Logo
|
Saturday 4th May 2024
Logo

epaper

स्वास्थ्य चौकी जाँदैनन् स्वास्थ्यकर्मी



कार्यालय सहयोगीसहित ७ जना कर्मचारीको दरबन्दी रहेको महोत्तरीको बर्दिवास ९ पशुपतिनगर स्वास्थ्यचौकी आइतबार बिहान ११ बजेसम्म सुनसान थियो ।

सवा १० बजे कार्यालयको ढोका खोलेकी सहयोगी पवनकुमारी महतोले फाट्टफुट्ट आउने बिरामीलाई औषधी दिँदै पठाइरहेकी थिइन् ।

११ बजेसम्म गर्भवती जाँच गराउने देखि गर्मिले झाडापखाला लाग्यो भनेर ४/५ जना स्वास्थकर्मीलाई पर्खिरहेका थिए । तर, उक्त स्वास्थ्यचौकीमा कर्मचारी आउने कुनै टुङ्गो नभए पनि आइतबार ११ बजे अनमी लक्ष्मी बागदास कार्यालयमा हाजिर भइन् ।

कार्यालय प्रमुख छैटौं तहका अहेव जगदेव महतो महिनाको एक पटक नगरपालिका जानुपर्ने भएकाले रिपोर्टिङ गर्न त्यता ‘जानुभएको छ ‘ भनेर बागदासले सुनाइन् । जगदेवले आफू पनि विशेष कामले कार्यालय आउन ढिला भएको बताइन् ।

अन्य ४ जना कर्मचारी कार्यालय आउने/नआउने अत्तोपत्तो थिएन ।

उक्त स्वास्थ्य चौकीमा कार्यरत अनमी करुणा महतो र अहेव रामगुन महतो किन आएनन्, उत्तर कसैबाट पाउन सकिएन ।

अरू २ जनामा एचए कल्पना पटेल मंसिरयता कार्यालयमा हाजिर भएकी छैनन् । सिनियर अहेव दिलीपकुमार सिंह ६ वर्षदेखि घरमै बसेर तलब खाने गरेका रहेछन् ।

बर्दिवास ९ पशुपतिनगरकी स्थानीय जनासिं देवी यादवले उक्त कार्यालयबाट तलब खाने कर्मचारीलाई अहिलेसम्म नदेखेको बताइन् । ‘घर बसेर सरकारी सेवा र सुविधा लिने स्वास्थ्यकर्मी स्वास्थ्यचौकीमा आउँदैनन्’ उनले भनिन्, ‘हामी बिरामी हुदाँ उपचार गर्न बाहिरै जानपर्ने भएपछि स्वास्थ्यचौकी के काम ? ‘

७२ थरिका औषधि सरकारले निःशुल्क वितरण गर्ने व्यवस्था गरेको भए पनि महोत्तरी जिल्लाका कुनै पनि सरकारी अस्पतालबाट जनताले यो सुविधा पाउन सकेका छैनन् । पशुपतिनगर स्वास्थ्यथ चौकीमा सामान्य रोगका सामान्यऔषधि सिटामोल, बु्रफिन, एसिलक, आइरन चक्कि लगायतका औषधीपनि उपलब्ध छैन । स्वास्थ्यचौकीलेदिने सेवा सुविधा नपाएको भन्दै स्थानीयको जनगुनासो बढ्दै गएको स्थानीय सञ्चारकर्मी अमृत महतोले बताए ।

सरकारी तलब खाएर ६ वर्षदेखि घरै बसेका सिनियर अहेब दिलीपकुमार सिंहका बारेमा कार्यालय प्रमुख जगदेव महतोले पटकपटक तलब रोक्का गरिदिन माग गर्दा पनि सिंहको तलब निकासा भइरहेको महतोले बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्