Logo
|
Sunday 19th May 2024
Logo

epaper

देब्रे घुँडाको उपचार गर्न जाँदा दाहिनेको शल्यक्रिया !



 नर्भिक अस्पतालमा कार्यरत चिकित्सकले बायाँ घुँडाको उपचार गर्न गएकी चितवनकी विन्दु पौडेलको दायाँ घुँडाको शल्यक्रिया गरेका छन्। ३८ वर्षिया पौडेलको देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार गर्नुपर्नेमा चिकित्सकद्वय प्रवीण नेपाल र शैलेज रञ्जितकारको टोलीले दायाँ घुँडाको शुक्रबार शल्यक्रिया गरेका थिए।

चिकित्सकले लापरवाही गरेको भन्दै गुनासो गरेपछि उक्त शल्यक्रियामा संलग्न डा.नेपाल र रञ्जितकारले भुलवश मानवीय त्रुटि भएको स्वीकार गरेका पीडितका एक आफन्तले बताए।

शल्यक्रिया गरेका चिकित्सकले गल्ती स्वीकारेपछि अस्पताल प्रशासन र बिरामी पक्षबीच शनिबार सहमति भएको छ। शल्यक्रिया गरिएको दायाँ घुँडाको कारण भविष्यमा आइपर्ने स्वास्थ्य समस्याको उपचार अस्पतालले गरिदिने भएको छ। देब्रे घुँडाको लिगामेन्ट टियरको उपचार र यससँग जोडिएर आउने नसालगायत समस्या निःशुल्क उपचार गर्ने जिम्मेवारी अस्पताल व्यवस्थापनले लिएको छ।

साथै दुवै गोडाको भविष्यमा हुन सक्ने सम्पूर्ण उपचार निःशुल्क गरिने गरी अस्पताल व्यवस्थापन पक्षले पीडित पक्षसँग सहमति गरेको छ। पीडित पौडेलको नाममा निःशुल्क उपचार कार्डसमेत अस्पतालले बनाइदिने भएको छ। नर्भिक अस्पतालका चिकित्सकबाट मात्र उपचार गर्न असहज भएमा अन्य अस्पतालका विज्ञ चिकित्सकहरूको समेत सहयोग लिई पूर्ण उपचार गरिनेसमेत सहमति भएको छ।

बिरामीलाई घुँडाको उपचारका लागि नेपाल बाहिर लैजानुपर्ने भए उपचारमा लाग्ने खर्चसमेत अस्पतालले व्यहोर्ने जनाइएको छ। सहमतिपत्रमा बिरामीका पति किशोर पौडेल र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन्। उपचारमा संलग्न चिकित्सकद्वय प्रवीण नेपाल र शैलेज रञ्जितकार तथा बिरामीका आफन्तहरूलाई रोहबरमा राखी सहमति गरिएको छ।

अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीले चिकित्सकबाट कमीकमजोरी भएको स्वीकार्दै भने, ‘यस्ता मानवीय त्रुटि कहिलेकाहीँ हुन सक्छ। सरोकारवाला पक्षसँग सहमति भइसकेको छ।’ अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्