Logo
|
Thursday 1st December 2022
Logo

epaper

धूमपानले बर्सेनि ३० हजारको मृत्यु



 

 धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि कडाभन्दा कडा कानुन बने तापनि कम हुन सकेको छैन । अहिले काठमाडौं जिल्लालाई धूमपानरहित सहर बनाउने अभियान पनि चलिरहेको छ, यद्यपि सार्वजनिक स्थानमा यसको प्रयोग न्यूनीकरण हुन सकेको छैन ।

धूमपान र सुर्तीजन्य पदार्थको लतमा युवापुस्ता बढी फस्तै गएकाले उनीहरू कम उमेरमै मुटु रोगको सिकार भइरहेका छन् । मुटु रोग विशेषज्ञ डा.रवि बराल भन्छन्, ‘सुरुमा फेसनका लागि धूमपान गर्ने युवापुस्ता पछि लतमा फस्छन्, लत छुटाउनका लागि उनीहरूलाई प्रेरणा गर्नुपर्नेमा गालीबेइज्जती गर्ने प्रवृत्ति गतल छ ।’ धूमपानकै कारण मुटु रोगी बनेका युवा वर्गको संख्या दिनहुँ बढ्दै भएको उनले बताए । उनी थप्छन्, ‘धूमपान छोड्न चाहनेका लागि डाक्टरको परामर्शबाहेक अरू व्यवस्था छैन, ठूला क्यान्सर अस्पतालमा ‘टोबाको क्विटिङ ’ कार्यक्रम हुन आवश्यक छ ।’सरकारले सार्वजनिक स्थानमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग गर्नेलाई एक सय रुपैयाँदेखि ५ हजारसम्म जरिवाना तोकेको भए पनि हालसम्म एक जना पनि कारबाहीको दायरामा आउन सकेका छैनन् ।

स्वास्थ्य मन्त्रालयले सन् २००० मा गरेको सर्वेक्षण नेपालमा धूमपानका कारण प्रत्येक दुई सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । त्यस्तै धूमपान र सुर्तीजन्य पदार्थ सेवनकै कारण हरेक वर्ष ३० हजारको ज्यान जाने गरेको विशेषज्ञको अनुमान छ । जसमा ११ प्रतिशत युवा समूह पर्छन् । धूमपानका कारण रोगी बनेका पाँच बिरामीमध्ये दुई अरूले गरेको धूमपानको धुवाँले गर्दा हुने गरेका छन् । धूमपानले मुख्य गरी हृदयाघात निम्त्याउँछ, जसको लक्षण अन्तिम अवस्थाामा मात्रै देखापर्ने हुनाले यसले मृत्यु निम्त्याइरहेको चिकित्सक बताउँछन् ।

हृदयाघात भई अकालमै हुने मृत्युबाट बच्न धूमपान त्याग्नुको विकल्प नभएको मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि ६० प्रतिशतको मृत्यु नसर्ने रोगको कारण हुने गरेको छ । डा.अनिलका अनुसार नसर्ने रोगमा हृदयाघात अब्बल नम्बरमा पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धूमपानकै कारण बर्सेनि विश्वमा ८३ लाखले ज्यान गुमाउँछन् ।

विश्वमा २ लाख ६० हजार युवाले धूमपान गर्ने गरेको संगठनको तथ्यांक छ । नेपालमा भने कुल जनसंख्याको १८.५ प्रतिशत जनसंख्याले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । हरेक १० जनामध्ये चार व्यक्ति यसमा फसेका छन् । शिक्षण अस्पतालका डा. निरजसिंह बम भन्छन्, ‘जहाँ गरिबी छ, त्यहाँ बढी धूमपान हुन्छ, अधिकांश बिरामी कर्णालीबाट आउने गरेका छन् ।’ राजधानीको प्रदूषणका कारण यहाँ बस्ने सबै धूमपान गरे बराबरको जोखिममा रहेको उनले बताए । धूमपानले मुटुको रक्तनली साँघुरो पार्दै जाने, चिल्लो र कार्बोहाइट्रेडका कारण उत्पन्न कोलेस्टेरोल उच्च बनाउन थप मद्दत गर्ने भएकोले युवा कम उमेरमै हृदयाघातको सिकार हुने डा. बराल बताउँछन् ।

उनी भन्छन्, ‘कुनै बेला ४० देखि ६० उमेर समूहमा हुने हृदयाघात अहिले २५ वर्षका युवामा देखिन थालेको छ ।’ यसको मुख्य कारण स्कुल तहदेखि नै गरिने धूमपान र मध्यपान भएको उनी बताउँछन् । जीवनमा एक/दुईवटा मात्रै चुरोट सेवन गरेका व्यक्तिलाई समेत हृदयाघात हुन सक्छ । धूमपानले महिलाको प्रजनन शक्तिसमेत घटाउँछ । त्यस्तै, मानसिक रोग पनि निम्त्याइरहेको छ । डा. बमका अनुसार सूर्तीजन्य पदार्थमा ४ हजार प्रकारका केमिकल हुन्छन् । जसले ७० प्रतिशत फोक्सोको क्यान्सर निम्त्याउँछ । विश्वमा प्रत्येक ६ मृत्युमध्ये एक क्यान्सरको कारण हुने गरेको छ ।

मुटु रोग विशेषज्ञ रत्नमणि गजुरेल भन्छन्, ‘मुटुका कुल बिरामीमध्ये ९० प्रतिशतले धूमपान गरेको पाइयो, अवस्था विकराल छ, यसले मान्छेलाई अपांग र मानसिक रोगी बनाइसकेको छ ।’ नेपाल हृदयाघात निवारण प्रतिष्ठानका अनुसार नेपालमा करिब ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप, २० प्रतिशतलाई कालेस्टेरोल, ६ प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकालाई बाथ मुटुको रोग छ । धूमपान गर्नु र धूमपानको वातावरणमा बस्ने कारण यस्तो समस्या देखिने विशेषज्ञ बताउँछन् ।

धूमपान र सूर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा मस्तिष्काघात तथा हृदयाघातको सम्भावना दुईदेखि चारगुणा बढी हुने चिकित्सक बताउँछन् । धूमपानले युवा अवस्थामा नै कपाल झर्ने/फुल्ने र उमेरभन्दा बढी पाको देखिने समस्या हुने गरेको बताइन्छ । त्यस्तै यसले दमको रोग, मृगौला फेल, विभिन्न अंगको क्यान्सर, मधुमेह निम्त्याउँछ । धूमपान र सूर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नियन्त्रणका लागि यसमा ७० प्रतिशतभन्दा बढी कर लगाउनुपर्ने भनिए तापनि यो कार्यान्यनमा आउन सकेको छैन । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्