मुटुका लोकप्रीय डाक्टर

डा. मन बहादुर के.सी. नेपालका दोस्रो पुस्ताका चर्चित मुटु रोग विशेषज्ञ हुनुहुन्छ । मुटु रोग विशेषज्ञको रुपमा डा. के.सी. ले २७ वर्षभन्दा बढीको अवधिमा हजारौं मानिसलाई सेवा प्रदान गरिसक्नुभएको छ । हाम्रो देशको मुटुुरोगको उपचार र रोकथाममा डा. के.सी. को अतुलनीय योगदान रहेको छ । त्यसमध्ये शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विकास र विस्तारमा उहाँको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ । केन्द्रमा करिब २१ वर्षको सेवा अवधिमा उहाँले १३ वर्षसम्म निरन्तर रुपमा कार्डियालोजीको विभागीय प्रमुखको भूमिका अत्यन्त प्रभावकारी रुपमा निर्वाह गर्नुभयो । साथै सोही केन्द्रमा ४ वर्षभन्दा बढी कार्यकारी निर्देशकको भूमिका सफलतापूर्वक सम्पन्न गर्नुभयो । त्यसको अतिरिक्त कार्डियोलोजीमा तुलनात्मक रुपमा कठिन मानिने ‘इन्टरभेन्सनल कार्डियाक इलेक्ट्रोफिजियोलोजी’ सेवाको नेपालमा सफलतापूर्वक शुरुवात् गर्नुभयो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो डाक्टरको रुपमा केन्द्रमा प्रवेश गरेका डा. के.सी.का संघर्षका आफ्नै कथा र व्यथा छन् । यस अंकमा हामीले नेपालको दुर्गम स्थानमा रहेको एउटा सरकारी विद्यालयमा पढेको सामान्य किसान परिवारको छोरा कसरी मुटुको लोकप्रीय डाक्टर बन्न सफल भयो भन्ने आम पाठकको जिज्ञासा मेटाउने प्रयास गरेका छौं ।
पारिवारिक परिवेश
पिता स्व. पूर्ण बहादुर के.सी. तथा माता स्व. देउरुपा के.सी.को १० सन्तानमध्ये छैटौं सन्तानको रुपमा जन्मेका डा. के.सी. परिवारको जेठा छोरा हुनुहुन्छ । साथै त्यस परिवारमा एस.एल.सी. उत्तीर्ण हुने पहिलो व्यक्ति ।
पूर्णत निम्न मध्यम परिवारमा जन्मेका डा. के.सी. शुरुवाती स्कूले जीवनदेखि त्यो क्षेत्रमा अत्यन्तै मेधावी विद्यार्थीको रुपमा चिनिनुहुन्थ्यो ।
दुर्गम पहाडमा परिवारको लालनपालन गर्न जग्गा जमिन पर्याप्त मात्रामा भएपनि, काठमाडौंमा कलेज पढ्ने खर्चको व्यवस्था गर्न केही कठिन हुने भनाइ उहाँको पिताजीको थियो । तर आमाको जोडवल तथा आफन्त र शुभचिन्तकको ढाडसले डा. के.सी. बि.सं.२०४१ सालमा कलेज अध्ययनका लागि त्रिचन्द्र कलेजमा भर्ना हुनुभयो ।

कठिन तथा संघर्षपूर्ण स्कूले जीवन
सात कक्षासम्मको अध्ययन आफू जन्मेको ठाउँ, बाग्लुङ्ग जिल्ला सल्यान गा.बि.स. ( हाल बरेङ्ग गाउँपालिका वडा नं.४) बाट सम्पन्न गर्नुभयो । त्यसबेला आफ्नो गाउँमा निम्न माध्यमिक विद्यालय (नि.मा.बि.) स्तरसम्मको मात्र पढाइ हुने भएकाले हाईस्कूल शिक्षा अध्ययनका लागि डा.के.सी. गाउँदेखि सबैभन्दा नजिक रहेको गुल्मी जिल्लाको शान्तिपुर गा.बि.स.(हाल चन्द्रकोटा गाउँपालिका) स्थित श्री उदय माध्यमिक विद्यालयमा भर्ना हुनुभयो ।
हाईस्कुल अध्ययन गर्दा उहाँले आतेजाते करिब ३ घण्टा पैदल यात्रा गर्नुपर्दथ्यो । बिहान ७ बजे घरबाट निस्केर बेलुका ७ बजे घर फर्किने उहाँको दैनिक कार्य पूरा ३ वर्ष चल्यो ।
बि.सं.२०४० सालको एस.एल.सी. परीक्षामा गुल्मी जिल्लामा सर्बोत्कृष्ठ अंकसहित प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि, जीव विज्ञान समूहमा आई.एस्सी. अध्ययन गर्न त्रि—चन्द्र क्याम्पसमा भर्ना हुनुभयो ।
उतारचढावपूर्ण कलेज जीवन
दुर्गम जिल्लाको सरकारी विद्यालयबाट एसएलसी गरेका उहाँलाई त्रि—चन्द्र कलेजको शुरुवाती अध्ययन केही कठिन भयो । त्यसको खास कारणचाँही इङ्गलिसमा पढाउने कक्षामा उहाँलाई लेक्चर सुन्ने र नोट उतार्ने बानी थिएन ।
