Logo
|
Sunday 6th October 2024
Logo

epaper

मेडिकल सेन्टरमा पूर्वाधार विकास र एअर फ्लो व्यवस्थापनमा जमेका जोडी



करुण ओझा र दर्शना पन्त सम्बन्धमा दम्पत्ति हुनुहुन्छ । पेशाले उहाँहरु दुवै जना बायोमेडिकल इन्जिनियर हो । केयर विन्डस् मेडिकल सोलुसन्स कम्पनिमार्फत् यो टिमले मेडिकल सेन्टरहरुमा कोभिड कालदेखि नै पूर्वाधार विकास र एअर फ्लो व्यवस्थापनको डिजाइनदेखि इन्टेरियरसम्मका काम गर्दै आएको छ । अहिलेसम्म थुप्रै आईसियू र प्याथोलोजी ल्यावहरुको डिजाइनदेखि इन्टेरियरसम्मको काम गरेर लोकप्रीयता कमाएको छ । करुण र दर्शना दुवैले विजिनेस स्टडिजमा एमबीए गर्नुभएको छ । यसले उहाँहरुलाई काम गर्न अझ सहज तुल्याएको छ । करुण र दर्शना नेपालको पहिलो Biosafety Cabinet class II A2 NSF (National Science Foundation) USA को प्रमाणपत्र प्राप्त गर्ने व्यक्ति हुनुहुन्छ । नेपालमा ‘केही काम गरौँ’ भन्ने उद्धेश्य बोकेर विगत ६ वर्षदेखि दुवैजना अघि बढिहरनुभएको छ । मेडिकल सेन्टरमा पूर्वाधार विकास र एअर फ्लो व्यवस्थापनसम्बन्धि उहाँहरुको भनाइ आफ्नै शव्दमा ।

जीवन मरणको सवाल
हस्पिटल भित्र रहेका क्यान्टिनदेखि सबै क्षेत्र क्रिटिकल नै हुुन्छन् । त्यसमा आउने प्याथोलोजी ल्याब, आइसियू, अपरेशन थिएटर, आइसोलेसन जस्ता वार्ड विशेष क्रिटिकल क्षेत्रमा पर्दछन् । साथै काम गर्ने स्टाफ, बिरामी र वातावरण सबै सुरक्षित राख्न क्रिटिकल क्षेत्रमा हुनसक्ने संक्रमण साँघुराएर वातावरणमा कसरी एक्स्पोज गराउने भन्ने महत्वपूर्ण पाटो जोडिएको हुन्छ । जस्तोः क्रिटिकल वार्ड मात्र नभएर सम्पूर्ण अस्पताल क्षेत्रमा स्वच्छ हावा कसरी ल्याउने र सो क्षेत्रमा भएको हावा फिल्टरेसन लगायतका आवश्यक पूर्वाधारबाट वातावरणमा कसरी एक्सपोज गर्ने भन्ने सवाल महत्वपूर्ण हुन्छ ।

कोभिड भन्दा अगाडि पनि हामीहरुले ब्याक्टेरियल सेफ्टी लेवल (विएसएल) ल्यावहरु बनाउँदै आएका थियौं । करुण भन्नुहुन्छ—पशु र कृषि सम्बन्धित ल्यावहरु जसरी करोडौं खर्च गरेर निर्माण गरिएको हुन्छ । त्यसरी नै मानवका लागि पनि सेफ्टी ल्यावहरु बनाउन जरुरी छ । कोठा संक्रमण हुँदा वातावरण संक्रमण हुन्छ । त्यसैले कुनै पनि ल्याव तथा हस्पिटलको पूर्वाधार मिलाउनुपर्ने अवस्था देखिन्छ । हामीहरुले यसलाई प्राइमरी कामको रुपमा लिएका छौं । यसमा क्रिटिकल केयर मात्र नभई हस्पिटलका सबै क्षेत्र जोडिएका हुन्छन् ।

करुण ओझा-बायोमेडिकल इन्जिनियर

अहिलेको व्यस्तता
कोभिड कालदेखिको कुरा गर्नुपर्छ । मेडिकल लाइनको संरचनामा पूर्वाधार राम्रो हुनुपर्छ । त्यसैले समयको माग अनुरुप हामी पूर्वाधार डिजाइनिङ र प्लानिङ मै व्यस्त छौं ।

