Logo
|
Saturday 20th April 2024
Logo

epaper

अब जबर्जस्ती यौनसम्बन्ध हुन्न



अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ । फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था गरिएको हो । हाडनातामा करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ । १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरेको ठहरिनेछ । जबर्जस्ती करणी गर्नेलाई महिलाको उमेर हेरी सजाय निर्धारण गरिएको छ ।

मुलुकी ऐन प्रतिस्थापनका लागि ल्याइएको फौजदारी कसुरसम्बन्धी नयाँ कानुनमा करणीसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । यो कानुन संसद्बाट पारित भइसके पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । राष्ट्रपतिले यो कानुन प्रमाणीकरण गरेमा १ भदौ ०७५ बाट मात्र कार्यान्वयनमा आउनेछ।

गम्भीर रोग लागेको थाहा हुँदाहुँदै करणी गरे थप ती वर्षसम्म कैद
आफूलाई यौनरोग, एचआइभी-एड्स भएको थाहा पाउँदापाउँदै कुनै पुरुषले महिलामाथि जबर्जस्ती करणी गरे माथि उल्लिखित सजायमा थप तीन वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । सामूहिक रूपमा जबर्जस्ती करणी गर्ने, ६ महिनाभन्दा बढीको गर्भवतीलाई करणी गर्ने, मानसिक एवं शारीरिक रूपमा अशक्त, अपांगता भएकालाई जबर्जस्ती करणी गरे माथि उल्लिखित सजायमा थप तीन वर्षसम्म कैद थपिनेछ ।

कसैले आफूलाई जन्म दिने आमा वा आफूले जन्माएको छोरीलाई करणी गरे जन्मकैद हुने व्यवस्था छ । सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर–भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवानाको सजाय हुनेछ । तीन पुस्तासम्मको हाडनातामा करणी गर्नेलाई तीन वर्षदेखि ६ वर्षसम्म कैद र ३० हजारदेखि ६० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

करणीसम्बन्धी थप सजाय
– कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्ने वा करणी गर्न अरू कसैलाई संयोग पारी मिलाइदिई करणी गराए तीन वर्षसम्म कैद हुनेछ ।

– १० वर्षभन्दा कम उमेरका बालबालिकालाई एकान्तमा लगेर यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अंग छुन वा समाउन लगाएमा बालयौन दुरुपयोग गरेको ठहरिने र दुई वर्षसम्म कैद हुनेछ ।

-आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गरे पनि तीन वर्षसम्म कैद सजाय हुनेछ । सरकारी वा निजी कार्यालयमा वा कुनै पेसागत सेवा वा व्यावसायिक कामका लागि सम्पर्कमा आएको व्यक्तिसँग करणी गरे चार वर्षसम्म कैद र ४० हजार रुपैयाँ जरिवाना हुनेछ।

-कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिमाथि यौन दुव्र्यवहार गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुनेछ ।

-कसैले कसैको इच्छाविरुद्ध अप्राकृतिक मैथुन गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

-पशु करणी गर्नेलाई पनि कैदको सजाय तोकिएको छ । जसअन्तर्गत गाई करणी गर्नेलाई दुई वर्षसम्म कैद र २० हजार जरिवाना, अन्य चौपाया करणी गरे वा गराइएको भए एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । -नयाँ पत्रिकाबाट  

प्रतिक्रिया दिनुहोस्