एक समय त उहाँलाई यस्तो सम्म महसुस भयो कि सायद पार लगाउन कठिन छ । तथापी आफ्नो अध्ययनमा अत्यन्तै लगाव भएका उहाँले हिम्मत हार्न दिनुभएन । साथै हरेस खानुभएन । तै पनि उहाँलाई आफ्नो पढाई इङ्गलिस माध्यमले गर्दा प्रभावकारी नभएको अनुभव चाँही भइनै रह्यो । यत्तिकैमा केही महिनापछि आन्तरिक मूल्याङ्कन परीक्षा भयो, त्यसको केही अंक फाइनल परिणाममा जोडिन्थ्यो र त्यस जाँचमा उहाँ कक्षामा उत्कृष्ठ परिणाम ल्याउने विद्यार्थीमध्ये एक हुनुभयो ।
यसले उहाँको आत्मबल निकै बढायो । त्यसपछि प्रथम वर्षको अन्तिम परीक्षा भयो, उहाँ उत्कृष्ठ अंकसहित पहिलो वर्षमा प्रथम श्रेणीमा पास हुनुभयो र दोस्रो वर्षमा त त्यस ब्याचको आई.एस्सीमा सर्बोत्कृष्ठ अंकसहित दोस्रो वर्ष पनि उत्तीर्ण गर्नुभयो । आईएस्सी अध्ययन रहँदा उहाँको जीवनमा केही उतारचढावको सामना गर्नुप¥यो । कारण त्यतिबेला देशमा प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनहरु निकै जोडबलका साथ चलिरहेका थिए । त्यसमा विद्यार्थीहरु आन्दोलनको अग्रपंक्तिमा थिए । उहाँ त्यो आन्दोलनमा अत्यन्तै सक्रिय व्यक्ति हुनुहुन्थ्यो । त्यस समयमा उहाँ निकैपटक गिरफ्तार हुनुभएको थियो र कतिपय परीक्षाहरु पुलिस कस्टडीबाट गएर दिनुभएको थियो ।

मेडिकल अध्ययन
आई.एस्सी उत्तीर्ण भएपछि नेपाल सरकारको छात्रवृत्तिमा चिकित्सा शास्त्र अध्ययनका लागि बि.सं.२०४५ सालमा उहाँ चीन जानुभयो । बि.सं.२०५१ सालमा चीनको उहान शहरस्थित हुपेइ मेडिकल युनिभर्सिटी (हाल उहान युनिभर्सिटी, स्कूल अफ मेडिसिन) बाट उत्कृष्ठ अंकसहित एम.बी.बी.एस. उत्तीर्ण गर्नुभयो । एम.बी.बी.एस. परीक्षाफलको आधारमा उहाँले चीन सरकारबाट प्रदान गरिने एक्सलेन्ट फरेन स्टुडेन्ट स्कलरसिप प्राप्त गर्नुभयो र सोही विश्वविद्यालमा मुटुरोगमा स्नातकोत्तर तहको अध्ययन शुरु गर्नुभयो । बि.सं.२०५४ सालमा उत्कृष्ठ अंकसहित कार्डियोलोजीमा एम.डी. उपाधि हाँसिल गर्नुभयो । प्रारम्भमा चीनमा अध्ययन गर्न जान त्यति उत्साहित नदेखिएका डा. के.सी.लाई चीनको अध्ययनले प्रत्यक्ष रुपमा केही फाइदाहरु पुर्यायो । पहिलो, उहाँसँग चिकित्साशास्त्र अध्ययन गर्ने अन्य देशमा गएका साथीहरु अझैसम्म एम.बी.बी.एस. सकेका थिएनन् भने डा. के.सी.ले एमडी सकिसक्नुभएको थियो । दोस्रो, तत्कालीन समयमा इन्टरभेन्सनल कार्डियाक इलेक्ट्रोफिजियोलोजीको अभ्यास संसारभर भर्खर मात्र शुरु भएको थियो । यो प्रविधिले उपचार गर्ने रोगहरु निको हुने हुँदा यो विधि अत्यन्तै प्रभावकारी थियो । तर यो भर्खरमात्र प्रयोगमा आएको हुँदा संयुक्त राज्य अमेरिका, युरोप र एशियाका केही सिमित देशहरुमा मात्र सिमित थियो, जसमध्ये चीन पनि सिमित देशमध्ये एक थियो । चीन यो उपचार पद्धतीमा करिब करिब अमेरिकाकै हाराहारीमा थियो । त्यसबेलासम्म हाम्रो छिमेकी भारतमा त शुरु नै भएको थिएन । चीनभित्र पनि, यो प्रविधिमा डा. के.सी. अध्ययनरत विश्वविद्यालय चीनभित्र अग्रपंक्तिमा थियो । त्यस कारण यो प्रविधि सिक्ने सुनौलो मौका डा. के.सी. ले पाउनुभयो । यो प्रविधिमा पारंगत चिकित्सकहरु हाल नेपालमा धेरैजना नभएपनि उपचारको मामलामा हामी दक्षिण एसियाका देशहरुमा राम्रै स्थानमा छौं, जुन कुरा डा. के.सी. कै भनाइमा एक गर्वलायक उपलब्धी हो ।
गंगालाल र डा. के.सी.
