चाडबाडको बबालः स्वास्थ्य सवाल
हरेक वर्षझैं यो वर्ष पनि दशैं शुरु भइसकेको छ । हरेकको दशैंको योजना बनिसकेको छ । अरु बेला जतिसुकै दुःख भए पनि यो बेला राम्रो लगाउने र मीठो खाने प्रचलन छ । दशैं धार्मिक र सांस्कृतिक चाड हो । देवीको पूजा गर्ने, पशुवली दिने, देवीको प्रसादका रुपमा टीका, जमरा लगाउने चलन दशैंका धार्मिक पक्ष हुन् । नयाँ कपडा लगाउने, पीङ खेल्ने, चङ्गा उडाउने, आफन्तजनसँग भेटघाट गर्ने जस्ता चलन साँस्कृतिक पक्ष हुन् । हिन्दूहरु धार्मिक र सांस्कृतिक पक्षहरुलाई महत्व दिन्छन् ।
हुन त जहिले पनि खानपानमा विशेष ध्यान दिनुपर्छ । अझ चाडपर्वका बेला खानपानमा एकदमै होशियार हुन आवश्यक पर्छ । यो बेला अलि धेरै खानपानका परिकार हुने कारण समस्या ल्याउने सक्ने संभावना रहन्छ । त्यसैले सफा, स्वच्छ र ताजा खानेकुराको मात्र सेवन गर्नुपर्छ । नपाकेको जथाभावी खानेकुरा खान हुँदैन । सिमित मात्रामा खाद्य परिकारहरु खानुपर्छ । धेरै बोसो र चिल्लोयुक्त खानेकुरा खानाले विभिन्न शारीरिक समस्या ल्याउन सक्छ । चाडवाडको समयमा सन्तुलित भोजन आवश्यक पर्छ ।
मुटु स्वस्थ राखौँ
धेरै चिल्लोयुक्त खानाले कहिल्यै पनि फाइदा गर्दैन । चाडवाडमा धेरै चिल्लो खानेकुराको प्रयोग गरिने भएकाले अलि होसियार हुन आवश्यक पर्छ । यसले दीर्घकालीन रुपमा शरीरमा कोलेस्टेरोलको मात्रा बढाउनसक्छ । कोलेस्टेरोलले मुटुमा सिधै प्रभाव पार्छ । यसले मुटुको धमनीे भित्र रगत प्रवाह हुने नली साँघुरो बनाउँछ । यदि धमनीमा रक्तप्रवाह रोकिएमा हृदयघात हुनेलगायत मुटुसम्बन्धि विभिन्न रोग लाग्नसक्ने वरिष्ठ मुटु रोग विशेषज्ञ यादव भट्ट बताउनुहुन्छ । । यद्यपी तारेका खानेकुरामा कम गर्नुपर्छ । त्यसैले ताजा फलफूल र सागपातको धेरै सेवन गर्नुपर्छ । यसले मुटु स्वस्थ राख्न मद्दत गर्ने डा. कोइरालाको सुझाव छ । यसका साथै नियमित शारीरिक व्यायामले पनि मुटु स्वस्थ्य राख्न सहयोग गर्छ ।
धेरै अल्कोहल सेवन नगरौं
चाडपर्वमा धेरै मद्यपान गर्ने प्रचलन छ । यसले स्वास्थ्यमा प्रतिकूल असर पार्नसक्छ । धेरै रक्सी पिउनाले उच्च रक्तचाप, कलेजो, पेटको समस्या ल्याउनसक्ने नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भारत रावत बताउनुहुन्छ । धेरै अल्कोहलको सेवनले युरिक एसिड बढाउन मद्दत्त गर्छ । रेड वाइन पिउनाले मुटुको धमनीमा रगत जम्ने संम्भावना कम हुने विभिन्न अनुसन्धानहरुले देखाएका छन् । त्यसैले एक दिनमा करिब १ सय ५० मिलिग्राम रेड वाइन पिउन सकिने बताइन्छ । तर पेट र कलेजोका बिरामीहरुले मद्यपान सधैँका लागि त्यत्नु वेश हुन्छ ।
मासुमा ध्यान दिने
चाडवाडमा धेरै मासुको सेवन हुने गर्छ । यो बेला धेरै दिनअघि देखि मासुका विभिन्न परिकारहरु बनाएर राख्ने प्रचलन छ । यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने डा. रावत बताउनुहुन्छ । मासुलाई राम्ररी पकाएर मात्र खानुपर्छ । मासुलाई राम्ररी पकाउँदा टोक्सोप्लाज्मा जस्ता मासुजज्य रोगबाट बच्न सहयोग मिल्छ । धेरै बोसोयुक्त मासुका परिकार स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मासुका