Logo
|
Tuesday 16th April 2024
Logo

epaper

कस्तो क्यान्सरमा रेडियोथेरापी दिने ?




करिब ७० प्रतिशत क्यान्सरका बिरामीहरुलाई कुनै न कुनै समयमा रेडियोथेरापीको जरुरत पर्छ । ३० प्रतिशतलाई रेडियोथेरापीको जरुरत पर्दैन । धेरैजसो ब्लड क्यान्सरमा किमो थेरापीको जरुरत परेपनि कुनैकुनै ब्लड क्यान्सरमा रेडियो थेरापी दिनुपर्छ । क्यान्सरका कारण भएको दुखाई कम गर्न रेडियोथेरापी दिनुपर्छ । यद्यपी क्यान्सर निको पार्न सकिने र नसकिने दुवै अवस्थामा रेडियोथेरापी दिनुपर्छ ।
जस्तो—फोक्सोको क्यान्सर सरेर हड्डीमा पुगेपछि हुने दुःखाइ कम गर्न, खोक्दा आउने रगत रोक्न, पाठेघरको मुखको ब्लिडिङ रोक्न, व्रेनमा पुगेको क्यान्सरको दुखाई कम गर्न रेडियसनको जरुरत पर्छ ।
मुख, घाँटी, जिब्रो, ओठ, छाला, पाठेघरको मुखको क्यान्सर रेडियोथेरापी मात्र दिएरपनि निको पार्न सकिन्छ । आवश्यकता अनुसार किमोथेरापी पनि दिनुपर्नसक्छ ।

रेडियोथेरापी लोकल उपचार हो । यस उपचारमा समस्या भएको भागमा मात्र रेडियोथेरापी दिइने भएकाले सम्बन्धित अंग वरपरका भागहरुलाई प्रभाव पार्न सक्छ । जस्तोः पाठेघरको मुखको क्यान्सरमा रेडियोथेरापी प्रवाह गर्दा पाठेघर, पिसाब थैली, पिसाब गर्ने ठाँउ, दिसागर्ने ठाउँमा प्रभाव पर्न सक्छ । यस्तो अवस्थामा दिसा लागे जस्तो हुने, झाडापखाला, कब्जियत, दिसा गर्दा दुख्ने, पिसाब पोल्ने, पिसाव लागेजस्तो हुने जस्ता समस्या हुन सक्छ ।

मुख र घाँटीमा रेडियोथेरापी दिइएको अवस्थामा खाना निल्न गाह्रो हुने, टाउकोमा दिँदा टाउको दुख्ने र बान्ता आउन सक्छ आदि । तर यस किसिमका समस्या केही समयका लागि मात्र हुन्छ । बिरामी आत्तिनुपर्दैन ।

किमोथेरापी रगतबाट दिने औषधि भएकाले शरीरका सबै भागमा पुग्छ । यसले गर्दा रगत कम उत्पादन हुने, कपाल झर्ने, बान्ता हुने लगायत धेरै साइडइफेक्ट देखिनसक्छ । यसका साथै मिर्गौला, मुटु लगायतका अंगहरुलाई असर पार्न सक्छ । किमोले इन्फेक्सन हुनसक्ने खतरा पनि रहन्छ । त्यसैले रेडिययोथेरापीको तुलनामा किमोथेरापीले अलि धेरै असर गर्छ ।
९० प्रतिशत रेडियोथेरापी क्यान्सरका लागि दिइन्छ । १० प्रतिशत नन क्यान्सरमा प्रयोग गरिन्छ ।
मुख, घाँटी, ओठ, जिब्रो, आवाज निस्कने ठाउँ, पाठेघरको मुख, छाला आदिको क्यान्सर शुरुको अवस्थामा पहिचान भएर उपयुक्त उपचार हुनसकेमा रेडियोथेरापीबाट पूर्णरुपमा निको पार्न सकिन्छ ।
क्यान्सर ठूलो भइसकेको अवस्थामा शल्यक्रिया र रेडियोथेरापी दुवैको जरुरत पर्छ । दिसा गर्ने भाग रेक्टम क्यान्सरमा शल्यक्रिया मुख्य हो । अलि ठूलो भइसकेको अवस्थामा शल्यक्रिया सँग सँगै रेडियोथेरापी र किमोथेरापी दुवै दिनुपर्छ । यसबाट क्यान्सर फर्किन सक्ने सम्भावनालाई कम गर्न सकिन्छ ।
शरीरको कुन भागको क्यान्सर हो भन्ने कुराले उपचारपछि यो फर्केर आउने हो वा होइन भन्ने कुराको निर्धारण गर्छ ।
फोक्सोको क्यान्सर, खाना खाने नली (एसोफागस) क्यान्सर, प्याँक्रियाटिक क्यान्सर, गलब्लाडर (पित्तथैली) को क्यान्सर निको पार्न गाह्रो हुन्छ । तर स्तन, पाठेघरको मुखको क्यान्सर शुरुको अवस्थामा पत्ता लागेमा सजिलै निको पार्न सकिन्छ । तेस्रो तहको पाठेघरको मुखको क्यान्सर पनि ५० प्रतिशत निको हुने गरेको छ ।

पाठेघर र स्तनको क्यान्सर रोकथाम समेत गर्न सकिन्छ । यस्ता क्यान्सरमा लक्षण चाँडै देखिन्छ । अरु क्यान्सर भन्दा डायग्नोसिस गर्न पनि सजिलो छ । प्याँक्रियाज क्यान्सरमा लक्षण ढिलो देखिने कारण पत्ता लगाउन गारो पर्छ ।
विना लक्षण ज्वरो आइरहेमा ब्लड क्यान्सर हुने संभावना हुन्छ । ठूला मानिसको तौल घटिरहेको छ, खोकी बढ्दै गएर मुखबाट रगत आएमा फोक्सोको क्यान्सर, दिसामा गडबड भएमा ठूलो आन्द्राको क्यान्सर, टाउको दुखेर बान्ता आउने समस्या भएमा ब्रेन ट्युमर, खाना खाने नलीबाट खाना निल्न गारो भएमा एसोफागल क्यान्सर हुन सक्छ । शरीरका विभिन्न भागमा भएका क्यान्सरका छुट्टाछ्टै लक्षण हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्