Logo
|
Friday 3rd May 2024
Logo

epaper

गुणस्तरीय प्याथोलोजी सेवा विना गुणस्तरीय चिकित्सा सेवा असम्भव



एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट अफ नेपाल (एसिपिएन) को आव्हानमा काठमाडौँमा प्रभावतफेरि निकालिएको छ ।
अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसको अवसरमा सो प्रभातफेरि निकालिएको हो । करिब पाँच दर्जन भन्दा बढी प्याथोलोजी रेसिडेन्टहरु सहभागी सो प्रभातफेरिमा ‘तपाईको प्याथोलोजी जस्तो हुन्छ, तपाईंको चिकित्सा प्रणाली पनि त्यस्तै हुन्छ’ लेखिएका टी—शर्ट लगाएका चिकित्सकहरु सहभागी थिए ।
बसन्तपुरबाट शुरु भएको प्रभातफेरि नयाँ सडक, रत्न पार्क, भद्रकाली, शहीदगेट हुँदै फेरि बसन्तपुरमा पुगेर टुंगिएको थियो । प्रभातफेरिपछि बरिष्ठ प्याथोलोजिस्टहरु डा.जंग बहादुर थापा, डा.श्याम कुमार रौनियार, डा.बिदुर वस्ती, डा.राजेश पन्त एवं डा रंगबहादुर बस्नेतले केक काटेर खुशीयाली मनाइएको थियो । सबै सहभागीहरुले ‘म प्याथोलोजिस्ट भएकोमा गर्व गर्छु’ भन्ने नारा लगाएका थिए ।
सो अवसरमा चिकित्सा सेवालाई गुणस्तरीय बनाउन प्याथोलोजी सेवा गुणस्तरीय हुनुपर्ने सम्बन्धित चिकित्सकहरुले बताएका थिए ।
तथ्यमा आधारित गुणस्तरीय उपचार सेवा प्रदान गर्न गुणस्तरीय प्याथोलोजी सेवा आवश्यक भएको एसोसिएसनकी उपाध्यक्ष वरिष्ठ प्याथोलोजिष्ट डा. रुना झाले बताउनुभयो । ‘यसको सन्देश पनि यही हो’—डा. झाले भन्नुभयो—‘उपचारमा प्याथोलोजी सेवाको भूमिका उल्लेखनीय छ ।’
सन् २०१४ देखि रोयल कलेज अफ प्याथोलोजिस्ट (यु.के.) को पहलमा नोभेम्बर १४ मा अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस मनाउने थालिएको हो । स्वास्थ्य क्षेत्रका चुनौतिहरुको सामना गर्न प्याथोलोजीले पुर्याउने गरेको योगदानको कदर गर्न यो दिवस मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसको अवसरमा हिजो परोपकार प्रसुति गृह अस्पतालको प्याथोलोजी विभागले शुभकामना आदान प्रदान गर्नुका साथै स्त्री रोग बिशेषज्ञहरुलाई प्याथोलोजीसम्बन्धि प्रस्तुति दिएको थियो । भरतपुर क्यान्सर अस्पतालले पनि कार्यक्रम गरी विभिन्न विभागका सहभागी चिकित्सकहरुसँग प्याथोलोजी डायग्नोसिस सम्बन्धि छलफल गरेका थिए ।
यसैगरी ललितपुरको जावलाखेलस्थित सम्यक प्याथोलोजी ल्याबले एक हप्तासम्म ल्याबमा नमुना कसरी परीक्षण गरिन्छ ? भनेर सर्वसाधारणलाई जानकारी दिन शुरु गरेको छ ।\

प्रतिक्रिया दिनुहोस्