Logo
|
Friday 10th May 2024
Logo

epaper

अस्तव्यस्त जिल्ला अस्पताल



 अढाई वर्षीय छोरीलाई ज्वरो आएर उपचारका लागि जिल्ला अस्पताल रंगेली पुगेकी मधुवनकी दिपिका मण्डलले सिटामोल समेत किन्नु पर्‍यो । सरकारी अस्पतालले विभिन्न ७० प्रकारका औषधी निःशुल्क दिने थाहा पाएकी उनले छोरीलाई आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण गराउन २० रुपैयाँ शुल्क तिरेर पुर्जा काटेकी थिइन् ।

आकस्मिक कक्षका चिकित्सकले उनकी छोरीको स्वास्थ्य परीक्षण गरेर आवश्यक सबै औषधी वाहिर गएर किन्न आग्रह गरे । मुखमा घाउ भएर त्यही अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका दोभनाका रत्नवहादुर थापालाई अस्पतालका मेडिकल सुपरिटेण्ड डा सञ्जीवकुमार सिंहले बेटाडिन र ग्लोब किनेर ल्याउन आग्रह गरे । थापाले यो त सरकारी अस्पतालले नै व्यवस्था गर्नुपर्ने होइन भन्दा सिंहले अस्पतालमा सरकारले वितरण गर्ने निःशुल्क औषधी र कुनै पनि सामग्री नभएका कारण विरामी आफैले व्यवस्था गर्नुपर्ने बताए ।

करिव दुई महिनादेखि यो सरकारी अस्पतालमा उपचारका लागि पुग्नेले सिटामोल, बेटाडिन, ग्लोब, आइरन चक्कीलगायत औषधि र समान आफैले खरिद गर्नुपर्ने बाध्यता छ । ‘अस्पतालमा केही पनि छैन,’ मेडिकल सुपरिटेण्ड डा सिंहले भने, ‘दुई महिनायता यो अस्पतालमा उपचारका लागि आउनु जोसुकै बिरामीलाई स्वास्थ्य परीक्षण गर्दा चाहिने आवश्यक सामग्री र सरकारले निःशुल्क वितरण गर्ने सवै औषधी खरिद गर्न लगाउदै आएका छौ ।’ सम्बन्धित निकायले पटकपटक आग्रह गर्दा वास्ता नगरेपछि समस्या चर्किएको उनले बताए ।

६ महिनादेखि अस्पतालमा लेखा अधिकृत र स्टोर किपरका कर्मचारी छैनन् । जसका कारण अस्पताललाई आवश्यक पर्ने सामग्री र औषधी छैन । डा. सिंहका अनुसार कर्मचारी र आवश्यक सामग्री व्यवस्था गर्न रंगेली नगरपालिका, प्रदेशका मुख्यमन्त्री र प्रदेशका स्वास्थ्य प्रमुखलाई पटक पटक आग्रह गर्दासमेत ध्यान दिइएको छैन ।

अस्पतालमा दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि आउँछन् । त्यसमध्ये ५–६ जना गर्भवती महिला हुन्छन । उनीहरू सवैलाई उपचारका लागि आवश्यक पर्ने सामग्री किन्न लगाउनुपर्ने बाध्यता छ । ‘चिकित्सक र कर्मचारीले तलव नपाएको पनि तीन महिना भइसक्यो,’ डा सिंहले भने, ‘यस्तो अवस्थामा अस्पताल खुला गरेर विरामी र कुरुवाको पिटाई खानु छैन ।’

जेनेटरमा हाल्ने तेलसमेत नहुँदा विद्युत आपूर्ति बन्द भएका बेला बिरामी अँध्यारोमै बस्नुपर्ने बाध्यता छ । ‘एक्सरे मेसिनको कम्प्युटर सफ्टवेयरसमेत बनाउन नसक्दा बिरामीलाई निजीक्षेत्रमा महँगो शुल्क तिरेर एक्सरे गराउनुपर्ने बाध्यता छ’ स्वाथ्यकर्मी ‘देवमणि कटुवालले भने, ‘अस्पतालमा एक्सरे गर्दा ३ सय र बाहिर गर्दा ६ सय रुपैयाँ तिर्न बिरामी बाध्य छन् ।’

