भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
२०७५, २२ असार शुक्रबार १०:३९ मा प्रकाशित
भक्तपुर नगरपालिका आजदेखि पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ ।
भक्तपुर नगरपालिकामा सबै बालबालिकालाई पूर्ण खोप दिएको र अब जन्मने बच्चलाई पनि आवश्यक सबै खोप दिन सकिने भएपछि यस्तो घोषणा गरिएको हो ।
नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्नुभएको हो ।
सुवालले सरकारले गर्नुपर्ने काममा समेत आफू पन्छिएर निजीलाई जिम्मा दिने विगतका सरकारको शैली परिवर्तन गर्नुपर्ने औल्याउँदै भक्तपुर नगरपाालिकालाई भ्रष्टाचारमुक्त सदाचार नगर, स्वच्छ सफा नगर, सत्प्रतिशत भर्ना नगर, उपचार सुनिश्चितता नगर, दुव्र्यसनीमुक्त नगर, जुवातासमुक्त नगर घोषणा गर्दै लैजाने बताउनुभयो ।
भक्तपुर अस्पतालमा समस्या नै समस्या रहेको टिप्पणी गर्दै उहाँले स्वास्थ्य सेवा दिने जनताको सिधैँ सम्पर्क हुने भक्तपुर अस्पतालमा जनताको गुनासोको चाङ रहेको बताउनुभयो ।
उहाँले डा गोविन्द केसीको मागलाई सम्बोधन गर्दै निःशुल्क अध्ययन गराउने मेडिकल कलेज सरकार र स्थानीय सरकारलाई खोल्न दिनुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताले उपचार नै नपाइ ज्यान गुमाउनुपर्ने अवस्था आउनु नहुनेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाले सस्तोमा मेडिकल कलेज खोल्ने, घरघरमा नर्सिङ सेवा दिने र तीनवटा स्वास्थ्य केन्द्रबाट नगरवासीको सेवा दिइरहेको बताउनुभयो । संविधानमा स्वास्थ्य निःशुल्क भन्ने उल्लेख भएकाले यसलाई कार्यान्वय गर्ने स्थानीय सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले शिक्षाबिना स्वास्थ्य र विकास सम्भव नभएकोले भक्तपुरलाई ज्ञानविज्ञान, प्राविधिक शिक्षाको केन्द्र बनाउने बताउँदै भक्तपुरमा विदेशबाट उपचार गर्न आउने वातावरण तयार गर्दे लैजाने उहाँको भनाई छ ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रोग लाग्नै नदिने उपाय अवलम्बन गर्दै स्थानीय सरकार अगाडि बढ्नुपर्ने आंैल्याउनुभयो ।
कार्यक्रममा बाल स्वास्थ्य माहाशाखा, खोप शाखाका प्रमुख झलक गौतमले २०२२ सालदेखि खोप अभियान सञ्चालन भई विफर विश्वबाट उन्मूलन भएको बताउँदै पूर्ण खोप घोषणा भए पनि एक प्रतिशत अहिले पनि चुनौती रहेको बताउनुभयो । रासस