Logo
|
Monday 6th May 2024
Logo

epaper

ॐ हस्पिटलले कामनापा—७ का बासिन्दालाई अन्तरंग उपचारमा छूट दिने



काठमाडौंको चावहीलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले अस्पताल भर्ना भएका काठमाडौं महानगरपालिका (कामनपा) वडा नम्बर ७ का बिरामीहरुलाई विशेष छूट सहितको उपचार सेवा प्रदान गर्ने भएको छ । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र काठमाडौं महानगरपालिका वडानम्बर ७ बीच भएको सम्झौतामा अस्पताल भर्ना भई उपचार लिनुपर्ने बिरामीलाई वडा नं. ७ को कार्यालयको सिफारिसको आधारमा उपचारमा छूट दिने भएको हो ।
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की एवं अस्पतालका मेडिकल डाइरेक्टर डा. कृष्णप्रसाद देवकोटा र कामनपा वडा नम्बर ७ का अध्यक्ष सुद्धकुमार डंगोल एवं सदस्य कृष्णमणि भट्टराइले सेवा सुविधा उपलब्ध गराउनेबारे संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार वेड चार्ज, अपरेशन चार्ज, राउण्ड चार्ज, भर्ना हुँदाको प्याथोलोजी जाँच, एक्सरे, भिडियो एक्सरे र सिटी स्क्यान, इसिजी, इइजी, इको, स्लिप ल्याब, इन्डोस्कोपी, कोलोनोस्कोपी तथा भर्ना हुँदाको अन्य जाँचहरुमा १५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छूट दिने भएको छ । सम्झौता ३ वर्षका लागि भएको छ ।
स्थानीयबासीलाई औषधोपचारमा सहयोग गर्ने उद्देश्यले यो सम्झौता गरिएको र आगामी दिनहरुमा यस प्रकारको सामाजिक उत्तरदायित्वलाई बढाउँदै लैजाने अस्पतालका प्रबन्ध सञ्चालक कार्कीले बताउनुभयो । २०६८ सालको जनगणनाअनुसार, काठमाडौं महानगरपालिका वडानम्बर ७ मा मात्र ५१ हजार ५८१ जनसंख्या रहेको छ । त्यसमा पुरुष २६ हजार ५६१ र महिलाको संख्या २५ हजार २० रहेको छ । यस वडामा १३ हजार ५५९ भन्दा बढी घरधूरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्