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो चिकित्सकको रुपमा प्रवेश गर्नुभएका डा. के.सी.ले सो केन्द्रको विकास र बिस्तारमा गरेको योगदान अतुलनीय मानिन्छ । बि.सं.२०५५ भाद्रमा तत्कालीन कार्यकारी निर्देशक डा. सम्पूर्णानन्द ढुंगानाको अनुरोधमा सो केन्द्रको सेवामा जोडिनुभएका डा. के.सी. आरम्भदेखि २०६८ सम्म केन्द्रको कार्डियोलोजी विभागको प्रमुख बन्नुभयो ।
२०६८ वैशाखदेखि २०७२ श्रावणसम्म सो केन्द्रको कार्यकारी निर्देशक रहनुभयो । साथै बि.सं.२०५९ देखि बि.सं.२०७५ सम्म उहाँ विभिन्न भूमिकामा केन्द्र सञ्चालक समितिमा अनवरत रुपमा रहनुभयो । त्यस अवधिमा केन्द्रको जनशक्ति बिस्तार र विकास तथा केन्द्रका कर्मचारीहरुको हकहितमा उहाँले खेलेको भूमिकालाई केन्द्रका कर्मचाीहरु मुक्तकण्ठले प्रशंसा गर्दछन् ।
यसबाहेक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत कार्डियोलोजी विषयमा डी.एम. अध्ययन गराउने विषयमा डा. के.सी.ले ठूलो भूमिका खेल्नुभएको छ । यसका साथै उहाँ पाकिस्तानको कलेज अफ फिजिसियन एण्ड सर्जनबाट सञ्चालित एफ.सि.पि.एस. कार्डियोलोजीको मेन्टर पनि हुनुहुन्छ । समग्रमा भन्दा डा. के.सी.लाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको जिउँदो इतिहास भन्दा पनि अत्युक्ति नहोला ।

वैवाहिक सम्बन्ध
डा. के.सी.को बि.सं.२०५५ सालमा काठमाडौं निवासी सरला बोहोरासँग मागी विवाह भयो । हाल उहाँ श्रीमती सरला र दुई छोरीहरु शिवामी र ओमिसा साथ काठमााडौंको बाँसबारीमा बस्नुहुन्छ ।
अन्तिममा डा. के.सी.
उहाँको भनाइमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग जोडिनु उहाँको जीवनको सबैभन्दा महत्वपूर्ण क्षण रह्यो । जसले प्रारम्भिक अवस्थामा रहेको नेपालको मुुटुको उपचारलाई देशव्यापी र सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँको भनाइमा गर्वलायक अर्को काम भनेको नेपालमा आफ्नो नेतृत्वमा इन्टरभेन्सनल कार्डियाक इलेक्ट्रोफिजियोलोजी सेवा आरम्भ हुनु तथा संख्यामा यो टिम सानै भएपनि देशको समस्यालाई पुग्नेगरी अत्यन्तै मेधावी युवा कार्डियोलोजिष्टहरु यो प्रविधिमा पोख्त हुनु हो ।
(डा. के.सी. ह्याम्स हस्पिटल र महाराजगञ्ज स्थित निशान पोलिक्लिनिकमा सेवारत हुनुहुन्छ ।)