Logo
|
Friday 29th March 2024
Logo

epaper

नाम अनुसारको सफलता



बाल्यावस्थामा बुबा आमाले सपना बुन्नुभएको थियो होला छोराले नाम अनुसारको समाजमा इज्जत राखोस् भनेर । काभ्रे जिल्लाको नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ व्यापारको सिलसिलामा बुबा राजधानी छिरेपछि काठमाडौंको असन नजिकै न्ह्यौखामा हुर्किनुभयो । अनि उहाँलाई अध्ययनका लागि परिवारले कीर्तिपुरस्थित ल्याबोरेटोरी स्कुलमा भर्ना गरिदियो । उहाँले लेबोरेटोरी स्कुल कीर्तिपुरबाट २०३५ सालको एसएलसीमा बोर्ड टप गरिदिनुभयो ।

सानैदेखि निकै तीक्ष्ण स्वभावका उत्तम अहिले आफ्नो विधामा पनि उत्तम हुनुहुन्छ । एसएलसी परीक्षामा बोर्ड टपर भएर उत्तम बनेका प्रा.डा. उत्तम कृष्ण कार्डियोभास्कुलर सर्जरीमा पनि उत्तम हुनुहुन्छ ।
विगत साँढे ३ वर्षदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यकारी निर्देशकका रुपमा सेन्टरको व्यवस्थापनको जिम्मा लिएर काम गरिरहनुभएको छ प्रा.डा. उत्तम कृष्णले । उहाँको कार्यकालमा सेन्टरले मुटुको उपचार र अनुसन्धानमा विशेष योगदान गरेको भन्दै विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा २२ वटा मुटुसम्बन्धि विधामा काम गरिरहेका विभिन्न संस्था सम्मिलित नेपाल हार्ट नेटले उत्कृष्ठताको प्रमाणपत्र प्रदान गरेको छ । यस अंकको करियर स्तम्भमा हामीले प्रा.डा. उत्तमलाई उभ्याएका छौं । आफ्नो करियरबारे के भन्नुहुन्छ ? जानौं उहाँको आफ्नै शव्दमा ।

कार्डियोभास्कुलर सर्जन बन्ने निधो
एसएलसी पास गर्नासाथ के बन्ने भन्ने सोच आउँदो रहेनछ । त्यो बेला गोरखापत्रलाई अन्तर्वार्ता दिँदा जानी नजानी डाक्टर पढ्ने भनेको थिएँ । संयोग अहिले डाक्टर बनेँ । एम.बी.बी.एस.पश्चात् नेपालमा पहिलोपटक मुटु खोल्ने डाक्टर दिनेश नाथ गोँगलसँग बीर अस्पतालमा इन्टर्नसिप गर्ने मौका पाएको थिएँ । उहाँको काम गर्ने तरिका र क्षमता देखेर सर्जरीतिर ढल्केको हो । त्यही बेला मैल निधो गरेको हो इन्टरसिपछि सर्जन बन्छु भनेर ।
त्यसपछि त्रि.बि. का पूर्व उपकुलपति एवं वरिष्ठ कार्डियोभास्कुलर सर्जन स्वर्गीय प्रा.डा.गोविन्द प्रसाद शर्माले कार्डियोभास्कुलर सर्जरीतर्फ लाग्न प्रेरित गर्नुभयो र सोही अनुसार कार्डियो भास्कुलर थोरासिक सर्जरीमा आफ्नो करियर बनाएँ । कार्डियो भास्कुलर सर्जरीमा मुटु, फोक्सो र रगतको नसा खोल्ने गरिन्छ ।

इन्डोभास्कुलर एओर्टिक शल्यक्रियामा फड्को
नेपालमा ५ वर्षअगाडि इन्डोभास्कुलर पद्धति अपनाएर सफल इन्डोभास्कुलर एओर्टिक सर्जरी गरेको थिएँ । एओर्टिक आफैंमा चुनौतिपूर्ण सर्जरी हो । यो इन्डोभास्कुलर र ओपन दुवै किसिमबाट गर्न सकिन्छ । एओर्टा मुटुबाट पम्प गर्ने ठूलो नसा भएकाले कतिपय अवस्थामा मुटुका अन्य शल्यक्रिया भन्दा थोरासिक एओर्टिक सर्जरी जटिल मानिन्छ । यसमा संक्रमण र मृत्यु दर प्रति सयमा २० देखि २५ प्रतिशतसम्म हुन्छ ।
एओर्टिक सर्जरीको विकास सन् १९९० पछाडि भएकाले यसको इतिहास लगभग विश्वमा ३० वर्षजति मात्र भएको छ । कम चिरफार गरेर वा सानो घाउ पारेर वा घाउ नै नपारीकन इन्डोभास्कुलर पद्धतिबाट यस प्रकारको सर्जरी गर्न सकिन्छ । तिघ्रामा सानो घाउ पारेर क्याथ ल्याबको सहयोगबाट फूलेको वा च्यातिएको रगतको नसा भित्रैबाट बन्द गर्ने र नसा धेरै फुलेको अवस्थामा भित्रैबाट पाइप राख्नुपर्छ ।

