Logo
|
Friday 10th May 2024
Logo

epaper

मौसमी फ्लुले थलियो गाँउ



मौसमी फ्लुले थलियो गाँउ

 जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ स्थीत सर्मी गाउँमा फैलिएको मौसमी फ्लुका कारण गाँउ नै थलिएको छ । करिब एक हप्ता अघिदेखि गाँउमा फैलिएको मौसमी फ्लु तथा रुघाखोका कारण गाउँका अधिकांश बिरामी भएका हुन् ।

मौसमी फ्लुले गाउँले सिकिस्त बिरामी भएपछि स्थानीय त्रसित बनेका छन् । बिरामीमा ज्वरो आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने र खाना नरुच्ने जस्ता लक्षण देखिएका छन् । ‘गाउँमा बिरामी नभएको घर नै छैन, एकै घरका अधिकांश परिवार थला परेका छन्’ स्थानीय सुर्य बुढाले भने, ‘गाउँमा बृद्धबृद्धा र बालबालिकामा यस्तो समस्या बढी देखिएको छ ।’ उनका अनुसार गाँउमा दुइसय बढी बिरामी परेका छन् ।

शिक्षक हेमराज कुँवरले सर्मीको जनता सेवक आधारभुत विद्यालय काटियामा अध्ययनरत अधिकांश विद्यार्थी बिरामी परेपछि पठनपाठन नै प्रभावीत भएको बताए । गाँउलेहरु धमाधम बिरामी भई थला पर्न थालेपछि उपचारका लागि दौडधुप चलेको छ ।

उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला भर्ना भएका हंश कुँवरका ६ जना परीवार थला परेका छन् । उनले भने, ‘मलाई दुई दिनसम्म आईसीयुमै राखेर उपचार गरीयो, तर अरु परिवार सामान्य उपचारपछि निको भए, तर गाँउमा यो समस्या बढ्दै छ ।’

सर्मी गाउँमा फैलिएको मौसमी फ्लुको भाईरल छिमेकी गाँउहरु सुर्कि, ताम्ती, बारागाउँ र नुवाकोटमा पनि सर्ने डरले स्थानीय त्रसित बनेको वडाध्यक्ष मकरबहादुर रावतले बताए । यता तातोपानी गाँउपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाँईले लामाबगर स्वास्थ्य चौकिसँगको समन्वयमा प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर संचालन भइरहेको बताए ।

‘अहिले सबै बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दैछ, थप जटिल देखिए हामी उद्धारका लागि तयारी अवस्थामा छौ’ उनले भने । मौसमी फ्लुले पुरै गाँउ नै सिकिस्त बनेको यो जुम्लाको पहिलो घटना हो । यो गाँउ जिल्ला सदरमुकाम भन्दा करीब २० कोष टाढा छ ।अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्