Logo
|
Thursday 28th March 2024
Logo

epaper

पेटीमा सुत्केरीको उपचार



चार दिनअघि सुत्केरी भएकी सामाखुसीकी सविना नाज अस्पतालको पेटीमै सुत्छिन् । थापाथलीस्थित प्रसूतिगृहमा उनको उपचार चलिरहेको छ । अस्पतालको आकस्मिक कक्षमा बेड नपाएपछि चारदिने शिशु लिएर पेटीमै सुत्नुपरेको उनले सुनाइन् । ‘रातभरि लामखुट्टेले टोक्छ, आमाबच्चा दुवै निदाउन पाएका छैनौं,’ ‘उनले भनिन्, ‘फेरि डाक्टर पनि पेटीमा सुत्ने बिरामीलाई हेर्न खासै आउँदैनन् ।’

सुरुदेखि नै गर्भवती जाँच गराउन प्रसूति आएकाले यही अस्पतालमा सुत्केरी हुनुपर्ने बाध्यता भएको उनले सुनाइन् । पेटी नजिकको शौचालय गन्हाएर खाना खान र आराम गर्न पनि नसकिएको उनले बताइन् । ‘धेरैपटक डाक्टर र नर्ससँग झगडा पर्‍यो, सुत्केरी भइसकेपछि कतै रिफर गर्न पनि मिल्दैन भन्छन्, आलो सुत्केरीलाई कहिलेसम्म भुइँमा सुताउने ?’ नाजका श्रीमान् मुदसिर आलमले गुनासो गरे ।

प्रसूतिगृहमा दिनानुदिन सुत्केरी हुन आउने महिलाको चाप बढ्दो छ । राजधानीका सरकारी अस्पतालमध्ये प्रसूतिगृहमा मात्रै आमासुरक्षा कार्यक्रमको व्यवस्था भएकाले पनि यहीँ सुत्केरी हुन आउनेको चाप बढी छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पतालमा नि:शुल्क सुत्केरी गराइन्छ ।

सुत्केरी हुन दैनिक ८० जना नयाँ महिला थपिने अस्पताल प्रशासनको तथ्यांक छ । बढ्दो बिरामीको चापअनुसार पर्याप्त बेड नहुँदा पेटीमै राखेर उपचार गर्नुपरेको अस्पतालका निर्देशक डा. अमीरबाबु श्रेष्ठले बताए । ‘अस्पताल आइसकेका सेवाग्रहीलाई फर्काउन मन लाग्दैन, पेटीमै राखेर भए पनि सेवा दिन बाध्य छौं,’ निर्देशक श्रेष्ठले भने ।

दुई वर्षअघिको भूकम्पका कारण प्रसूतिगृहको मुख्य भवन कामै नलाग्ने गरी भत्कियो । भवन भत्किएसँगै उपचार सेवा प्रवाह गर्न समस्या भइरहेको निर्देशक श्रेष्ठले बताए ।‘ हामीले चाहेर पनि बिरामीका लागि सहज वातावरण बनाउन सकेका छैनौं, जसोतसो सेवा दिइरहेका छौं,’ उनले भने । भवन भत्किएसँगै बिरामी र कर्मचारी दुवैले सास्ती खेपिरहनुपरेको अस्पतालको प्रशासन प्रमुख रानु थापाले बताइन् ।

‘अस्पतालको पुरानो भवनमा ४ सय शय्याको बेड थियो, अहिले आधा घटिसक्यो, अस्पतालमा बेड राख्ने ठाउँ नै छैन,’ उनले भनिन् । दिनहुँ पाँचदेखि १५ जनासम्मलाई पेटीमै राखेर उपचार गर्नुपरेको श्रेष्ठले बताए ।

भूकम्पले भत्काएको प्रसूतिगृहको भवन जापान सरकारको सहयोग पुनर्निर्माण गर्न ठेक्का दिइसकिएको छ । ठेक्का दिएको लामो समय बितिसक्दा पनि भवन निर्माण कार्य अझै सुरु हुन सकेको छैन । नयाँ भवन नबनेसम्म बिरामीले पेटीमै सुतेर उपचार लिनुपर्ने समस्याको विकल्प नभएको डा. श्रेष्ठ बताउँछन् ।

‘जाडो महिना नजिकिँदै छ, चिसोमा बिरामीलाई छिँडीमा राख्न पनि सम्भव छैन,’ उनले गुनासो गरे । टेन्डर प्रक्रियामा झमेला हुँदा प्रसूतिगृहको भवन पुनर्निर्माण कार्य अघि बढ्न नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘सक्दो चाँडो निर्माण कार्य अघि बढ्छ,’ मन्त्रालयका जनस्वास्थ्य प्रशासन प्रमुख रमेशप्रसाद अधिकारीले भने । कान्तिपुर दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्