Logo
|
Friday 10th May 2024
Logo

epaper

हेलिकप्टरबाट सुत्केरीको उद्धार



 समस्यामा परेकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । डेरामा सुत्केरी भएर रक्तस्राव अत्याधिकपछि गम्भीर अवस्था भएकाले जिल्ला अस्पताल भोजपुरको सिफारिसमा कमला राईको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रयास भट्टराईले बताए । रामप्रसाद राई गाउँपालिका वडा ३ घर भई भोजपुर नगरपालिका वडा ९ भोटेपसलमा बस्दै आएकी राईले डेरामै बच्चा जन्माएकी थिइन् ।

बच्चा जन्माएपछि अत्याधिक रक्तश्राव हुँदा उनको स्वास्थ्य अवस्था गम्भिर बनेको थियो । घरैमा छोरा जन्माएकी कमलालाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । हेलिकप्टरमार्फत उपचारका लागि विराटनगरस्थित कोशी अंञ्चल अस्पताल पठाइएको जिल्ला अस्पताल प्रमुख डा. पवित्रा श्रेष्ठले बताइन ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार कमलाको उद्धार गरिएको हो । यसअघि चारजना सन्तानलाई जन्म दिएकी कमलाको पाठेघरमा समस्या भएका कारण अत्यधिक रक्तश्राव भएको र नरोकिएपछि विराटनगर पठाइएको चिकित्सकले बताए ।

ग्रामीण क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गर्ने कार्य सरकारले पुसबाट थालेको हो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी अवस्थामा स्वास्थ्य समस्याका कारण ज्यान जोखिममा रहेकालाई तत्काल उद्धार गरी स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

महिला मन्त्रालयले लगातार लामो प्रसव बेथा लागेको, बच्चा जन्मन कठिनाई भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्तअल्पता भएको, गर्भावती तथा सुत्केरी महिलालाई ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला’ भनी परिभाषित गर्दै त्यस्तो अवस्थाको महिलालाई उद्धार गर्ने गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रमकी अधिकृत अन्जु ढुंगानालेजानकारी दिइन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्