Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

त्रि.वि.शिक्षण अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपणमा ढिलाई किन ?



सरकारले नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले भने यो सेवा दिएको छैन । वैशाख १ देखि लागू हुने गरी मिर्गौला प्रत्यारोपण सेवा नि:शुल्क हुने सरकारले घोषणा गरेको थियो । टिचिङ नेपालको सबैभन्दा पुरानो र धेरै मिर्गौला प्रत्यारोपण हुने केन्द्र पनि हो ।

साता अघिदेखि अस्पतालअन्तर्गत सामाजिक सेवा एकाइको ढोकामै सूचना टाँसेर अस्पतालले नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा दिन नसक्ने जनाएको छ । सरकारले हालसम्म नेपालमा ३ अस्पताल (टिचिङ, वीर र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर) लाई नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा केन्द्र तोकेको छ । देशभरिका जिल्ला अस्पतालहरूले मिर्गौला प्रत्यारोपणका लागि यिनै ३ अस्पतालमा बिरामी पठाउने गर्छन् । टिचिङले सेवा दिन नसक्दा जिल्लाबाट आएका मिर्गौलाका बिरामीहरू अलपत्र पर्न थालेका छन् ।

‘सरकारले निर्देशिका जारी गरेको छ तर टिचिङ अस्पताललाई अनुमतिपत्र पठाएको छैन’ – निर्देशक डा. दीपक महरा

मिर्गौला प्रत्यारोपणका लागि जनकपुरका प्रशान्त झालाई जिल्ला अस्पतालले टिचिङमा रेफर गर्‍यो । ‘उताबाट यहाँ नि:शुल्क प्रत्यारोपण हुन्छ भनेर पठायो, अस्पतालको सामाजिक एकाइले यसबारे खुलेर केही भनेन,’ झाले भने, ‘उपचारका लागि अस्पतालले नै २ लाख दिन्छ भनेर पठाएको तर मेरो त उपचारै हुन सकेन ।’ मिर्गौला प्रत्यारोपणका लागि सरकारले केन्द्रलाई १ बिरामीबराबर ४ लाख ५० हजार रुपैयाँ दिन्छ । बिरामीलाई प्रत्यारोपणपछि औषधिका लागि थप १ लाख रुपैयाँ सरकारले दिने कानुनी व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालयले मिर्गौला प्रत्यारोपण निर्देशिका २०७३ कार्यान्वयन गर्ने अनुमति नदिएका कारण सेवा सञ्चालनमा बाधा परिरहेको टिचिङ अस्पतालका निर्देशक डा. दीपक महराले बताए । ‘सरकारले निर्देशिका जारी गरेको छ तर हाम्रो अस्पताललाई अनुमतिपत्र पठाएको छैन,’ उनले भने । सरकारले नि:शुल्क मिर्गौला प्रत्यारोपण घोषणा गरेपछि अस्पतालमा बिरामीको चाप बढिरहेको निर्देशक महराले बताए । ‘अनुमति पाउन धेरैपटक स्वास्थ्य मन्त्रालय धायौं, अहिलेसम्म दिएको छैन,’ उनले गुनासो गरे । स्वास्थ्य मन्त्रालयका अनुसार टिचिङ अस्पताललाई नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा दिने केन्द्रमा सूचीकृत गरिएको छ । मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले प्रक्रिया चलिरहेको बताए । वीर अस्पताल र मानव प्रत्यारोपण केन्द्र भक्तपुरले भने मिर्गौला प्रत्यारोपण निर्देशिका २०७३ अनुसार नि:शुल्क प्रत्यारोपण गरिरहेको जनाएका छन् ।

५ महिनाको अन्तरालमा वीरले १५ जनाको नि:शुल्क मिर्गौला प्रत्यारोपण गरिसकेको छ । मानव प्रत्यारोपण केन्द्रले हालसम्म ५५ जनालाई नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा दिइसकेको जनाएको छ । ‘बिरामी आइरहेका छन्, चेतना बढिरहेको छ,’ केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भने । यस वर्ष मात्रै प्रत्यारोपण गर्नेको संख्या २ सय पुर्‍याउने डा. श्रेष्ठले बताए । —कान्तिपुर दैनिकबाट 

 

प्रतिक्रिया दिनुहोस्