Logo
|
Sunday 28th April 2024
Logo

epaper

अङ्ग प्रत्यारोपण केन्द्रलाई स्थान अभाव



shahid_dharmabhakta स्थान अभावका कारण भक्तपुरस्थित शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौला रोगीको उपचार गर्न समस्या भएको छ ।  अस्पतालको भवन सानो हुँदा केन्द्रले बिरामीको चाप धान्न सकेको छैन । यो सरकारको एक मात्र प्रत्यारोपण अस्पताल भएकाले केन्द्रमा मिर्गौला रोगका सम्पूर्ण बिरामी उपचारका लागि आउने गरेका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा स्थान अभावका कारण उपचार दिन समस्या भएको बताउनुभयो ।
केन्द्रले पाँच वर्षमै छ सयभन्दा बढी बिरामीको मिर्गौला प्रत्यारोपण गरिसकेको छ भने देश र विदेशबाट समेत मिर्गौला प्रत्यारोपणका लागि बिरामी आउने गरेका छन् । अस्पतालको स्थान अभावकै कारण डायलासिस र प्रत्यारोपणका लागि आउने बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने बाध्यता छ, अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो,“हामीले ठाउँ साँघुरो भएकै कारण आउने सबै बिरामीलाई उपचार दिन सकिरहेका छैनौं ।”
दैनिक मिर्गौला प्रत्यारोपण र डायलासिसका लागि सयाँै बिरामी आउने हुँदा समस्या भएको भन्दै उहाँले केन्द्रलाई स्थानान्तरण नगर्ने हो भने अस्पताल सञ्चालन गर्न समेत गाह्रो हुने बताउनुभयो ।
नजिकै रहेको नेपाली सेनाको खाली जग्गाको लागि पहल गरेका हौँ, डा. श्रेष्ठले भन्नुभयो,‘‘त्यसका लागि राजनीतिक तहबाटै निर्णय हुनुपर्छ ।”
भौतिक संरचना र स्थान हुने हो भने दैनिक पाँच जनासम्मको प्रत्यारोपण गर्न सकिने उहाँले बताउनुभयो । ‘शल्यक्रिया कक्ष थप्ने अवस्था छैन’, श्रेष्ठले थप्नुभयो, ‘‘जति स्थान, स्रोत र साधन सुरुको अवस्थामा थियो, अहिले पनि त्यही संरचना भएकाले समस्या थपिएको हो ।”
सुरुको अवस्थामा बिरामी आउँदैनथे, कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “पछिल्लो समय दैनिक सयौं बिरामी आउनाले उपचारमा समस्या थपिँदै गएको हो ।”
अस्पतालकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कल्पनाकुमारी श्रेष्ठले दीर्घकालीन मिर्गौला रोगबाट संसारभरि १० प्रतिशत जनसङ्ख्या पीडित रहेको जानकारी दिनुभयो । उहाँले संसारभरि मानिसको मृत्यु हुने प्रमुख २० वटा कारणमध्ये मिर्गौला रोग एक रहेको भन्दै नेपालमा पनि दैनिक मिर्गौला रोगका बिरामी वृद्धि हुँदै गएको बताउनुभयो । नेपालमा वार्षिक तीन हजार व्यक्तिको मिर्गौला फेल हुने गरेको छ ।
केन्द्रले आर्थिक वर्ष २०७५/७६ मा दुई सय जनाको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिएकोमा हालसम्म १७५ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ ।गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्