Logo
|
Wednesday 1st May 2024
Logo

epaper

घुम्ती शिविरबाट जनतालाई सेवासुविधा दिइयो



 

 उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको लिङचुङबुङ गाउँपालिकासहित जिल्लाको मध्य पहाडी क्षेत्रका ग्रामीण भेगका जनतालाई लक्ष्यीत गरेर सञ्चालन गरिएको दुुई दिने घुम्ती शिविर आइतबार सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुर र लिङचुङबुङ गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको दुईदिने उक्त शिविरमा नागरिकता प्रमाणपत्र वितरण, स्वास्थ्य चेकजाँच, पशुसेवा, मल बीउबिजन वितरणसहितका सेवा उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको टोलीले सो भेगका झण्डै ३१० जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ भने जिल्ला निर्वाचन कार्यालय उदयपुरले २५१ जनाको फोटोसहितको मतदाता नामावली सूची तयार गरिएको सो गाउँपालिकाका अध्यक्ष मेजर राईले बताउनुभयो ।

यस्तै जिल्ला कृषि विकास कार्यालयका टोलीले ९५ जना कृषकलाई आधुनिक प्रजातिका बीउबिजन वितरण गरेको छ भने महिला तथा बालबालिका कार्यालयले १८ जना अपाङ्गता भएकालाई परिचयपत्र दिने सिफारिस गरेको छ ।

यस्तै जिल्ला जनस्वास्थ्य कार्यालयका टिमले २१० जनाको स्वास्थ्य चेकजाँच र केहीको उपचारसमेत गरेको टोलीका प्रमुख तथा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत खड्काले बताउनुभयो ।
उक्त घुम्ती शिविरमा जाँते, बलाम्ता, बराह, बाँसबोटे, ताम्लिछा, इनामेलगायतका ग्रामीण भेगका जनताले सेवा प्राप्त गरेका थिए ।
ग्रामीण भेगका जनताले सरकारी सेवा प्राप्त गर्न कुनै कठिनाइ नहोस् भनेर प्रशासन र गाउँपालिकाको संयुक्त टोलीले गाउँमा नै सेवा उपलब्ध गराएको उदयपुरका प्रमूख जिल्ला अधिकारी विष्णु कार्कीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्