Logo
|
Sunday 5th May 2024
Logo

epaper

‘हाम्रो प्रण, स्वस्थ्य मुटु’ —विश्व मुटु दिवस मनाइयो



सन्दर्भ विश्व मुटु दिवस २०१८

विश्व मुटु दिवस २०१८ का अवसरमा ‘हाम्रो प्रण, स्वस्थ्य मुटु’ भन्ने विश्वव्यापी मुल नाराका साथ विभिन्न संघसंस्थाहरुले देशव्यापी रुपमा विविध कार्यक्रमका साथ विश्व मुटु दिवस मनाएका छन् । मुटुरोगहरु गम्भीर प्रकारका हुन्छन् र तुरुन्तै मानिसहरुको मृत्यु समेत हुनसक्छ । यहि तथ्यलाई मध्यनजर गर्दै विश्व मुटु संगठनको अगुवाइमा सन् २००० देखि विभिन्न नाराका साथ हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिएको छ ।

गंगालालको प्रभातफेरि र अन्तक्र्रिया
नेपाल हार्ट नेटसँग सम्बद्धता भएका सम्पूर्ण संस्थाहरुको संयोजकका रुपमा गंगालाल राष्ट्रिय हृदय केन्द्रले आज विहान नौमति बाजासहित जनचेतनामुलक व्यानर र प्लेकार्डसहीत प्रभातफेरि गरेको छ । त्रि.बि.शिक्षण अस्पताल पुगेर फर्किएको प्रभातफेरिमा नेपाल हार्ट नेटसँग सम्बद्ध २२ संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
हार्ट नेटमा बीर अस्पताल, कार्डियाक सोसाइटी अफ नेपाल,चिरायू पोलीक्लिनिक, फ्रेन्ड्स् अफ ओपन हार्ट, हार्ट क्लव नेपाल, हार्ट टु हार्ट नेपाल, हेल्प फर हार्ट सर्जरी, जयन्ती मेमोरियल ट्रष्ट, मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, मेडिकेयर नेशनल हस्पिटल, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट, नेपाल डायबिटीज सोसाइटी, नेपाल हार्ट क्लिनिक, नेपाल हार्ट फाउण्डेशन ललितपुर, नेपाल हार्ट फाउण्डेशन काठमाडौ, नेपाल हार्ट फाउण्डेशन सेन्टर, नर्भिक इन्टरनेशनल हस्पिटल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, नेशनल हार्ट सेन्टर, सोसाइटी फर हेल्दी हार्ट, नेपाल हाइपरटेन्सन सोसाइटी, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र आवद्ध छन् ।
र्यालीपछि आयोजित कार्यक्रममा गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु सर्जन डा.ज्योतीन्द्र शर्मा, पूर्व निर्देशक एवं वरिष्ठ मुटु सर्जन प्रा.डा. भगवान कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे, प्रा.डा. दिवाकर शर्मालगायत वक्ताहरुले स्वस्थ्य मुटुका लागि व्यक्ति, समाज र राज्यस्तरबाट नै आ—आफ्नो जिम्मेवारीसहितको प्रण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले मुटु स्वास्थ्यमा राज्यको गम्भीर ध्यान केन्द्रित भएको बताउँदै मुटु स्वास्थ्यमा राज्यस्तरबाट गरिने नीति निर्माणमा कुनै कसुर नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । हार्ट फाउन्डेसन नेपालका अध्यक्ष दिपेन्द्र पुरुष ढकालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

उत्कृष्ठताको प्रमाणपत्र
सो अवसरमा मुटु उपचारको क्षेत्रमा उत्कृष्ठ योगदान पु¥याएको भन्दै मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई उत्कृष्ठताको प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाल हार्ट नेटको आगामी वर्षको मुटु दिवसको कार्यक्रम संयोजन गर्न मनमोहन कार्डियो भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठलाई माइन्युटिङ हस्तान्तरण गरिएको थियो ।  

प्रतिक्रिया दिनुहोस्