Logo
|
Thursday 18th April 2024
Logo

epaper

विश्व मस्तिष्कघात दिवसमा नेसोनको वाकाथुन, विश्वमा बर्षेनी १ करोड ५० लाखको मस्तिष्कघात



नेप्लिज सोसाइटी अफ न्यूरो सर्जन (नेसोन) ले आज राजधानीमा जनचेतनामुलक वाकाथुन कार्यक्रमको आयोजना गरेको छ ।
विश्व मस्तिष्कघात दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा वाकाथुन कार्यक्रमको आयोजना गरिएको हो ।
हरेक वर्ष अक्टोबर २९ मा संसारभर विश्व मस्तिष्कघात दिवस मनाउने गरिएको छ ।
यस बर्ष ‘टाइम इज ब्रेन’ अर्थात मस्तिक समय जस्तै हो एकपटक क्षति भइसकेपछि फर्केर आउँदैन भन्ने नाराका साथ विश्व मस्तिष्कघात दिवस मनाइएको छ ।
नेसोनका सदस्य एवं दीर्घायूगुरु हस्पिटलका न्युरो सर्जन डाक्टर सुमित जोशीले मस्तिष्कघात बढ्दो आम समस्याको रुपमा देखिएकाले यसप्रति सजग र सचेत रहनुनपर्ने आवश्यकता औंल्याउनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार, प्रतिवर्ष विश्वमा हुने १ करोड ५० लाख मस्तिष्कघातमध्ये १५ लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किएका छन् । त्यसमा ७५ लाख अपाङ्ग हुने गरेका छन् भने ५० लाखको ज्यान जाने गरेको छ ।
अहिले नेपाल लगायत विश्वमा नै मस्तिष्कघातको समस्या बढ्दो गतिमा छ । व्यक्तिको आयु लम्बिरहेको वर्तमान अवस्थामा मस्तिष्कघातको समस्या पनि त्यही गतिमा बढिरहेको छ ।
मस्तिष्कमा रक्तनली खुम्चिएर वा रक्तनली फूटेर सम्बन्धित मस्तिष्कको भाग निष्कृय भई प्यारालाईसिस हुने रोगलाई मस्तिष्कघात भनिन्छ । यसलाई बृद्धावस्थाको रोग पनि भनिन्छ । प्रायः६० वर्ष नाघेकाहरुलाई यस किसिमको समस्या धेरे देखिने गर्छ । बृद्धावस्थामा मस्तिष्कका नशाहरु साँघुरिदै जाने र यो उमेरमा उच्चरक्तचाप र मधुमेहको बढी संभावना भएकाले मस्तिष्कघात हुने संभावना पनि बढी हुन्छ । खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण यो समस्या युवा उमेरका व्यक्तिहरुमा पनि देखिएको छ । केही बच्चाहरुलाई वंशाणुगत कारण मस्तिष्कघात हुने गर्छ । जन्मजात मस्तिष्कको नशा सुन्निएको वा राम्रोसँग नशाको विकास नभएका बच्चाहरुलाई मस्तिष्कघात हुने गर्दछ ।
मस्तिष्कघात हुनमा उच्च रक्तचाप, मधुमेह , बुढ्यौलीपन मुख्य कारण मानिन्छ । ६५ वर्ष उमेर नाघेकाहरुमा मस्तिष्कघात हुने संभावना धेरै हुन्छ । महिलाहरुको तुलनामा पुरुषहरुमा मस्तिष्कघातको संभावना बढी हुन्छ । यो वंशाणुगत पनि हुनसक्छ । मद्यपान, धुम्रपान, मुटुको चालमा गडबडी, मुटुुरोग तथा रक्तसञ्चारसम्बन्धित समस्या (जस्तै—एट्रियल—फ्रिबिलेसन, अथेरोस्क्लेरोसिस, डिप भेन थम्बोसिस, एन्युरिजम, पुरानो माइग्रेन) ले मस्तिष्कघातलाई निम्त्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्