Logo
|
Sunday 19th May 2024
Logo

epaper

सुरक्षाको प्रत्याभूति नभएसम्म चिकित्सकहरु डोटी नजाने



नेपाल चिकित्सक संघले डोटी जिल्ला अस्पतालका चिकित्सक जितेन्द्रकुमार सिंहमाथी आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले चिकित्सकलाई आक्रमण गर्ने व्यक्ति राजनीतिक आवरणका भएकोले राजनीतिक तहबाटै उनीहरुको सुरक्षा भइरहेको बताउनुभयो । उहाँले चिकित्सकलाई आक्रमण गर्नेमध्ये तीन जना सरकारी कार्यालयका कर्मचारी र एक जना राजनीतिक दलका स्थानीय नेता रहेको दाबी गर्नुभयो ।
हाल प्रहरी हिरासतमा रहेका मध्येका एक विजयसिंह विष्ट सरकारी विद्यालयका शिक्षक , टेकबहादुर विष्ट विद्युत प्राधिकरणको कर्मचारी, हिक्मतसिंह विष्ट जिल्ला निर्वाचन कार्यालयका कार्यालय सहयोगी भएको प्रष्ट पार्नुभयो ।
उहाँले अर्का आक्रमणकारी अरुण महत नेपाल कांग्रेससंग आवद्ध स्थानीय नेता भएको भन्दै उहाँले सरकारी कर्मचारीहरुले नै चिकित्सकमाथि आक्रमण गर्नुले नेपालको चिकित्सा जगत असुरक्षामा काम गर्नुपरीरहेको उल्लेन गर्नुभयो । एक जना महिला विरामीको उपचारको विषयलाई लिएर उनीहरुले डा सिंहमाथि आक्रमण गरी मरणासन्त हुने गरि कुटपिट गरेका थिए ।
आक्रमण भएको तीनदिनसम्म पनि स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै डोटीका डाक्टरहरु जिल्ला छाडेर काठमाडौ आएका छन् । पत्रकार सम्मेलनमा पिडीत डाक्टर सिंहले सुरक्षाको कारण आफूहरु राजधानीमा आउनु परेको गुनासो गर्नुभयो । उहाँले जिल्लामा रहेका ४ सरकारी डाक्टरमध्ये तीन जना राजधानीमा आएको र एक जना तालिममा रहेको बताउनुभयो ।
संघका महासचिव डा.लोचन कार्कीले काठमाडौ आएका चिकित्सकहरुको हाजिर गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयमा मिलाइएको जानकारी दिनुभयो । उहाँले असुरक्षाको महसुस गर्दै राजधानी छिरेका सरकारी डाक्टरलाई तत्काल मन्त्रालयमा हाजिर गर्ने व्यवस्था मिलाइएको भन्दै सुरक्षाको प्रत्याभुति नहुँदासम्म चिकित्सकहरु डोडी नजाने उल्लेख गर्नुभयो ।
नेपाल चिकित्सक संघले चिकित्सक माथि आक्रमण बढी रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले चिकित्सक सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डी पौडेलले स्वास्थ्य सेवा जस्तो अत्यन्तै संवेदनशिल क्षेत्रमा काम गर्ने हामी चिकित्सकहरुमाथि दिनप्रतिदिन सांघातिक आक्रमण गर्दै जाने, नेपाल सरकार तथा स्थानीय सुरक्षा निकाय मुक दर्शक बनेर बस्ने, उल्टै चिकित्सकहरुमाथि नै कथोकल्पित आरोपहरु लगाउँदै अनावश्यक कानूनी झन्झटमा फसाउने काम भइरहेको बताउनुभयो । विधि, विधान, र ऐन कानून सम्मत तरिकाबाट हामीले सुरक्षित र भयरहित हुने वातावरण खोजेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्