रोग पत्ता नलागेपछि फर्किए बिरामी
सामान्य हिँड्डुलदेखि खाना खान र शौच गर्नसम्म नसक्ने अवस्थामा पुगेका रौतामाई-६, नामनताका मगर समुदायका बिरामीको स्वास्थ्य समस्या अझै पहिचान हुन सकेको छैन ।
प्रदेश १ सरकारले प्रदेेश राजधानी विराटनगर लगेर जाँच गराए पनि रोग पत्ता नलागेपछि उनीहरू घर फर्किएका छन् । उनीहरूको रगतलगायत नमुना परीक्षणका लागि विदेश पठाउने तयारी भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तो लक्षणबाट ग्रस्त उक्त गाउँका ४१ वषर्ीय दुर्गाबहादुर समालमगरको मृत्यु भइसकेको छ । अरू ८ जना सिकिस्त छन् । उनीहरूमा शरीर थरथरी काम्ने, हातखुट्टा राम्ररी चलाउन नसक्ने, मुखबाट र्याल आइरहने, आवाज कम हँुदै गएर बोल्नै नसक्ने जस्ता लक्षण देखिएको छ । बिरामीलाई साताअघि उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । न्युरोका नसा रोग विशेषज्ञको टिमले बिरामी सबैको रगत, दिसापिसाब, खकार, मुटु, मिर्गौला, नसालगायत परीक्षण गर्दासमेत रोग पत्ता नलागेकाले घर फर्काएको आफन्तले बताए ।
‘यहाँ रोग पत्ता नलागेकाले बिरामीको रगत, खकारलगायत अन्य नमुना संकलन गरेर विदेश पठाउने तयारी भइरहेको छ,’ जनस्वाथ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले भने । स्थानीय ७० वर्षीय डम्बरबहादुर समालमगर, ६४ वर्षीय जानुमाया समालमगर, ३१ वषर्ीय बलबहादुर समालमगर, तुलबहादुर समालमगर, हीरा समालमगर, लैया समालमगर, ललिमाया समालमगर, पुष्प समालमगर र जानुमाया मगर जोखिममा छन् ।
यस्तै रोगका करण दुर्गाबहादुरको मृत्यु भएको रौतामाई ६ का वडासदस्य तुलबहादुर थापामगरले बताए । सिकिस्त बिरामीमध्ये डम्बरबहादुरको अवस्था नाजुक छ । खाना खान, हातमुख धुनदेखि शौचालय जान ६७ वषर्ीया श्रीमती पदममायाको भर पर्नुपरेको छ । ‘रोग लाग्नुअघि सिंगै रूख बोक्न सक्थे,’ पदममायाले भनिन्, ‘पहिले ढुंगामाटोको घर निर्माण र काठको काम गर्थे ।’
बोलचालसमेत गर्न नसक्ने डम्बरबहादुर आफैं खाना खान सक्दैनन् । उनका दुवै हात मुखसम्म पुग्दैनन् । खुट्टा राम्रोसँग चल्दैनन् । मुखबाट र्याल चुहिरहन्छ । भोक लागेका बेला भात दे भन्नेबाहेक डम्बरबहादुरले केही बोल्न नसक्ने पदममायाले बताइन् ।
यसअघि देवीदेवता लागेको भन्दै धामीझाँक्रीको भर परेका पीडितले त्यसैमा दुई/अढाई लाख रुपैयाँ खर्चेको बताए ।
।