Logo
|
Friday 19th April 2024
Logo

epaper

नेसनलको सम्बन्धनविरुद्ध चिकित्सक संघ स् स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी



नेपाल चिकित्सक संघले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने विवादास्पद निर्णय तत्काल खारेज नभए देशभरका स्वास्थ्य संस्थाको सेवा ठप्प पार्ने चेतावनी दिएको छ । संघले सरकार र आफूसँग पटक(पटक भएको सम्झौताविपरीत मापदण्ड नै पूरा नगरेको र पूर्वाधार कमजोर रहेको कलेजलाई सम्बन्धन दिए मुलुकभरका सरकारी र निजी स्वास्थ्य संस्थाको सेवा बन्द गर्ने चेतावनी दिएको हो ।
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले १२ साउनमा नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । परिषद्ले सर्वोच्च अदालतको आदेश, प्रधानमन्त्रीसहित उच्च सरकारी अधिकारीहरूबाट आएको निर्देशन र चिकित्साशास्त्र अध्ययन संस्थानको सहमतिपछि नेसनललाई सम्बन्धन दिने निर्णय गरेको दाबी गर्दै आएको छ । निर्णय सार्वजनिक हुनेबित्तिकै आपत्ति जनाएको संघले शनिबार आकस्मिक रूपमा बोलाएको कार्यकारी समितिको बैठकबाट विभिन्न दबाबमूलक कार्यक्रम गर्ने र त्यसबाट पनि सम्बन्धन दिने निर्णय फिर्ता नलिए सेवा नै ठप्प पार्ने गरी कडा आन्दोलनमा उत्रिने निर्णय गरेको हो ।
संघका महासचिव डा। लोचन कार्कीले त्रिभुवन विश्वविद्यालयबाट हचुवाको भरमा कलेजलाई सम्बन्धन दिने निर्णय भएकाले त्यो फिर्ता नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । जहाँ मेडिकल कलेज छैन, त्यहाँ मात्रै मेडिकल कलेज खोलिनुपर्छ । सरकारले हामीसँग जनसंख्या र भूगोलको आधारमा अहिलेसम्म मेडिकल कलेज नभएको स्थानमा मात्र सञ्चालन गर्ने भन्दै सम्झौता गरेको थियो, डा। कार्कीले अन्नपूर्णसँग भने सम्झौता कार्यान्वयन भए मात्र आमनागरिक गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँचमा पुग्छन् ।
डा। कार्कीले गहन अध्ययनविना जथाभावी सहरमा मात्र मेडिकल कलेज खोलिए समग्र नेपालको मेडिकल शिक्षासमेत धाराशयी बन्ने उनको भनाइ छ । ‘सहरकेन्द्रित मात्रै शिक्षा र स्वास्थ्य सेवाविरुद्ध हामी वर्षौंदेखि लडिरहेका बेला जथाभावी बस्नसमेत नमिल्ने अपार्टमेन्टमा सञ्चालनमा आउन लागेको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरियो । जुन हामीलाई स्वीकार्य छैन, त्रिविको यो जसरी पनि निर्णय फिर्ता हुनुपर्छ । त्यसका लागि हामी जुनसुकै कदम अपनाउन तयार छौं ।
संघले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाका लागि पटक(पटक आन्दोलन गरेको थियो । डा गोविन्द केसीको अनशनका बेला सरकारलाई उनीसँग सम्झौता गराउनसमेत संघले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । तर, पटकपटक आन्दोलन गर्दा पनि सरकारी सम्झौता कार्यान्वयन नभएको भन्दै संघले आपत्ति जनाएको हो । संघले प्रधानमन्त्री, शिक्षामन्त्री, स्वास्थ्यमन्त्री त्रिभुवन विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउने, विवादास्पद सम्बन्धनका विषयमा निरीक्षणमा गएका संलग्न चिकित्सकसँग छलफल गर्ने र शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)आबद्ध संघसंस्थासँग छलफल गरेर आन्दोलनलाई निर्णायक बनाउने घोषणा गरेको छ ।
सोमबारदेखि देशभरका सम्पूर्ण सरकारी, निजी तथा प्राइभेट स्वास्थ्य संस्थामा कालोपट्टी बाँधी काम गर्ने र त्यसपछि पनि माग सुनुवाइ नभए बन्दलगायत आन्दोलनमा उत्रिने निर्णय संघले गरेको हो । त्यसका लागि तयार रहन संघका मुलुकभरका शाखालाई पनि पत्राचार गरिएको हो ।अन्नप्र्णपोस्टबाट

प्रतिक्रिया दिनुहोस्