अस्पतालका काउन्टर इन्चार्ज मधु दास, तत्कालीन लेखा प्रमुख कृपाराज जोशी, कर्मचारी मोहन थापा र राम आशिष यादवले अस्पतालमा स्वास्थ्य परीक्षण गराउन बिरामीले रसिद काटेबापतको ७ लाख ५० हजार रुपैया अस्पतालको बैंक खातामा दाखिला नगरी हिनामिना गरेपछि र रंगेली नगरपालिकाले आवश्यक प्रबन्ध नमिलाउँदा अस्पताल यो अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।

अस्पताल दुई महिनादेखि नगरपालिका मातहतमा छ । नगरपालिकाले ती कर्मचारीमाथि छानबिन गरेर प्रतिवेदन सार्वजनीक गरे पनि अहिलेसम्म उनीहरूलाई कुनैपनि कारवाही भएको अस्पताल स्रोतको भनाइ छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरिरहेको छ ।

फोहोरले दुर्गन्धित

पाँचथर जिल्ला अस्पताल फोहोरका कारण दुर्गन्धित बनेको छ । फोहोर गनाएर बिरामी र कुरुवा नाक थुनेर बस्नुपर्ने अवस्था छ ।

अस्पताल परिसर मात्र होइन आसपास क्षेत्रको सफाइमा पनि ध्यान दिइएको छैन । वरिपरि बगैंचामा झार बढेर झाडी बनेको छ । शौचालयहरू प्रयोग गर्नै नसकिने अवस्थाका बनेका छन् । नियमित सफाइमा ध्यान नदिंदा यस्तो अवस्था भएको हो ।

अस्पतालका कोठाहरूमा फोहोर राख्ने भाँडाको व्यवस्था छैन । पहिले नियमित सफाइ गर्ने, झाडी फाँडेर चिटिक्क बनाउने गरिएको थियो । तर अचेल यस्तो देखिँदैन ।

जिल्ला अस्पतालाई जिल्ला समन्यय समिति पाँचथरले हेर्ने भए पनि समितिले समयमै निगरानी नगर्दा अस्पताल बेस्याहार जस्तो बनेको छ । अस्पतालको अवस्थाबारे नायक सुब्बा खेमबहादुर बुढाथोकी जानकार छन् । उनले भने ‘सफा गर्ने ६ जना कर्मचारीहरू राखिएको छ, उनीहरूले नै दैनिक सफाइ गरेकै होलान् ।’ सरसफाइमा खटिरहेका कर्मचारी मिना मल्डी अनुसार बिहान एकपटक फिनेलले पुस्ने र त्यसपछि दिउँसो पनि सफाइ गर्ने गरिएको दाबी गर्छिन् । आफुहरूलाई बगैंचा गोडमेल र सफाइबारे भने केही थाहा नभएको उनको भनाइ छ ।

दैनिक ५० जनासम्म बेडमा बिरामीहरू रहने गरेका छन् । उनीहरूका कुरुवा पनि हुन्छन् । ‘बिहान पुछेपछि दिउँसो एकपल्ट बडार्छन् बाँकी केही काम भएको देखिंदैन,’ बिरामी कुरुवा मुक्ति ओझाले भनिन्, ‘सुत्केरी आमाहरू भएको ठाउँ गनाएर बसिनसक्नु हुन्छ यहाँ आएर एक दिन बसेपछि कुरुवा नै बिरामी परिएलाजस्तै हुन्छ ।’ जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटाले भने दैनिक रुपमा निगरानी गर्न नसक्दा अस्पतालको दुरावस्था भएको बताए । अब नियमित निगरानी गरिने उनले सुनाए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्