उपत्यका चल्ने आधा गाडीको प्रदूषण फेल, सर्वसाधारणको स्वास्थ्यमा गम्भीर समस्या, बढी धुवाँ फाल्ने गाडी निसानामा
राजधानीका सडकमा चल्ने अधिकांश सवारीसाधन प्रदूषण चेकजाँचका क्रममा फेल भएका छन् । सरकारका विभिन्न सरोकारवाला निकायले संयुक्त रूपमा गरेको चेकजाँचका क्रममा ती गाडी प्रदूषण मापनमा फेल भएको पाइएको हो ।
गत २१ चैतबाट सुरु भएको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, प्रदूषण नियन्त्रण र चेकजाँच कार्ययोजनाअन्तर्गत यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकु र ट्राफिक प्रहरी महाशाखाले संयुक्त रूपमा सवारीसाधनको प्रदूषण मापन गर्दै आइरहेका छन् । उपत्यकाका आधाभन्दा बढी यातायातका साधन प्रदूषण मापनमा फेल भएपछि त्यसले सर्वसाधरणको स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्या पारिरहेको चिकित्सकहरू बताउँछन् ।
ट्राफिक प्रहरी महाशाखाबाट प्राप्त तथ्यांकअनुसार गत २१ चैतदेखि ३ जेठसम्म २ हजार ७५ वटा सवारीसाधनमा प्रदूषणको मात्रा जाँच गर्दा १ हजार १२७ वटा सवारीसाधन फेल भएका छन् । यी सबै सवारी दुई पांग्रेबाहेकका हुन् । ट्राफिक प्रहरीले प्रदूषण जाँच गर्दा डिजेलबाट चल्ने र पेट्रोलबाट चल्ने सवारीसाधन छुट्याएर चेक जाँच गर्दै आएको छ । यसबीचमा डिजेलबाट चल्ने ९९९ सवारीसाधनको चेकजाँच गर्दा तीमध्ये ६१८ वटा प्रदूषण जाँचमा फेल भएका छन् । त्यस्तै, पेट्रोलबाट चल्ने १ हजार ७६ सवारीसाधनको प्रदूषण चेकजाँच गर्दा ५०९ सवारीसाधन फेल भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले जानकारी दिए ।
प्रदूषण चेक जाँचका क्रममा डिजेलबाट चल्ने सवारीसाधनले ६५ स्मोक डेनसिटीभन्दा माथिको अंक देखाए त्यसलाई फेल मानिने र पेट्रोलबाट चल्ने सवारीले कार्बोन मोनोअक्साइड ३ प्रतिशतसम्म र हाइड्रो कार्बन १ हजार पीपीएमभन्दा माथि भए त्यसलाई फेल मानिने गरेको प्रदूषण जाँचमा खटिएका ट्राफिक प्रहरी निरीक्षक अनन्त नेपालीले जानकारी दिए ।
हाल सो किसिमको प्रदूषण मापन गर्ने मेसिन यातायात व्यवस्था विभागसँग मात्रै छ । ट्राफिक प्रहरीले विभागसँग मिलेर नै चेकजाँचमा सघाउँदै आएको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख पन्तले ट्राफिक प्रहरीसँग आफैंले चेकजाँच गर्ने कानुनी अधिकार नहुँदा र मेसिनसमेतको अभावका कारण यातायात व्यवस्था विभागसँगको समन्वयमा जाँचमा सहभागी हुँदै आएको बताए ।
हाल विभागसँग दुईवटा मात्रै मेसिन रहेको छ भने ट्राफिक प्रहरीले कानुनी व्यवस्था गरेर चेकजाँच गर्ने अधिकारसहित दुईवटा थप मेसिन आफैंले मागेको छ ।
फेल भए १ हजार जरिमाना
प्रदूषण जाँचमा फेल भएका सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ । कारबाहीस्वरूप सवारीसाधन चालक वा धनीले १ हजार जरिमाना राजस्वस्वरूप बुझाउनुपर्ने प्रावधान छ । सवारीको अवस्था पुनः परीक्षण गर्दा ठीक भएको अवस्थामा मात्रै यातायात व्यवस्था विभागले जाँच पासको स्टिकर दिएपछि सवारीको कागजपत्र ट्राफिक प्रहरीले दिइने गरेको छ ।
ट्राफिक प्रहरीले चेकजाँचका क्रममा बढी धुवाँ फाल्ने सवारीसाधनलाई निसाना बनाउने गरेको छ भने प्रदूषण पासको स्टिकर लगाएका सवारीलाई समेत छड्के जाँच गर्दै आएको छ ।
किन हुन्छ प्रदूषण फेल ?
चेकजाँचमा खटिएका प्रहरी निरीक्षक नेपालीका अनुसार सवारीसाधनलाई समयमा सर्भिसिङ नगर्दा प्रदूषण मापनका क्रममा फेल भएको पाइएको छ । उनले आफ्नो सवारीलाई निश्चित समय पुगेपछि सर्भिसिङ गर्दा यस्तो समस्या नआउनेसमेत बताए ।सवारीसाधनलाई समयमा सर्भिसिङ नगर्दा धुवाँ फाल्ने र त्यसले वातावरण र आममानिसलाई समेत असर गर्ने उनले जानकारी दिएका हुन् ।
यसैगरी, सवारी जाँच नै नगरी बिचौलियामार्फत स्टिकर टाँस्ने समस्याका कारणसमेत अधिकांश सवारी चेकजाँचका क्रममा फेल हुने गरेका छन् ।
धुवाँको असर क्यान्सरसम्म
सडकमा बढी कालो धुवाँ (कार्बनमोनो अक्साइड र कार्बनडाइअक्साइड) निस्किने सवारीसाधनका कारण एकातिर वातावरणलाई प्रदूषित बनाउँछ भने अर्कातिर मानिसको स्वास्थ्यमा तत्काल असर गर्ने गरेको पाइन्छ । काठमाडौं मेडिकल कलेजका एसोसिएट प्रोफेसर तथा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दीपक रेग्मीका अनुसार बढी धुवाँ फाल्ने सवारीका कारण मानिसको स्वास्थ्यमा सामान्य असरदेखि जटिल प्रकृतिका समस्यासमेत देखिन सक्छन् ।
डा. रेग्मीले प्रदूषण मापनमा फेल भएका सवारीले फाल्ने कालो धुवाँका कारण नाक, कान घाँटी, फोक्सोको संक्रमण तथा समस्या बढ्दै जाँदा छातीको समेत एलर्जी हुन सक्ने बताए । सो क्रममा संक्रमण बढ्दै गए बिरामीको छातीको क्यान्सरसमेत हुन सक्ने डा. रेग्मीले जानकारी दिए ।
यसरी सुरुवाताको अवस्थामा नाक बन्द हुने र नाकका पाइप बन्द भएर त्यसले घाँटीमा समस्या हुँदै कान कम सुन्नेसम्मको स्थिति पनि आउन सक्ने र असर छातीमा पुग्दा छातीको क्यान्सरसम्मको स्थिति देखिने डा. रेग्मीको भनाइ छ । राजधानी दैनिकबाट