Logo
|
Wednesday 27th November 2024
Logo

epaper

बिरामी छुन अघि र छोइसकेपछि हात धुन नर्सहरु अग्रस्थानमा



सन्दर्भः विश्व हात धुने दिवस

अस्पतालमा कार्यरत स्वास्थ्य कार्यकर्ताहरुले राम्ररी हात धोएमा मात्र पनि हस्पिटल इन्फेक्सन कम गर्न सकिने अनुसन्धानले देखाएको छ । बिरामीलाई छुन अघि र बिरामीलाई छोइसकेपछि राम्ररी साबुनपानीले हात धुनुपर्छ र हात सुकाउनुपर्छ । यसबाट हातको छालाबाट सर्ने संक्रमण निकै कम गर्न सकिन्छ । यो विश्वका विभिन्न देशहरुमा गरिएको अध्ययनहरुले पनि पुष्टि गरिसकेका छन् ।
भियनाको एक अस्पतालमा डाक्टरहरुले सुत्ेकरी गराउँदा धेरै नवजात शिशुको ज्यान जाने गर्दथ्यो । तर त्यही घटनामा नर्सहरुले सुत्केरी गराउँदा कम मात्रामा बच्चाहरु मर्दथे । यस किसिमको नजिताप्रति देशभर धेरै खैलाबैला मच्चियो । यसबारे सत्यतथ्य बुझ्दा अस्पतालमा डाक्टरहरुले एउटा शल्यक्रिया गरिसकेपछि अर्को शल्यक्रिया गर्नुपूर्व हात नधुने र हात नधोई महिलालाई सुत्केरी गराउँदा हातमा भएका व्याक्टेरियाले गम्भीर किसिमको कम्प्लिकेसन गराई नवजात शिशुको ज्यान जाने पत्ता लागेको थियो । तर नर्सहरुले शल्यक्रिया गर्ने नभएकाले उनीहरुबाट सुत्केरी गराइएका बच्चाहरुमा कम्प्लिकेसन नआउने थाहा भयो । त्यसपछि चिकित्सकहरुले राम्ररी हात धोएर महिलालाई सुत्केरी गराउन थालेपछि भियनामा नवजात शिशु मृत्यूदरमा कमी आएको थियो ।
हातमा संक्रमण हुने व्याक्टेरियाहरुमा इकोलाई, मिथिसिलिन रेसिस्टेन्ट स्टाफाइलोकोकस औरस (एन्टिबायोटिकले नछुने छालामा हुने एक किसिमको इन्फेक्सन), इन्टेरोकोकाई, सिउडोमोनस एरोजेनुसा, साल्मोनेला, स्ट्रेप्टोकोकस, स्टाफाइलोकोकस, क्यान्डिडस, क्लस्ट्रिडियम डिफिसिली आदि रहेका छन् ।

साबुनपानीले राम्रोसँग हात धोएर यसलाई राम्रोसँग सुकाउन अति जरुरी हुन्छ । कतिपय ठाउँमा पानी, साबुन सबैको सुविधा हुँदा हुँदै पनि हात पुछ्न एउटै रुमाल प्रयोग गर्नाले व्याक्टेरियाबाट संक्रमणमुक्त हुन सकिँदैन । रुमालमार्फत कन्टामिनेसन हुने अत्यधिक संभावना रहन्छ । त्यसैले यसमा ध्यान दिन जरुरी हुन्छ ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डाक्टर, स्पेशलिष्ट कन्सल्टेन्ट, इन्टर्न डाक्टर, नर्सिङ स्टाफ, मेडिकल र नर्सिङ बिद्यार्थीहरुले बिरामीसँगको संसर्गमा आएपछि हात धुने अवस्था कस्तो छ ? भन्ने बारे गरिएको अध्ययनमा सबैभन्दा धेरै नर्सहरुले हात धुने गरेको पाइएको छ । कलेजका स्पेशलिष्ट कन्सल्टेन्ट, इन्टर्न डाक्टर, नर्सिङ स्टाफ, मेडिकल र नर्सिङ बिद्यार्थीमध्ये अनुसन्धानमा ३ सय ३६ जनालाई संलग्नता गराइएको थियो । अनुसन्धानको पहिलोचरणमा तपाईंहरु कुन किसिमको हात सफा गर्ने विधि अपनाउनुहुन्छ ? भन्ने प्रश्नमा सबैभन्दा धेरै सहभागीहरुले साबुनपानीको प्रयोग गर्ने बताए । कतिपले झोल साबुनको प्रयोग, कतिले साधारण साबुन र झोल साबुन दुवै प्रयोग गर्ने, कतिपले पानी मात्र प्रयोग गर्ने, कतिले अल्कोहलमा आधारित हात सफा गर्ने झोल र साढे ३ प्रतिशतले त बिरामी छोएर हात नधुने बताए ।