परिकार बनाउँदा रातो मासुभन्दा सेतो मासु प्रयोग गर्त उपयुक्त मानिन्छ । कुखुरा, हाँस, माछाको मासु सेतो हुने भएकाले स्वास्थ्यका लागि राम्रो मानिन्छ । खसी, बोका राँगाको मासु रातो हुने भएकाले स्वास्थ्यलाई त्यति राम्रो गर्दैन । यसका साथै जनावरका भित्री अंगको मासु तारेर खान स्वास्थ्यका लागि त्यति फाइदाजनक मानिदैन । त्यसैले बढी पोलेका र डढेका मासुका परिकारले क्सान्सर उत्पन्न गराउने संम्भावना रहने चिकित्सकहरु बताउँछन् ।
मासु सुरक्षित राख्न नसक्दा यसमा विभिन्न किसिमका परजीविको संक्रमण हुने संभावना हुन्छ । केही समयअघि नेपालमा भएको अध्ययनमा जनावरको मासुमध्ये ८० प्रतिशत बंगुरको मासु टोक्सोप्लाज्मा गोन्डिल परजीवीबाट संक्रमति हुने गरेको उल्लेख छ । खसी बोकाको मासुमा ७० प्रतिशत, राँगाभैँसीको मासुमा ६५ प्रतिशत र कुखुराको मासुमा ४१ प्रतिशत परजीवि भेटिएको थियो । यसैगरी उपत्यका लगायतका जिल्लामा पंक्षीहरुमा लाग्ने बर्ड फ्लुको संक्रमण अत्यधिक देखिएको छ । त्यसैले कुखुरा, हाँस तथा परेवाको मासु राम्ररी पकाएर मात्र खान उचित हुन्छ ।
जमरा स्वास्थ्यमा लाभ
हिन्दूहरुको महानचाड वडादशैँमा जमराको प्रयोग हुने गर्छ । हिन्दु संस्कृति अनुसार दशैंँमा टीकासँगै जमरा लगाउने प्रचलन छ । जमरालाई दुर्गा भवानीको प्रसादको रुपमा मान्यजनबाट लगाउने गरिन्छ । परापूर्वकालदेखि गौं/जौलाई बालुवामा ९ दिनसम्म उमारेर चण्डी पाठ गरेर विजया दशमीको दिन प्रयोग गरिन्छ । जमरा स्वास्थ्यका धेरै राम्रो मानिन्छ ।
जमराको सर्वत सेवन गर्दा छाला चम्किलो हुन्छ र शरीरबाट निस्क्ने गन्ध पनि हटाँउछ । जमराले रोग प्रतिरोधात्मक क्षमता र आँखाको ज्योति बढाउँछ । जमराको रस प्रयोग गर्नाले यौन तथा प्रजनन शक्ति बढाउन मद्दत गर्छ । घाउ, खटिरा निको पार्नुका साथै जमराले कोषिकाहरुलाई पनुर्ताजकिरकण गराउँछ । जमरामा क्याल्सियम हुन्छ । त्यसैले दाँत र हड्डी मजबुत बनाउँछ । यसमा आइरन पाइने भएकाले रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ । जमराको सर्वत खाने गर्दा मृर्गौलाको फिल्टर प्रक्रियालाई सहज र विभिन्न मुत्र रोग निको पार्छ । महिनावारी, गर्भवती र पाठेघरमा हुने सबै किसिमका समस्याका लागि जमरा हितकर मानिन्छ । जमराले व्यक्तिको सुन्दरता बचाइराख्न र बूढ्यौलीमा हुने समस्याको रोकथाम गर्छ । यसले जोर्नीमा श्लेष्म तत्व वृद्धि गर्छ । हाडजोर्नीको दुखाई, बाथरोग, हड्डी खिइने जस्ता समस्या न्यूनिकरणमा मद्दत गर्छ । जमरा अक्सिजनको लागि पनि राम्रो स्रोत मानिन्छ । रगतमा ताजा अक्सिजनको स्तरलाई बढाई उर्जाको संञ्चार गर्न जमराको भूमिका महत्वपूर्ण छ ।
जौ को जमरामा एमिनो एसिड, १३ प्रकारका मिनरल्स र भिटामिन पाउन सकिन्छ । स्वास्थ्यको दृष्टिकोणले जमरा पाचनयोग्य प्रोटिनको स्रोत पनि हो । जमराको सेवन गर्नाले पाचन प्रणाली, रक्तसञ्चार, श्वासप्रश्वास, यौन तथा प्रजनन र रोग प्रतिरोधात्मक प्रणालीमा हुने समस्यालाई न्यूनिकरण गर्न मद्दत्त पु¥याँउछ । जमराको धार्मिक तथा पौराणिक महत्वका साथै मानव स्वास्थ्यमा पनि उत्तिकै लाभकारी मानिन्छ ।