यसबाट फूलेको भागमा रगत सञ्चालन हुन पाउँदैन । हामीले इन्डोभास्कुलर प्रविधि नेपालमा शुरु गरेको सन् २०१३ बाट हो । अहिले करिब पाँच वर्ष भएको छ । सफलता पनि राम्रो छ । इन्डोभास्कुलर सर्जरीको सफलदर ९५ प्रतिशत भन्दा धेरै हुन्छ । तर ओपन थोरासिक भास्कुलर सर्जरीको सफल दर प्रति १ सयमा करिब ८० देखि ८२ प्रतिशत जति हुन्छ ।

सेन्टरको सुधार
मनमोहन कार्डियाभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा ४ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरिरहेको छु । सेन्टर स्थापनको ९ वर्षको अवधिमा शुरुका दिनमा प्रा.डा. प्रकाश सायमीले २ वर्ष र त्यसपछि प्रा.डा.रत्न पौडेलले २ वर्षजति कार्यकारी निर्देशको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
विगतमा सेन्टरको फार्मेसीबाट २ करोड ५० लाख जति फाइदा हुने गरेकोमा त्यो बढेर अहिले ६ करोड पु¥याउन सफल भएको छ । ८० वेडको यो सेन्टरले मात्र नभई आम सर्वसाधारण बिरामीले पनि फाइदा पाएका छन् । यहाँबाट औषधि खरीद गर्दा बिरामीले करोडौं फाइदा लिएका छन् । जनतालाई फाइदा दिएर अस्पताल नाफामा हुनुपर्छ भन्ने सिद्धान्त हो । त्यही अनुसार सफलता पनि मिलिरहेको छ । गत वर्ष सेन्टरले विपन्न नागरिकलाई मुटु, फोक्सो र रक्तनलीको उपचार र शल्यक्रियामा १८ करोडको निःशुल्क सेवा दिएको छ । मुटु रोग लागेका १५ वर्षमुनिका बालबालिका र ७५ वर्ष माथिका, बाथ मुटुरोग लागेका सबैलाई शल्यक्रिया उपचारमा निःशुल्क छ ।
सेन्टरमा मुटु, फोक्सो र रक्तनलीका बिरामीको चाप धेरै छ । गत वर्षमात्र मुटु फोक्सो र रगतको नसा गरी १ हजार ९ सय शल्यक्रिया गरेको छ । ओपिडीमा ६५ हजारले सेवा पाए । अहिले यहाँ पर्मानेन्ट फ्याकल्टी चिकित्सक २५ जना, पी.एच.डी., कार्डियोलोजी डी.एम., एम.सी.एच. रेजिडेन्ट १० जना, मेडिकल अफिसर २४ जना, २ सय जनाभन्दा बढी नर्स, केही पारामेडिक्स, अफिस कर्मचारीले सेवा प्रदान गरिरहेका छन् । यो स्वतन्त्र संस्था हो । त्रिभुवन विश्वविद्यालय र डीन कार्यालयको मातहतमा रहेको यो सेन्टरले गरेको उपलब्धिलाई डायमण्डको रुपमा हेर्ने गरिएको छ । स्वःआर्जन गरेर सेन्टरले निरन्तरता पाइरहेको छ । संस्थाले नाफा भन्दा पनि सहुलियत दरमा उपचार सेवा प्रदान गरिरहेको छ ।

सुइट र हाइब्रिड शल्यक्रिया
बिरामीको चाप न्युनिकरण गर्न अर्को ४१ वेड क्षमताको मनमोहन भवन एनेक्स विल्डिङ बन्दै छ । एक वर्षमा सञ्चालनमा आइसक्ने यो भवन अस्पतालको अवधारणामा बनेको छ । यसमा ‘सुइट’ सिस्टमको व्यवस्था हुन्छ जहाँ देशका राष्ट्रपति, प्रधानमन्त्रीस्तरका सम्म आउँदा अत्यधिक सुविधा उपलब्ध गराउने गरी बनाइएको सिस्टम एवं क्याथल्याब र शल्यक्रिया दुवै गर्नसक्ने हाइब्रिड अपरेशनको सुविधा हुन्छ । यसबाट कार्डियोभास्कुलरसम्बन्धि अझ जटिल शल्यक्रिया गर्न सकिन्छ । यहाँ २ वटा अपरेशन थियटर, ४ वटा आईसियू र ननइन्भेजिव ल्याबको व्यवस्था हुन्छ । सेन्टरले शल्यक्रियाका साथै मुटु रोग रोकथामलाई बढी जोड दिएको छ ।
(डा.उत्तम भास्कुलर सोसाइटी अफ नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्