Logo
|
Wednesday 27th November 2024
Logo

epaper

चार वर्षदेखि अनशनमा



उनका लागि महिना र बारले कुनै अर्थ राख्दैनन् । न कुनै चाडपर्व र उल्लासले नै छुन्छ । वीर अस्पतालमा चार वर्षदेखि सरकारी रेखदेखमा अनशन बसिरहेकी छन् उनी ।

गोरखा फुजेलकी गंगामाया अधिकारीले छोराको हत्यारालाई पक्राउ गरी कारबाही माग राख्दै अनशन सुरु गरेको कात्तिकको दोस्रो साता चार वर्ष पूरा भई पाँच लागेको छ । सँगै अनशन बसेका उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा २०७१ असोज ६ गते निधन भयो ।

वीर अस्पतालमा अनशनरत गंगामाया भन्छिन्– मेरो माग पूरा भएछ भने हो, नत्र म यहाँबाट जीवितै

उनको शव अझै शिक्षण अस्पताल, महाराजगन्जमै छ ।
अझै कति दिन यसरी बस्नुहुन्छ ?

‘सास छउन्जेल,’ गंगामाया भन्छिन्, ‘माग पूरा भएछ भने हो, नत्र म जिउँदै यहाँबाट निस्कने छैन ।’

छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै गंगामाया र नन्दप्रसाद दम्पतीले २०७० कात्तिक ७ बाट आमरण अनशन सुरु गरेका थिए ।

‘माग पूरा नभएसम्म उहाँको लास उठाउन मन लागेन,’ उनी भन्छिन्, ‘कतिसम्म कुर्नुपर्दो रहेछ, हेर्नु छ ।’

पतिको मृत्युपछि पनि गंगामायाले लामो समयसम्म अनशन जारी राखिन् । २०७२ पुस ६ गते सर्वोच्च अदालतले उनको छोराको हत्या अभियोग लागेका व्यक्तिहरूलाई पक्रेर अनुसन्धान सुरु गर्न आदेश गरेपछि उनले अनशन तोडेकी थिइन् । ‘त्यसयता मलाई दूध र सुप खुवाउन थालिएको छ,’ गंगामाया भन्छिन्, ‘सर्वोच्चको आदेश पालना हुन्छ कि भनेर मैले थप दुई वर्ष कुरें, तर भएन ।’

सरकारलाई उनले यही कात्तिक १२ गतेसम्मको अल्टिमेटम दिएकी थिइन् । त्यो अवधिमा पनि माग पूरा हुने छाँट छैन ।

गंगामायाको सत्याग्रह नेपालको इतिहासकै पहिलो भएको अधिकारवादी बताउँछन् । ‘न्यायका लागि ज्यानै अर्पण गर्ने साहस हुनु चानचुने कुरा होइन,’ मानव अधिकारवादी अधिवक्ता ओमप्रकाश अर्याल भन्छन्, ‘तर पनि राज्यले उनलाई न्याय दिलाउन सकेन । फौजदारी न्याय प्रणालीलाई राजनीतिक तवरबाट सुनियोजित ढंगले निष्क्रिय बनाउने काम भएको छ जसले गर्दा उनी र उनीजस्ता अन्य पीडितले न्याय पाउन सकिरहेकी छैनन् ।’ गंगामायाले न्यायका लागि १३ वर्षदेखि अथक संघर्ष गर्दै आएकी छन् । उनका १७ वर्षीय छोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते अपहरण गरी हत्या गरेका थिए । त्यसको एक वर्षपछि अधिकारी दम्पतीले छविलाल पौडेललगायतमाथि छोराको हत्या गरेको किटानी जाहेरी प्रहरीमा दिएका थिए । तर प्रहरीले कुनै पनि अभियुक्तविरुद्ध अनुसन्धान नथालेपछि आन्दोलनमा उत्रेका अधिकारी दम्पती गोरखाकै नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि न्याय पाऊँ भन्दै काठमाडौं आएका थिए ।

न्याय त परै, प्रधानमन्त्रीलाई भेट्नसमेत नपाएपछि उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमै अनशन बस्न थाले । प्रहरीले कहिले उनीहरूलाई समातेर गोरखै पुर्‍याई छाडिदिने, कहिले अस्पताल लगेर भर्ना गरिदिने गर्दै आएको थियो । यसै क्रममा २०७० जेठ ३१ गते प्रहरीले उनीहरूमा पागलपन भएको भन्दै मानसिक अस्पताल भर्ना गरिदिएको थियो । त्यसको सर्वत्र आलोचना भएपछि अस्पतालले उनीहरू मानसिक हिसाबले स्वस्थ रहेको भन्दै त्यसै वर्ष असार ७ गते डिस्चार्ज

गरिदिएको थियो ।

अस्पतालबाट निक्लेको केही क्षणमै उनीहरू अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर आफ्ना कुरा राख्न बालुवाटार पुगेका थिए । पहिलेजस्तै प्रहरीले रोकेपछि उनीहरू सडक पेटीमै आमरण अनशनमा बसेका थिए । त्यसको आठौं दिन अधिकारी दम्पतीको हालत नाजुक बन्दै गएपछि उनीहरूलाई प्रहरीले वीर अस्पताल लगेर छाडिदिएको थियो ।

अस्पतालमा पनि उनीहरू थुप्रै साता अनशन बसेपछि स्लाइन दिएर उनीहरूको ज्यान जोगाइएको थियो ।

खिलराज रेग्मी आफैं भेट्न गएर उनीहरूको माग पूरा गर्न कुनै कसर बाँकी नराख्ने आश्वासन दिएर अनशन तोड्न आग्रह गरेका थिए ।

सरकारकै निर्देशनमा प्रहरीले आरोपीमध्येका एक रामप्रसाद अधिकारीलाई २०७० भदौ २० मा पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

अधिकारीविरुद्ध अनुसन्धान भएको भन्दै सरकारले आग्रह गरेपछि उनीहरूले अनशन बसेको ४५ दिनपछि भदौ २२ मा तोडेका थिए ।

प्रमाण नपुगेको भन्दै अधिकारीलाई चितवनका सरकारी वकिलले मुद्दै नचलाई असोज १६ मा छाडिदिएका थिए ।

अधिकारी दम्पतीले २०७० कात्तिक ७ देखि फेरि अनशन सुरु गरेका थिए । अनशन लम्बिँदै जाँदा उनीहरूको स्वास्थ्य नाजुक भएपछि सरकारको आदेशमा वीर अस्पतालका चिकित्सकले उनीहरूलाई स्लाइन लगाएर बचाएको थियो । त्यति गर्दागर्दै पनि नन्दप्रसादको मृत्यु अस्पतालमै भएको थियो ।कान्तिपू्रबाट

प्रतिक्रिया दिनुहोस्