अस्पतालहरुको वर्तमान संरचना
कोभिडले नेपाललाई मात्र नभएर विश्वलाई नै पाठ सिकाएर गएको छ । त्यो बेला हस्पिटलहरुको संरचना जोखिम पूर्वानुमान गरेर बनाइएको अवस्था थिएन । मेडिकल क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुका लागि कोभिड कालभन्दा अघिदेखि नै अस्पतालको पूर्वाधार प्रवाह आवश्यक थियो । तर अवधारणा थिएन । कोभिडले अस्पतालको पूर्वाधार प्रवाह कस्तो र कसरी हुनुपर्छ भन्ने कुरामा राम्रो जागरुकता ल्यायो । कोभिड कालले मेडिकल सेन्टरमा काम गर्ने स्वास्थ्यकर्मीमा एक किसिमकको डर पनि सृजना गर्यो । त्यो बेला सबैमा जीवनमरणको चिन्ता थियो । कतिपय अस्पतालको भौतिक संरचना राम्रो थिएन । कतिपयले त अरुको संक्रमण सरेका कारण अनुभवसमेत गरे । ज्यानको चिन्ता नगरी काम गर्न धेरै जना वाद्य थिए ।

बाँच्ने र बचाउने आशा
कोभिडले च्यापेका कतिपय व्यक्तिहरु आइसियू गए । आइसियू प्रोन एरिया हो । आइसियूमा जाने बिरामीहरु क्रिटिकल नै हुन्छन । जस्तैः क्षयरोग पनि स्वासप्रश्वासको माध्यमबाट सजिलै सर्ने रोग हो । अहिलेको मंकीपक्स पनि संक्रामक रोगका रुपमा देखिएको छ । सार्स, इबोला पनि संक्रामक नै हुन् । जोखिममा काम गर्नुपर्ने स्थितिमा बच्न पनि पर्छ । अस्पतालको भौतिक संरचना राम्रो भएमा संक्रामक रोगबाट बिरामी र उनका कुरुवालाई ९० देखि ९५ प्रतिशत सम्म बचाउन सकिने रहेछ ।

एक प्रकारको क्रान्ति
अधिकांश सरकारी र निजी अस्पतालहरुमा पूर्वाधार प्रवाह चित्तबुझ्दो छैन । अन्य सरुवा रोग आउटब्रेक भएमा संरचनाहरु सन्तोषजनक छैनन् । केही अस्पतालहरुले धेरै रकम खर्चेर आइसियूमा विरामीहरुबीच क्रस कन्टामिनेसन नहोस् भनेर क्याविन सिस्टम बनाएपनि सबै हस्पिटलमा यो सुविधा उपलबध छैन । आईसियू अपग्रेडका लागि उहाँहरुलाई धेरै ठाउँबाट सोधपुछ र माग आइरहेको हुन्छ । यसमा एक प्रकारको क्रान्ति नै आएको छ । धेरैको सोचाइ पनि बढेको छ । तर बजेट, ठाउँको अभाव लगायतमन कारणले एक्सनमा काम हुन सकिरहेको छैन । कतिपयलाई काम गर्ने व्यक्तिको पहिचान नभएर पनि हुनसक्छ ।

एअर फ्लो म्यानेजमेन्ट
त्यहाँ बाहिरी वातावरणको हावालाई फिल्टरेसन गरेर कसरी ल्याउने ? हावाको प्रेसर, फ्लो एण्ड डिस्ट्रिव्युसन प्यार्टन, टेम्प्रेचर, ह्युमिडिटी र डिफ्रेन्सियल प्रेसरलाई कसरी मेन्टन गर्ने सवाल जोडिएको हुन्छ । साथै हावा प्रवाहको प्याटर्नलाई बिरामी रहेको क्याविनबाट फिल्टर गरी फेरी ब्याक टू इन्भाइरोमेन्टमा कसरी फाल्ने ? भन्ने कुरा एयर फ्लो म्यानेजमेन्ट हो । त्यसैले हस्पिटलको क्याविनमा एअर फ्लो म्यानेजमेन्ट प्रभावकारी हुनुपर्छ ।