हात सफा गर्ने सामाग्री                                               प्रतिशत
सोप बार                                                             १७३ (५१.५%)
झोल साबुन                                                        ७४ (२२ %)
सबै सामाग्री प्रयोग गर्ने                                      ३३ (९.८ %)
पानी मात्र प्रयोग गर्ने                                          ३० (८.९ %)
अल्कोहलयुक्त ह्याण्ड स्यानिटाइजर                १४ (४.२ %)
कुनै पनि सामान प्रयोग नगर्ने                          १२ (३.६ % )
बिरामीलाई जाँच गर्ने क्रममा बिरामीलाई छुन अघि र छोएपछि हात धुने अभ्यासबारे शोधिएको प्रश्नमा नर्स र नर्सिङ बिद्यार्थीहरुमा बिरामीलाई छुन अघि र छोइसकेपछि पनि हात धुने अभ्यास धेरै राम्रो देखियो । त्यसपछि चिकित्सकहरु परेका छन् । उनीहरुमध्ये ३६.७ प्रतिशतले हात धुने गरेका छन् । तर इन्टर्न डाक्टर र मेडिकल बिद्यार्थीहरुमा अलि कम देखिएको छ । बिरामी छुन अघि र छोइसकेपछि ३१ प्रतिशत इन्टर्न डाक्टर र २६ प्रतिशत मेडिकल विद्यार्थीले हात धुने गरेका छन् ।

बिरामी छुन अघि भन्दा बिरामी छोइसकेपछि धेरैले हात धुने गरेको पाइएको छ । बिरामीमा भएको रोग आफूमा सर्ने डरले बिरामी छोइसकेपछि हात धुने गरेको अधिकांशले बताए । तर हातमा भएको किटाणु बिरामीलाई पनि सर्न सक्ने भएकाले बिरामी छुन अघि हात धुनुपर्छ भन्ने मान्यता थोरै व्यक्तिमा मात्र भएको पाइयो । बिरामी छुन अघि र छोइसकेपछि धेरै मेडिकल विद्यार्थीहरुले हात धुने गरेका छैनन् । ३९ प्रतिशत मेडिकल बिद्यार्थीले हात धुँदैनन । यो संख्या इन्टर्न डाक्टरमा पनि धेरै छ । तर नर्स, नर्सिङ विद्यार्थी र डाक्टरमा बिरामी छुन अघि र छोइसकेपछि हात नधुने प्रचलन न्यून छ ।
अस्पतालमा बिरामीको उपचारका क्रममा विभिन्न किसिमका औजारहरु छुनुपर्छ । बिरामीको रगत तान्नुपर्छ । ड्रेसिङ गर्नुपर्छ । यद्यपी हानिकारक तत्वहरुसँग काम गरिसकेपछि तपाई कतिको हात धुनुहुन्छ ? भन्ने प्रश्नमा ७१(१००% ) इन्टर्न डाक्टर र ४९ (१०० % ) नर्सिङ बिद्यार्थीले हात धुने बताए । तुलनात्मक रुपमा उनीहरु धेरै सचेत भएको पाइएको छ । यसैगरी डाक्टर र नर्सहरु पनि धेरै सजग भएको अनुन्धानले देखाएको छ ।

