Logo
|
Sunday 19th May 2024
Logo

epaper

रोल्पालीको भान्सामा आयोडिन नुन पुगेन



नेपाल सरकारले सबैको खानामा अनिवार्य रुपमा आयोडिन नूनको प्रयोग होस् भन्ने उद्देश्य राखे पनि केही रोल्पालीका भान्छामा भने अझै आयोडिन नून पुग्न सकिरहेको छैन । रोल्पामा केही परिवार अझै पनि ढिके नून प्रयोग गर्छन् ।

सरकारले केही वर्ष अघि फेब्रुअरी महिनालाई आयोडिनको प्रचारप्रसारको महिनाको रुपमा मनाउने निर्णय गरेको हो । तर पनि जिल्लाका दूरदराजका जनतालाई आयोडिन नूनको उपयोगिताबारे थाहा छैन भने कतिपयले थाहा हुँदाहुँदै पनि विभिन्न बहानामा ढिके नूनको प्रयोग गर्दै आइरहेका छन् ।

माडी गाउँपालिका ५ भाबाङ रोल्पाका ६५ वर्षीया धनकुमारी पुनले आफ्नो भान्छामा ढिकेनून नै प्रयोगमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “छोराहरु वैदेशिक रोजगारीमा छन् । बुहारीहरु सदरमुकाम बस्छन् । घरमा रहेका बूढाबूढीले ढिकेनून नै प्रयोग गर्छम् । पोके नून भन्दा ढिकेनून सस्तो छ ।” पोके नूनको प्रयोगले गाईबस्तुमा जुम्रा पार्छ र मान्छेको शरीर चिलाउँछ भन्ने भ्रम उहाँमा रहेको छ ।

सदरमुकाममा बस्दैआएका ७० वर्षीया प्रभा घर्तीमगरलाई पहिलेदेखि खाँदै आएको हुँदा ढिकेनून नै मन पर्छ । छोराछोरीले पोका नून प्रयोग गरेपनि आफूले भान्छा गर्दा ढिकेनून नै प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

साविकको थबाङ गाविस ७ तेलखोला रोल्पाका २९ वर्षीया जीना घर्तीमगरलाई भने पोका नून मन पर्छ तर भौगोलिक विकटताका कारण उहाँको गाउँमा ढिकेनून भन्दा पोका नून करिव दोब्बर मूल्यले महंगो पर्छ । गाउँमा ४० रुपैयाँ प्याकेटका दरले आयोडिनयुक्त प्याकेटको नून पाइने भएपछि उहाँले नचाहेर पनि ढिकेनूनको प्रयोग गर्दै आउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्