता मिल’ स्थापना गरेको थियो । जिएमसी ट्रक किन्यो र दाल, चामल, तेल लगायतका खाद्यान्य धरान, इटहरी लगायतका ठाउँमा ढुवानी गर्न थाल्यो । त्यो समयको जिएमसी ट्रक आज पनि डा. रिजालको आँखामा दौडिरहन्छ । भन्नुहुन्छ, ‘हर्कबहादुर गुरुङले चलाउने त्यो ट्रकको नम्बर १३७ हो ।’
बाल्यकालीन सेवाभावले डाक्टर बन्नुभएका डा. रिजाल जागिरको सिलसिलामा सप्तरीमा हुनुहुन्थ्यो । उहाँको श्रीमतीको गर्भमा तेस्रो सन्तान थियो । तर, श्रीमतीले बच्चा जन्माउन सक्नुभएन । अपरेसन गर्नुपर्ने थियो । त्यहाँ अपरेसन गर्ने डाक्टर भए पनि एनेस्थेसिया (बेहोस गराउने औषधि) दिने कोही थिएनन् । त्यतिबेलाका अञ्चलाधीश महेशकुमार उपाध्यायको गाडी मागेर रातको १२ बजे श्रीमतीलाई बिराटनगर पुर्याउनुपर्यो । बच्चा जन्मिए पनि श्रीमतीलाई ठीक हुन धेरै समय लाग्यो । यो घटनापछि उहाँमा स्त्री रोग विशेषज्ञ बन्ने हुटहुटी सुरु भयो । त्यसपछि उहाँ ढाकास्थित आईपीजीएमआर (अहिले बंगबन्धु शेख मजिव मेडिकल हस्पिटल) मा गाइनोकोलोजीमा पोस्ट ग्रयाजुएट गर्न जानुभयो । र, स्त्री रोग विशेषज्ञ भएर फर्किनुभयो ।