कुनै रोग लाग्नसक्ने संभावना बोकेका बिरामीसँग काम गर्ने सबै सहभागीले शत्प्रतिशत हात धुने गर्छन् । यसरी हात धुनेमा ९८ प्रतिशत डाक्टर र नर्स रहेका छन् ।
बिरामी मात्र रोग सार्ने माध्यम होइनन् । डाक्टर, नर्सलगायत उपचारमा संलग्न व्यक्तिहरुबाट पनि उनीहरुमा भएको रोग बिरामीमा सर्नसक्ने संभावना रहन्छ । हाछ्यूँ गर्दा, सिंगान फ्याँक्दा, खोक्दा हातको प्रयोग भएको हुन्छ । यद्यपी, हाछ्यूँ गर्दा, खोक्दा, सिंगान फ्याक्दा प्रयोग गरिएको हात सम्बन्धित चिकित्सक र नर्सले धुन्छन् वा धुदैनन् ? भन्ने प्रश्नमा सबैभन्दा धेरै नर्सहरुले (९१.१ प्रतिशत) हात धुने गरेको पाइयो । यसका साथै नर्सिङ बिद्यार्थी पनि धेरै छन् । यस अनुसन्धानमा ७० प्रतिशत डाक्टरहरुले मात्र हात धुने भेटियो ।
नर्सिङ शिक्षामा हात धुनुपर्ने कुरालाई विशेष महत्व दिएर राखेको पाइन्छ । जनचेतनाको दृष्टिकोणबाट नर्स र नर्सिङ बिद्यार्थीहरुमा हात धुने कुरामा ध्यान दिने धेरै देखियो । मेडिकल शिक्षाको तुलनामा नर्सिङ शिक्षामा यसबारे धेरै सिकाउने भएकाले नर्सहरुले हात धुने कुरामा धेरै ध्यान दिने गरेका छन् । त्यसैले मेडिकल विद्यार्थीलाई पनि हात धुनेबारे सिकाउन जरुरी देखिन्छ ।
डाक्टर, नर्स, मेडिकल बिद्यार्थी, नर्सिङ बिद्यार्थी सबैले बिरामी छुन अघि र छोइसकेपछि राम्ररी हात धोई सुकाउनुपर्छ । त्यसपछि मात्र हातमा कुनै किसिमको व्याक्टेरिया बस्न पाउँदैन । चिसै हात लिएर हिँड्दा त्यसमा ब्याक्टेरिया आएर बस्न सक्ने संभावना रहन्छ ।
हात धोइसकेपछि तपाईहरु हात सुकाउन कुन विधि अपनाउनुहुन्छ ? भन्ने प्रश्नमा अधिकांशले अस्पतालले राखिदिएको रुमालको प्रयोग गर्ने बताए । डिस्पोजेवल टावेल कमै मात्रले प्रयोग गर्ने रहेछन् । यदि कसैको हात राम्ररी नधोएको अवस्थामा सबैले एउटै टावेल प्रयोग गर्दा एक अर्काको हातमा व्याक्टेरियाको संक्रमण हुनसक्छ र यो बिरामीलाई सर्नसक्ने संभावना रहन्छ ।
आजकल होटेलमा खाना खाएर हात धुने ठाउँमा रुमाल राखिदिएको हुन्छ । सबैले यसलाई प्रयोग गर्छन् । तर यसले एउटाको हातमा रहेको व्याक्टेरिया अर्कोमा संक्रमण हुने प्रवल संभावना रहन्छ ।
एकपटक प्रयोग गरिसकेपछि डिस्पोज गर्ने किसिमको रुमाल एकदमै प्रभावकारी हुने बैज्ञानिक रुपमा प्रमाणित भएको छ । मेसिन प्रयोग गरेर हात सुकाउने पद्दति पनि निकै प्रभावकारी सावित भएको छ । तर हरेक देशका सबै अस्पतालहरुमा यस किसिमको सुविधा पाउन सकिदैन । यस किसिमको सुविधा दिन अलि महँगो पर्ने भएकाले धेरैले राख्न सकेको अवस्था छैन ।
कुनै पनि संस्थाले के गरिदिएमा हात धुने अभ्यास राम्रो हुन्छ ? भन्ने प्रश्नमा अधिकांशले हात धुने ठाउँ उपयुक्त ठाउँमा हुनुपर्ने बताए । बिरामीलाई छोएपछि लगत्तै हात धुन मिल्ने ठाउँ हुनुपर्छ । बिरामी हेर्ने ठाउँबाट हात धुने ठाउँ टाढा हुँदा हात धुन जान बिर्सन सकिन्छ । यसका साथै हात धुने ठाउँमा पानी मात्र भएर नहुने र अनिवार्य रुपमा सावुनको व्यवस्था हुनुपर्ने बताए ।
