Logo
|
Wednesday 24th April 2024
Logo

epaper

के हो दादुरा ?



एक लाख बिरामीमध्ये चार जना जतिलाई यो रोग निको भइसके पनि केही समयपछि इन्सेफलाइटिस हुने सम्भावना हुन्छ । -डा. गुणनिधि शर्माइपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा

भाद्र ३१, २०७४-नेपाललगायत दक्षिण–पूर्वी एसियामा अझै बालबालिकाको मृत्युको एउटा कारक हो– दादुरा । यस्तो गम्भीर रोगबाट छुटकारा पाउने उपाय भने गाह्रो छैन । बालबालिकालाई समयमा जम्मा दुई मात्रा खोप लगाउन सके उनीहरूलाई अकाल मृत्युबाट बचाउन सकिन्छ ।

दादुराका कारण वर्षेनी विश्वव्यापी रूपमा अझै १ लाख ३४ हजार २ सय बालबालिकाको मृत्यु हुने अनुमान छ । यीमध्ये ५४ हजार ५ सय बालबालिका दक्षिण–पूर्वी एसियाका हुने गरेका छन् ।

 ‘दादुराको खोप दुई मात्रा लगाए पनि यसको प्रभावकारिता लगभग शतप्रतिशत हुन्छ,’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), दक्षिण–पूर्वी एसिया कार्यालय, फयामिली हेल्थ, जेन्डर एन्ड लाइफ कोर्सका निर्देशक डा. पेम नामग्याल भन्छन् ।

यसबाट बच्नका लागि दादुरा, रुबेला (मिजिल्स रुबेला/एमआर) खोप वा दादुरा, रुबेला मम्प्स (मिजिल्स, रुबेला मम्प्स/एमएमआर) खोप दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा खोप लगाउँदा दादुरा संक्रमणविरुद्घको क्षमता ८५ प्रतिशत र दोस्रो मात्रा लगाउँदा १०० प्रतिशतसम्म पुग्ने डा. नामग्याल बताउँछन् ।

हालै दक्षिण–पूर्वी एसियाका ११ मुलुकमध्ये भुटान र माल्दिभ्सले दादुरा रोगलाई आफ्नो देशबाट उन्मूलन गरेको बताएका छन् । नेपालले पनि सन् २०१९ सम्म यो रोगबाट छुटकारा पाउने रणनीति

लिएको छ ।

डब्लूएचओ, दक्षिण–पूर्वी एसियाकी निर्देशक डा. पुनम खेत्रपाल सिंहका अनुसार, सन् २०२० सम्म यो क्षेत्रबाट दादुरा उन्मूलनका लागि सबै राष्ट्रले बालबालिकामा दादुरा खोप लगाउने कामलाई तीव्रता दिनुपर्छ । यो क्षेत्रमा वार्षिक रूपले ४७ लाख बालबालिका दादुराविरुद्घको खोपबाट वञ्चित रहने गरेको उनी बताउँछिन् ।

बालरोग विशेषज्ञ डा. चन्द्रेश्वर महासेठ दादुराको पहिलो खोप ९ महिनामा र त्यसपछि एमआर/एमएमआर खोप १५ देखि १८ महिनामा लगाउँदा धेरै फाइदा पुग्ने बताउँछन् ।

खोप नलगाएका बालबालिकाहरू जीवनभर दादुराबाट ग्रस्त हुने सम्भावना हुन्छ । पछि रोग जटिल भई मृत्युसम्म हुन सक्छ र खोप नलगाइएका बालबालिका सधैं यसको जोखिममा हुन्छन् । खोप नलिएका गर्भवती महिलासमेत यो संक्रमणको जोखिममा हुन्छन् । यति मात्र नभई, कुनै पनि कारण वा रोग आदिले गर्दा शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकाहरू, दादुरा खोपले शरीरमा काम नगरेकाहरू

समेत सधैं यो संक्रमणको जोखिममा हुन्छन् ।

ज्वरो आउनुभन्दा एक दिन अघिदेखि नै संक्रमित व्यक्तिले रोग सार्न सक्छ । शरीरमा बिमिरा आएको पाँच दिनसम्म रोग सर्ने सम्भावना बढी हुन्छ ।
दादुराको संक्रमण भएर निको भएका व्यक्तिहरुलाई बाँकी जीवनभर यो संक्रमणले दोहोर्‍याएर छुँदैन ।
दादुराको कुनै विशेष एन्टिभाइरल उपचार छैन । यो रोगका कारण हुने कडा जटिलताहरुलाई सहयोगी उपचार, स्याहारका माध्यमले कम गर्ने प्रयास गरिन्छ ।
भिटामिन ए को खुराकले दादुराबाट हुने मृत्युलाई ५० प्रतिशतसम्म घटाउने देखिएको छ ।

के हो दादुरा ?

यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो रोगले सामान्यत: बालबालिकालाई बढी प्रभावित गर्छ । यो साना बालबालिकामा हुने मृत्यु र विकलांगताको समेत प्रमुख कारक हो ।

डब्लूएचओका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकालाई बढी हुने गर्छ ।

उच्च कुपोषण र पर्याप्त स्वास्थ्य स्याहारको कमी भएको जनसंख्यामा दादुरा मृत्युको १० प्रतिशतसम्म कारक हुन सक्छ ।

गर्भावस्थामा दादुराबाट संक्रमित भएका महिलाहरू यसका कारण समयपूर्व प्रसूति, गर्भपतनजस्ता जोखिममा हुन्छन् । दादुराको संक्रमण भएर निको भएका व्यक्तिहरूलाई बाँकी जीवनभर यो संक्रमणले दोहोर्‍याएर छुँदैन । अर्थात्, उनीहरू दादुराप्रतिरोधी हुन्छन् ।

कसरी फैलिन्छ ? 

दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । यो रोग खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कण (ड्रपलेट) ले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने गर्छन् ।

दादुरा रोगीसँगको प्रत्यक्ष सम्पर्क वा हावाका माध्यमले फैलिन्छ । रोग प्रभावित व्यक्तिको नजिक भइरहने वा खकार/थुक/सिँगानको प्रत्यक्ष सम्पर्कमा आउनेहरूलाई यो संक्रमण हुन सक्छ । दादुराको भाइरसले सास नलीलाई संक्रमित गर्छ । यसपछि सम्पूर्ण शरीरमा फैलिन्छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा. गुणनिधि शर्माका अनुसार, ज्वरो आउनुभन्दा एक दिनअघिदेखि नै संक्रमित व्यक्तिले रोग सार्न सक्छ । शरीरमा बिमिरा आएको पाँच दिनसम्म रोग सर्ने सम्भावना सबैभन्दा बढी हुन्छ ।

लक्षण 

दादुराको सामान्य लक्षण हो– तीव्र ज्वरो । यो ज्वरोको सुरुआत दादुरा भएकाहरूको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४ दिनदेखि एक सातासम्म रहिरहन्छ ।

दादुराले छोएपछि थकान, रुघा–खोकी हुने गर्छ । आँखा राता हुने, मुखभित्र सेतो दाग देखिने हुन सक्छ । केही दिनपछि सामान्यत: अनुहार र घाँटीको माथिल्लो भागमा बिमिरा देखिन्छ । बिमिरा तीन दिनपछि फैलिन्छ र हात खुट्टामा समेत देखिन थाल्छ । यस्तो बिमिरा पाँच–छ दिनपछि आफैं फोस्रिँदै जान्छ ।

दादुराले निकै सताउँदै गए फोक्सो, कानको बीच भाग, मस्तिष्कमा समेत समस्या हुन थाल्छ । उपचार नभए अन्तत: रोगीको मृत्युसम्म हुन सक्छ ।

डब्लूएचओका अनुसार, यो संक्रमणले हुने जटिलता पाँच वर्षमुनिका बालबालिका र २० वर्ष माथिकाहरूमा देखिन्छ । अन्धोपन, इन्सेफलाइटिस (मस्तिष्क ज्वर), कडा झाडापखाला, कानको संक्रमण, निमोनिया, सास नली र फोक्सोको नलीमा संक्रमण दादुराको सबैभन्दा गम्भीर जटिलता हो । एक लाख बिरामीमध्ये करिब चार जनालाई यो रोग निको भइसके पनि केही समयपछि इन्सेफलाइटिस हुने सम्भावना रहने डा. शर्मा बताउँछन ।

उपचार 

डब्लूएचओका अनुसार, दादुराको कुनै विशेष एन्टिभाइरल उपचार छैन । यो रोगका कारण हुने कडा जटिलताहरूलाई सहयोगी उपचार, स्याहारका माध्यमले कम गर्ने प्रयास गरिन्छ । राम्रो पोषण, पर्याप्त तरल पदार्थ सेवन र शरीरमा देखिएको पानीको कमीलाई जीवनजल (ओरल रिहाइड्रेसन साल्ट) का माध्यमले उपचार गरिन्छ । जीवनजलले पखाला र वान्ताका कारण शरीरबाट निस्किएको तरल पदार्थको परिपूर्ति गर्छ । आँखाको संक्रमण र निमोनियाको उपचार गर्न एन्टिबायोटिकसमेत दिइन्छ ।

विकासशील मुलुकमा दादुरा पहिचान गरिएका सबै बालबालिकालाई भिटामिन ‘ए’ को दुई मात्रा २४ घण्टाको फरकमा खुवाउनुपर्छ । भिटामिन ‘ए’ को खुराकले दादुराबाट हुने मृत्युलाई ५० प्रतिशतसम्म घटाउने देखिएको छ । -कान्तिपुरबाट

 

प्रतिक्रिया दिनुहोस्