एअर प्रेसरको भूमिका
हावामा पोजेटिभ र नेगेटिभ गरी दुई किसिमका प्रेसर हुन्छन् । हावा पोजेटिभ प्रेसरबाट निगेटिभ प्रेसरमा प्रवाह (फ्लो) हुन्छ । जस्तोः क्याबिनमा रहेको क्षयरोग वा कोभिडका बिरामीले सास फेर्नुपर्छ । बिरामीले फेर्ने सास बाहिरको वातावरणमा सिधा एक्स्पोज गर्नुहुँदैन किनभने अरु व्यक्ति र स्वास्थ्यकर्मीलाई सर्न सक्ने सम्भावना रहन्छ । त्यसैले एयर फ्लो म्यानेजमेन्टमा एयर प्रेसरको ठूलो भूमिका हुन्छ ।

बिरामीलाई पनि स्वच्छ हावा आवश्यक पर्छ भने बिरामीले सास फेर्दा निस्किएको हावा बन्द क्याविन भन्दा बाहिर जान हुँदैन । बाहिर पठाउँदा फिल्टरेसन प्रक्रिया (हेपा फिल्टर) अपनाउनुपर्छ । यसले ०.०३ माइक्रोन सम्मको ब्याक्टेरिया र भाइरस क्याप्चर गर्छ । त्यसपछि मात्र हावालाई पुन वातावरणमा एक्स्पोज गराउनुपर्छ । यस्तो घटनामा बिरामी बस्ने क्याबिनमा नेगेटिभ प्रेसर मेन्टेन गर्नुपर्छ । जनरल भाषामा भन्नुपर्दा यसमा हामीले ढोका खोल्दा बाहिरको हावा भित्र आउँछ । तर भित्रको हावा बाहिर जाँदैन ।

यता पोजेटिभ प्रेसरमा बिरामीमा सरुवा रोग नभएमा बाहिरको दूषित हावाले क्याविनभित्र रहेको बिरामीलाई असर गर्न सक्छ । क्याविनको ढोका खोलेको अवस्थामा बाहिरको हावा भित्र छिर्न हुँदैन । त्यस्तो अवस्थामा पोजेटिभ प्रेसर मेन्टेन गर्नुपर्छ । ढोका खोल्दा बिरामी राखिएको क्याविनको हावा बाहिर निस्कन्छ । जुन सरुवा हुँदैन । तर बाहिरको दुषित हावा भित्र छिर्न पाउँदैन । हावा जहिलेपनि पोजेटिभबाट निगेटिभमा जान्छ । त्यसैले एअर फ्लोको प्यार्टन मिलाउनुपर्छ । ढोका खोल्नासाथ बाहिर एक्पोज हुन हुँदैन । त्यसैले डबल डोर सिस्टम अपनाइएको हुन्छ । यस्तो सिस्टम नअपनाइएमा क्रस कन्टामिनेसन हुनसक्छ ।

एअर फ्लो म्यानेज्मेन्टको महत्व
बिरामीहरूको उपचार गर्ने क्रममा सुई लगाउँदा, दिसा, पिसाब, रगत, खकार, शरीरको भित्री स्राब, भित्री अङ्गहरूको जाँच, शल्यक्रिया आदिमा शरीरभित्र रहेका विभिन्न प्रकारका सरुवा रोगका हानिकारक जीवाणुहरु स्वास्थ्य केन्द्रको वातावरणमा निस्कन्छन् । यी हानिकारक जीवाणुहरूलाई होसियारीपूर्वक नष्ट गर्न नसकेको अवस्थामा अस्पतालमा रहेका अन्य बिरामी, स्वास्थ्यकर्मी र स्वस्थ मानिसहरूलाई पनि संक्रमण हुने सम्भावना रहन्छ । यसलाई हस्पिटल अक्वायर्ड इन्फेक्सन भनिन्छ । आइसियूमा अझ धेरै इन्फेक्सनको जोखिम हुन्छ । त्यसैले यसलाई रोक्न जरुरी हुन्छ ।

