Logo
|
Thursday 28th March 2024
Logo

epaper

गर्भवती तथा सुत्केरी अवस्थामा हुने रक्तश्राव



 

गर्भ रहेदेखि १२ हप्तासम्मको अवधिलाई पहिलो त्रैमासिक, १३ देखि २८ हप्ता सम्मको अवधिलाई दोस्रो त्रैमासिक र गर्भ रहेको २९ हप्तादेखि ४० हप्तासम्मको अवधिलाई तेस्रो त्रैमासिक भनिन्छ । गर्भावस्थाका अन्य त्रैमासिकमा जस्तै तेस्रो त्रैमासिकदेखि सुत्केरी व्यथा लाग्नु अगाडिसम्म विभिन्न खालका समस्या आउन सक्छन् । बच्चा उल्टो वा गलत तरिकाले बस्नु, सुत्केरी बेथापूर्व पानी फुट्ने (सानो सुतक हुने) समस्या, महिना नपुग्दै बेथा लाग्ने समस्या, गर्भावस्था लम्बिने समस्याजस्तै अप्रत्याशित रुपमा रक्तश्राव हुनु पनि यस्तै एक समस्या हो ।
गर्भ तुहिने समस्या
नियमित रुपमा भइरहनु पर्ने महिनावारी रोकिनुलाई गर्भाधान हुनुको प्रमुख लक्षणका रुपमा लिइन्छ । गर्भ आएपछि महिनावारी रोकिने क्रिया सुत्केरी पछिको केही महिनासम्म जारी रहन्छ तर कसैकसैमा गर्भाधानको क्रममा शुक्रकिट र डिम्बको मिलनपछिको निषेचित डिम्ब पाठेघरमा बस्ने क्रममा हल्का रातोपनजस्तो रक्तश्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिदैन ।
विशेषतः २८ हप्ता अगाडि वा पछाडि गरी गर्भावस्थामा रगत बग्ने कारण फरक–फरक हुन्छ । विकासोन्मुख देशहरुमा गर्भावस्थाको २८ हप्तासम्ममा (विकसित देशहरुमा २० हप्ता) पाठेघर भित्रको भ्रूण (गर्भे शिशु) तथा अन्य वस्तुहरु पाठेघरको मुख हुँदै बाहिर आउने प्रक्रियालाई गर्भ तुहिनुका रुपमा लिइन्छ ।
डिम्ब वा शुक्रकिटमा वंशाणुगत समस्या भएमा, पाठेघरमा भ्रूण बस्ने वातावरणअनुकूल नभएमा, पाठेघरमा मासु बढेमा, जनेन्द्रियभित्र विषाणुजन्य संक्रमण भएमा, गर्भावस्थाको सुरुतिर अधिक ज्वरो आउने कुनै संक्रमण भएमा गर्भावस्थाको पहिलो त्रैमासिकभित्र योनीमार्गबाट अत्यधिक रगत बग्ने ९गर्भ तुहिने० हुन सक्छ । यसैगरी पाठेघरबाहिर डिम्बवाहिनी नली वा अन्य भागमा गर्भ रहँदा पनि कुनैबेला अत्यधिक रक्तश्राव हुन सक्छ ।
गर्भावस्थामा रगत बग्नाका अन्य कारण
गर्भवती बेलाको दोस्रो चरणतिर साल गलत ठाउँमा बस्नाले तथा सुत्केरी पूर्व साल छुट्नाले अधिक रक्तश्राव हुनसक्छ ।
साल कहाँ बसेको छ भन्ने कुरा भिडियो एक्स–रे ( अल्ट्रासाउन्ड) बाट थाहा पाउन सकिन्छ । गर्भावस्थाको दोस्रो त्रैमासिकपछि कथंकदाचित साल पाठेघरमा ठीक ठाउँमा बसेको छैन वा पाठेघरको तल्लो भाग र मुखतिर आइबसेको छ भने रगत बग्न सक्छ । यसरी साल बेठीक ठाउँमा रही रक्तश्राव हुँदा पहिलो चोटी थोरै मात्रामा भए पनि पछि अत्यधिक मात्रामा हुनसक्छ ।
यस्तो अवस्था पत्ता लाग्नेबित्तिकै नियमित अन्तरालमा भिडियो एक्स–रे दोहोर्याइरहनु पर्छ । त्यसैगरी तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भवती जाँच गराउनु बुद्धिमानी हुन्छ । गर्भवती महिलाको रक्त समूह अनुसारको ३—४ पोका रगतको संचय गरी राख्नुपर्छ । साल बेठीक ठाउँमा रहेको महिलाले अनुभवी स्वास्थ्यकर्मीको निगरानीमै सुत्केरी गराउनु पर्छ ।
यसैगरी बेथा लाग्नु ठीकअगाडि वा लाग्नेबित्तिकै अत्यधिक रक्तश्राव हुनुको कारण चाहिँ बच्चा जन्मिनुअगाडि नै पाठेघरबाट साल छुट्नाले हो । गर्भावस्थामा उच्च रक्तचाप हुँदा, पेटमा चोट पुग्दा, पाठेघरमा पानी धेरै हुँदा, जुम्ल्याहा बच्चा हँुदा यस्तो परिस्थिति आउन सक्छ । कहिलेकाहीँ अपरेसन गरेर बच्चा निकाल्नु पर्ने हुनाले अस्पतालमै सुत्केरी गराउनु पर्छ ।
सुत्केरी बेथाका बेला बच्चा जन्मिसकेपछि सालनाल र अन्य झिल्ली पाठेघरबाट छुट्टिने एवं निस्कने क्रममा थोरै रगत बग्न सक्छ तर सुत्केरीपश्चात् पाठेघर राम्ररी नखुम्चिएमा, पाठेघरभित्र सालका टुक्रा वा झिल्ली बाँकी रहेमा, सालनाल छुट्टिनु अगाडि बल गरी तानेमा अत्यधिक रक्तश्राव हुन सक्छ । यसका अलावा योनीद्वारको भित्ता, पाठेघरको मुख वा योनीद्वार च्यातिएमा, सुत्केरी महिलामा रगत जम्ने खराबी भएमा, रक्त अल्पता भएमा, पाठेघर वा योनी मार्गमा कहीँ संक्रमण भएमा पनि बढी रक्तश्राव हुन सक्छ । यी कारणहरु अनुसार नै कारक तत्वको उपचार गर्नुका साथै सलाइन पानी र रगतको जरुरत पर्न सक्छ ।नागरिकबाट

प्रतिक्रिया दिनुहोस्