तर हरेक बिरामीलाई छुनेबित्तिकै हात धुँदा हातमा भएको चिल्लोपना सकिएर छालाको समस्या देखिनसक्छ । त्यसैले दिनमा धेरैपटक साबुन पानीले हात धुन पनि राम्रो मानिदैन । हातमा भएको चिल्लोपनाले छाला नरम बनाउँछ र बाहिरको ब्याक्टेरियल इन्फेक्सनबाट हातलाई बचाउँछ । सुक्खा छालाले बाहिरी वातावरणबाट हुनसक्ने इन्फेक्सनसँग लड्न सक्दैन । युरोप अमेरिकातिर बिरामीलाई छोएपछि नजिकै हात धुने साबुनपानीको व्यवस्था पनि हुन्छ । तर त्यहाँ ह्याण्ड स्यानिटाइजर ( अल्कोहलमा आधारित केमिकल) को पनि व्यवस्था गरिदिएको हुन्छ । यसलाई तीन चार मिलिलिटर हातमा लगाएर राम्रोसँग पुछ्नाले साबुनपानीले हात धोएर सुकाएको बराबर हुन्छ । यसमा क्रस कन्टामिनेस हुने संभावना रहँदैन । नेपालका अस्पतालहरुमा पनि यस किसिमको सुविधा राख्दा प्रभावकारी हुने देखिन्छ ।
अरु साबुनको तुलनामा झोल साबुन राम्रो मानिन्छ । झोल साबुन भन्दा ह्याण्ड स्यानिटाइजर अझ राम्रो मानिन्छ । ओपिडिमा दैनिक एक सय भन्दा धेरै बिरामी आगमन हुने ठाउँमा हरेकलाई हेरेर हात धुन संभव हुँदैन । यसका लागि ह्याण्ड स्यानिटाइजर राम्रो आध्यम मानिन्छ । यो प्रभावकारी हुनुका साथै समयकोसमेत बचत हुन्छ ।
विश्वमा गरिएको अनुसन्धानसँग यो अनुसन्धानको नतिजामा समानता देखिएको छ । मेडिकल डाक्टरको तुलनामा नर्सहरुमा हात धुने कुरामा धेरै सचेतना देखिएको छ । अहिलेको समयमा कमन टावेल उपयुक्त देखिंदैन । कमन टावेल प्रयोग गर्दा एक व्यक्तिको हातको संक्रमण अर्कोमा सरेको देखिएको छ ।
अस्पताल र स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकार्यकर्ताले बिरामीलाई सार्ने रोगलाई वैज्ञानिक भाषामा इयाक्लोजेनिक डिजिज भनिन्छ । यसलाई निर्मुल पार्न हात धुन अति जरुरी छ । बिरामीले मात्र रोग सार्दैनन् । डाक्टरले डाक्टरलाई पनि रोग सार्न सक्छन् । नर्सले नर्सलाई रोग सार्न सक्छन । उनीहरुले परिवारलाई पनि रोग सार्न सक्छन् । लुगा संक्रमण हुने हुँदा अन्य व्यक्तिलाई पनि रोग सर्ने संभावना रहन्छ ।
हात धुनुपर्छ भन्ने जानकारी हुँदा हुँदै पनि कतिपय अस्पताललगायतका स्वास्थ्य संस्थाहरुले हात धुने सुविधा उपलब्ध गराउन सकेका छैनन् । बिरामी हेर्ने ठाउँमा साबुनपानीको व्यवस्था हुनुपर्छ । डिस्पोजेबल रुमालको व्यवस्था हुनुपर्छ । यसमा गरिएको खर्चलाई अस्पतालहरुले लगानी मान्नुपर्छ । यसले दीर्घकालीन रुपमा अस्पतालको खर्च घटाउन मद्दत पु¥याउँछ । अस्पतालको क्रस इन्फेक्सन घट्न थालेपछि बिरामी चाँडै स्वस्थ हुन्छन् । बिरामीले कुनै रोग लिएर आइरहँदा अस्पतालमा फेरि अर्को रोग लागेमा फेरि उपचार गर्नुपर्ने बाद्यता रहन्छ । त्यसैले उपचारको विधि लामो, खर्च लामो हुनेगर्छ । हात धुने अभ्यासका लागि अस्पतालहरुले स्ट्यान्डर्ड प्रोटोकल बनाउन जरुरी हुन्छ ।
नर्सिङ बिद्यार्थीमा हात धुने अभ्यास राम्रो छ तर मेडिकल विद्यार्थीमा कम छ । हात धुने अभ्यासलाई मेडिकल पाठ्यक्रममा राखेर शुरुदेखि नै यसबारे उनीहरुमा अभ्यास गर्ने बानीको विकास गराउन सकेमा हस्पिटल इन्फेक्सन धेरै नियन्त्रण गर्न सकिन्छ ।
निजीस्तरका अस्पतालहरुले हात धुने विभिन्न विधिको सुविधा दिन सक्लान । तर सरकारी अस्पतालहरुमा हात धुने सुविधा त परै जाओस् धारामा पानी समेत हुँदैन । पानीको अभावमा यहाँ शौचालय जानसमेत मुश्किल पर्छ । पानी नै नआउने ठाउँमा हात धुने अभ्यासको विकास गर्न संभव हुँदैन । यस्ता अस्पतालहरुले अल्कोहलमा आधारित केमिकल प्रयोगमा ल्याउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्