Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपाल प्रहरीद्वारा दलित बाढीपीडितलाई भोजन र उपचार



सप्तरीको राजविराज नगरपालिका–१ स्थित डुमरी शिवथानमा रहेको दलित बस्तीका बाढीपीडितलाई नेपाल प्रहरी र नेपाल प्रहरी अस्पताल, काठमाडौँले मंगलबार सामूहिक भोजन तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सप्तरीले आयोजना गरेको सो सामूहिक भोजनका लागि रेडक्रश सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्दर भगतले आर्थिक सहयोग गर्नुभएको थियो ।त्यहाँ रहेका करिब ७५० बाढीपीडित दलित परिवारलाई भात, दाल र तरकारी तथा अचारलगायतका भोजन खुवाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।

यस्तै, नेपाल प्रहरी अस्पताल काठमाडौँले विभिन्न रोगबाट पीडित ४५० बाढीपीडितलाई परीक्षण गरी झाडापखालाबाट बच्नको लागि औषधिसहित अन्य विभिन्न किसिमका औषधि पनि निःशुल्क वितरण गरिएको प्रहरी नायब उपरीक्षक उप्रेतीले जानकारी दिनुभयो ।

सो शिविरमा नेपाल प्रहरीका तर्फबाट विशेषज्ञ डा आशिष दत्त, डा शिरिष रेग्मी, डा रोशन निरौलासहित सातजनाको टोलीले स्वास्थ्य परीक्षणपछि निःशुल्क औषधिसमेत वितरण गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।बाढीपीडितका लागि आयोजित सो भोजन कार्यक्रममा राजविराजस्थित राजदेवीटोलमा रहेका भोलेनाथ टेन्ट हाउसले बाढीपीडितका लागि टेन्ट, खाना खाने टेबुल र कुर्सी सहयोग गरेको थियो ।

सो अवसरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा दैवीप्रकोप उद्धार समितिका संयोजक भागिरथ पाण्डे, सगरमाथा अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बलराम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती, पत्रकार चन्दन यादवसहितका स्थानीय बुद्धिजीवीको समेत सहभागिता रहेको थियो ।

मुखियाका परिवारलाई रु दुई लाख

यसैबीच, करिब दुई हप्ता अगाडि वर्षासँगै आएको बाढीमा डुवेर मुत्यु भएका सप्तरीको बेल्ही चपेनाका कमल मुखियाका परिवारलाई मंगलबार रु दुई लाख हस्तान्तरण गरिएको छ ।दैवीप्रकोप उदार समितिका अध्यक्ष तथा प्रजिअ भगिरथ पाण्डेले मुखियाका श्रीमती रामकुमारी मुखियालाई नगद जनही रु दुई लाख प्रदान गरिएको सो कार्यक्रममा सहभागी चन्दन यादवले जानकारी दिनुभयो ।

यसअघि बाढीमा मन्त्रिपरिषद्को निर्णणअनुसार बाढीबाट मृत्यु भएका कमलु सदा, डोमी यादव र नथुनी रामका परिवारलाई राहत स्वरुप रु दुई ÷दुई लाखका दरले प्रजिअ पाण्डेले उनीहरुको घरमै पुगेर राहत वितरण गर्नु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्