एअर फ्लो मिलाउने काम

दर्शना पन्त-बायोमेडिकल इन्जिनियर

दर्शना भन्नुहुन्छ— हाम्रो उद्देश्य ५ दिनमा हुने रिकभरी १५ दिन नलागोस् भन्ने हो । त्यसैले ति सबै चिजबाट बच्न फ्लो मिलाउन जरुरी हुन्छ । फ्लो हावाको मात्र मिलाउने होइन । फ्लो ओभरअल हस्पिटल संरचनाको डिजाइनमा भर पर्छ । भिजिटरको फ्लो, स्टाफको फ्लो, पेसेन्टको फ्लो, एउटा वार्ड र अर्को वार्ड बीचको फ्लो आदि हस्पिटल संरचनाको डिजाइनमा भर पर्छ । यसका लागि संरचना मिलाउनुपर्छ । यसको सँगसँगै एअर फ्लो मिलाउने काम गर्दछौं ।

नयाँ कन्सेप्ट
एक किसिमले भन्नुपर्दा नेपालका लागि यो नयाँ कन्सेप्ट हो । विश्व स्वास्थ्य संगठन, अमेरिकाको सेन्ट्रल फर कन्ट्रोल डिजिज (सिडिसी) लगायत गाइडलाइनलाई फलो गरेर काम गरिरहेका छौं । क्लिनिकल ल्यावहरुको पनि आफ्नै गाइडलाइन रहेका छन् । यस प्रकारको संवेदनशील क्षेत्रमा हचुवाका भरमा काम गर्न मिल्दैन । त्यसैले डेडिकेडेड भएर काम गरिरहनुभएको छ । हामीले आइसियूको काम गर्नुभन्दा पहिला ल्यावको काम गर्दै आएका थियौं ।

ल्याव मच मोर सोफिस्टिकेटेड छ । आइसियू पनि उत्तिकै सफिस्टिकेटेड छ । तर यसमा एअर प्रेसरका कुरा जोडिएका हुन्छन् । यसमा प्रेसर, टेम्प्रेचर, एअरको ह्युमिडिटी र एअर फ्लो प्याटर्न लगायत हावालाई ४ किसिमले व्यवस्थापन गर्नुपर्छ । साथै आईसियूको नर्सिङ स्टेशन कहाँ राख्ने ? हावा कति प्रेसरले तल फाल्ने ? कति पे्रसरमा लिएर जाने ? जस्ता सबै काम गाइडलाइनमा बसेर गर्नुपर्छ ।

हरेक मेडिकल क्षेत्र भ्यालिडेटेड हुन जरुरी छ । हरेक वर्ष थर्डपार्टी एक्रिडिटेसन भइरहन जरुरी हुन्छ । हामीले पनि थर्ड पार्टी भ्यालिडेसन गर्छौँ । इन्डियामा विभिन्न निकाय छन् । त्यसमा सबै परीक्षण हुने गर्छ । धेरै प्रोटोकल रहेका छन् । राम्रो पूर्वाधार बनाएमा बिरामीको रोग निको पार्न क्लिनिकल स्वास्थ्यकर्मीलाई ठूलो मद्धत गर्छ । त्यसैले यसमा निकै सचेत रहेको दर्शनाको भनाइ छ ।

काममा शत्प्रतिशत विश्वस्त

करुण भन्नुहुन्छ—हामी आफ्नो काममा शत्प्रतिशत विश्वस्त छौँ । हामीसँग टिम छ । १३ वर्षदेखिको अनुभवी बायोमेडिकल इन्जिनियरलगायत सिभिल इन्जिनियर, मेकानिकल इन्जिनियर र आर्किटेक्चर इन्जिनियर रहेका छन् । राम्रो पूर्वाधार भएमा बिरामीको चाप बढ्ने र अस्पतालको गुडवीलका कुरा जोडिएका हुन्छन् । आइसियू अन्तिम अवस्थामा उपचार गर्ने ठाउँ भएकाले सम्झौता गर्नुहुँदैन । त्यसैले बायोमेडिकल इन्जिनियरिङ फिल्डलाई कसरी प्रयोग गर्ने भनेर लागिरहेका छौँ ।

सामान्य डिजाइनिङका लागि पनि बाहिरी देशका विज्ञसँग परनिर्भर बन्न नपरोस् भनेर काम गरिरहेका छौँ । साथै सम्बन्धित निकायले हस्पिटलहरु बनाउँदा शुरुदेखि नै पूर्वाधार लगायत फ्लो म्यानेजमेन्टलाई ख्याल गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्